Tuesday, January 18, 2022

रामपुर अस्पताल : ठप्प प्रसुती शल्यक्रिया, जनशक्ति नहुँदा एक्सरे सेवा बन्द

पाल्पा– पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुदै आएको प्रसुती शल्यक्रिया सेवा अहिले ठप्प छ । बिशेषज्ञ डाक्टर नहुदा सो सेवा सुचारु गर्न सकिएको छैन । डाक्टर बासुदेव सुवेदीले अन्यत्र गएपछि सो सेवा बन्द भएको हो ।

डाक्टर सुवेदी सो अस्पतालको जिम्मेवारीबाट निस्केपछि (अन्यत्र गएपछि) गत असोज यता शल्यक्रियामार्फत प्रसुती सेवा सुचारु हुन सकेको छैन । सामान्य प्रसुती सेवा भने यथावत नै छ ।

यस अस्पतालमा २०७७ को चैत मसान्तमा शल्यक्रियामार्फत पहिलो पटक सफल बच्चा जन्मिएको थियो । सो समय देखि नियमित रुपमा डाक्टर सुवेदीको नेतृत्वमा गत भदौसम्म शल्यक्रियामार्फत सफल प्रसुती सेवा प्रवाह भइरहेको थियो । डाक्टर सुवेदीको नेतृत्वमा सात जना स्वास्थ्यकर्मीको टोलीले सफल शल्यक्रिया सेवा दिएको थियो ।

शल्यक्रिया सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयमा एक जना बिशेषज्ञ डाक्टर उपलब्ध गराउन अनुरोध गरेको अस्पतालका निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियार बताउँछन्।

उनी भन्छन्, “अस्पतालमा शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेर बीचमा बिशेषज्ञ डाक्टरको समस्याले बन्द हुदा यसमा सबैको चासो र चिन्तन बढेको छ, म आफू पनि डाक्टरको व्यवस्थापनका लागि पटक पटक मन्त्रालयमा पुगेको छु, अबको एक हप्ताभित्रमा डाक्टरको प्रबन्ध हुने आश्वासन पाएको छु” ।

अस्पतालको सेवालाई नरोक्न बिशेषज्ञ डाक्टरको व्यवस्थापनका निम्ति प्रदेश र संघीय सरकार संग पटक पटक जानकारी गराइएपनि अहिलेसम्म डाक्टरको व्यवस्थापन हुन नसकेको डाक्टर परियारको भनाई छ ।

सदरमुकाम तानसेन देखि पूर्वमा रहेको रामपुरमा शल्यक्रिया सेवा सुचारु हुदा प्रसुती सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको थियो । सेवा सुरु भएको पाँच महिनामै बन्द हुन पुग्दा शल्यक्रियामार्फत प्रसुती सेवा लिन पाल्पा सदरमुकाम तानसेनमै जानुपर्ने बाध्यता छ ।

यहाँ पाँच महिनाको अवधीमा २७ जनाको शल्यक्रियामार्फत प्रसुती गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतमले बताए । उनका अनुसार चालु आर्थिक वर्षको साउनबाट हालसम्म १३९ जनाले प्रसुती सेवा लिएका छन् ।

“हामीलाई पहिलो नै शल्यक्रिया सुरु गर्दा जोखिम थियो, पहिलो अपरेशन सफल भएपछि अरुको शल्यक्रिया गर्नलाई आत्मबल बढ्यो, ४५ मिनेट देखि एक घण्टाको समयमा अपरेशन गरेर बच्चा जन्मिएको छ” उनले भने ।

लुम्बिनी प्रदेश सरकारका तत्कालिन सामाजिक विकासमन्त्री सुदर्शन बरालले २०७७ फागुन १६ गते बिधिवत् रुपमा शल्यक्रिया सेवाको उद्घाटन गरेका थिए।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको यस अस्पतालमा झण्डै २५ वर्षपछि मात्रै शल्यक्रिया सेवा थालनी भएपनि बीचमै सेवा रोकिन पुगेको छ । गर्भवती महिला, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफार लगायतको सेवा दिने गरी निक साइमन्स इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालनी गरिएको हो ।

   भिडियो एक्सरे सेवा बन्द

अस्पतालमा रहेको भिडियो एक्सरे सेवा पनि बन्द छ । भिडियो एक्सरे गर्ने डाक्टरको अभावमा सो सेवा दिन नसकिएको अस्पतालका प्रशासन सहायक हिरा विक बताए ।

अस्पतालमा भिडियो एक्सरे गर्न नपाउँदा नागरिकले निजि स्वास्थ्य संस्थामा पुगेर महंगो मुल्यमा सेवा लिनुपर्ने समस्या रहेको रामपुर नगरपालिका वडा नं २ बस्ने स्थानीय खेमबहादुर राना गुनासो गर्छन् ।

“अस्पतालमा भएको सेवा लिन पाइदैन, अन्यत्र रकम खर्च गरेर सेवा लिन जानुपर्ने बाध्यता छ, अस्पताल व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा ध्यान नदिदा नागरिकले सास्ती खेप्नु परिरहेको छ, हामीलाई एक त सेवा नपाउँनु समस्या अर्को अन्यत्र निजी संस्थामा जादा आर्थिक भारको पिरलो छ” उनले भने ।

यहाँ भिडियो एक्सरे सेवा कहिले चल्ने कहिले बन्द हुने प्रवृत्तिले नागरिकले निकै झण्झट बेहोर्नु परेको छ । भिडियो एक्सरेकै लागि टाढा टाढाबाट पनि बिरामी अस्पतालसम्म आउने गर्छन् । तर सेवा नपाउँदा त्यसै फर्कन बाध्य भएका छन् ।

अस्पतालमा दरबन्दी छ तर डाक्टर नै नभएपछि सेवा नै बन्द हुदा बिरामी मारमा परेको छ । यहाँ पछिल्लो समय दिनहुँ बिरामीको चाप बढिरहेको छ । दैनिकजसो २०० देखि २५० सम्म बिरामी उपचारमा आउने गर्छन् ।

दरबन्दी अनुसारका डाक्टर नहुदा तोके अनुसारका नागरिकले अझैपनि पुरा सेवा पाउन सकिरहेका छैनन् । रामपुर अस्पताल पूर्वी पाल्पासंगै स्याङ्गजा, तनहुँ र नवलपुर जिल्लाका नागरिकले सेवा लिने ठूलो अस्पताल हो ।

सम्बन्धित निकायले नागरिकको सेवा सुबिधालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो विशेषज्ञ डाक्टरको व्यवस्थापन गरिदिन स्थानीयको माग छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय अन्र्तगत पर्ने सो अस्पतालको सेवा प्रवाह, कर्मचारी व्यवस्थापन सम्बन्धी प्रदेश सरकारले चासो देखाएको छैन ।
समय समयमा अस्पतालको अनुगमन तथा कर्मचारी व्यवस्थापन, नागरिकले सेवा पाए नपाएको सम्बन्धमा प्रदेश सरकारको वेवास्ताले यहाँ बिशेषज्ञ डाक्टरको समस्या निम्तिएको हो ।

भौगोलिक हिसाबले सदरमुकाम तानसेन देखि ६५ किलोमिटर पूर्वमा पर्ने यस अस्पतालको स्तरोन्नती भई अहिले ५० शैयाको भवन निर्माण कार्य अन्तिम चरणमा छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले