Tuesday, January 18, 2022

महानगरपालिका मेयर उम्मेदवार र पूर्व जनमुक्ति सेना दुई दर्जन सहित नेकपा समाजवादीमा

ललितपुर – स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जीवन’ सहित २४ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेको भातृ संगठन अनेमसंघ र प्रेस चौतारी परित्याग गरेकाहरुलाई शुक्रबार पार्टी कार्यालय सातदोवाटोमा केन्द्रीय कमिटीका उपमहासचिव जगन्नाथ खतिवडा लगायतका नेताहरुले स्वागत गरेका थिए।

स्वागत गर्दै उपमहासचिव खतिवडाले प्रगतिशील राजनीतिक परिवर्तन, संविधान संसद र राष्ट्रियता जोगाउने पक्षधरको ध्रुवीकरणको उपयुक्त गन्तव्य एकीकृत समाजवादी भएको बताए। विभिन्न पार्टी छोडेर एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर बढेको बताउँदै खतिवडाले रुपान्तरण सहितको पुनर्गठनले मात्रै कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने बताए।

आफ्नै कारणले नेकपा एमाले पतनको दिशामा गएको बताउँदै खतिवडाले अहिले संसदको चौथो दलको रुपमा रहेको एकीकृत समाजवादी निर्वाचनबाट एमालेभन्दा ठूलो दल बन्ने दावी गरे ।

कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले दक्षिणपन्थी विसर्जनमा भासिएका राजनीतिक दलहरुबाट देशलाई मुक्ति दिन एकीकृत समाजवादीको विकल्प नभएको बताए। नीति कार्यक्रम र कार्यान्वयन शैलीले आफूहरु भिन्न ढंगबाट अघि बढ्ने भएकाले स्वतन्त्र रुपमा आफ्नो क्षमताले स्थापित व्यक्तिहरु एकीकृत समाजवादीमा आकर्षित भएको उनको भनाइ थियो ।


केन्द्रीय सदस्य उमेश शर्मा बजगाईले एकीकृत समाजवादी पार्टीले संविधान र कम्युनिष्ट आन्दोलनको मर्म अनुसार समाजवादी कार्यक्रम लागू गर्ने बताए । नेकपा एकीकृत समाजवादीका कजिल्ला अध्यक्ष हरिकृष्ण थापाले कम्युनिष्ट आन्दोलनको मूलधार विद्रोहको इतिहासबाटै निर्माण भएको बताउँदै नयाँ इतिहास निर्माण गर्ने गरी आफूहरु अघि बढेको बताए ।
जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा प्रवेश गरेकाहरुलाई उपयुक्त जिम्मेवारी दिइने जिल्ला कमिटी सचिव सुदर्शन मिश्रले बताए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले