Tuesday, January 18, 2022

लिपुलेक प्रकरणमा प्रष्ट कांग्रेस, दुई महामन्त्रीले एकै साथ भने, ‘हस्ताक्षेप सहन्नौं’

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ । शुक्रबार पार्टी महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाले विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा पार्टी पुरानै अडानमा दृढ र स्पष्ट रहेको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी हो र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको छ ।’

विज्ञप्तिमा कांग्रेसले विगत देखिनै संस्थागत रुपले राख्दै आएको निम्न धारणा र अडानमा पार्टी प्रष्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रुपले पुनः दोहो¥याउन चाहेको भन्दै सात बुँदामा यसलाई प्रष्टाइएको छ ।

बुँदामा यस्ताछन् धारणा :

१) लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।

२) नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

३) कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

४) नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

५) दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।

६) नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

७) दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले