Tuesday, January 18, 2022

सरकारको लगानी बालुवामा पानी: वर्षौदेखि अलपत्र ‘रजघरा खानेपानी योजना’


पाल्पा– ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानै छ । करोडौँका सरकारी योजना निर्माण कार्य थालिएपनि बीचमै अलपत्र बनेका छन् भने कतिपय योजना शिलन्यास भएर पनि अघि बढ्न नसकेका प्रशस्तै योजना भेटिन्छन् ।

राज्यले खर्चेका योजनाहरु समयमा नै सम्पन्न नहुदा सरोकारवालाहरु कहिले काम सकिएला भनेर दिन गन्ती गरेर बस्न बाध्य छन् । रजघरा खानेपानी तथा सरसफाई योजना सुरु गरेको अहिले आठ वर्ष भयो । तर काम भने अझै सम्पन्न हुन सकेको छैन ।

स्थानीय उपभोक्ताले कहिले नयाँ योजनाबाट पानी उपभोग गर्न पाइएला ? भन्ने आशै आशमा आठ वर्ष बिताए । काम सम्पन्न हुन नसक्दा बीचमै अलपत्र बनेको छ ।

रामपुर नगरपालिका ३ स्थित रजघरा (कामीगाउँ) मा सो आयोजना पर्दछ । वर्षौदेखि काम थालनी भएर सम्पन्न नहुदै अलपत्र जस्तै हुँदा नयाँ योजनाबाट पानी पिउने आशा हराउँदै जान थालेको स्थानीय सन्तकुमारी विकको गुनासो छ ।

उनी भन्छिन्, “दैला अगाडी खानेपानी आयोजनाको ठूलो ट्याङ्की छ, तर ट्याङ्कीमा पानी खसेको देखिएको छैन, काम थालनी गरेको त धेरै नै वर्ष बिते, पानी भने वितरण हुन सकेको छैन” ।

वस्ती देखि करिव तीन किलोमिटर पर धुधुर्दीखोलाको मुहानबाट पानी ल्याउनका लागि सो ठाउँमा साना दुईवटा ट्याङ्की र कामीगाउँमा एकवटा दुई लाख लिटरका ट्याङ्की निर्माण गरिएको छ ।

एक वटा इनट्रयाक, सिसी एक वटा क्रसिङ, डिसी, ५० घनमिटरको र दुई लाख घनमिटरको एक÷एकवटा ट्याङ्कीको निर्माण कार्य पुरा भएपनि २६ किलोमिटर पाइपलाइन बिस्तार हुन नसक्दा योजना अलपत्र भएको हो । खानेपानी योजनाको नाममा अहिले सम्ममा लाखौँको लगानी भएको छ ।

खानेपानी तथा सरसफाई कार्यलयका प्राविधिक नारायण अर्यालले कार्यालयबाट पटक–पटक उपभोक्ता समीतिलाई योजना सम्पन्न गर्न ताकेता गर्दा पनि काम पुरा हुन नसकेको बताउँछन् । उनका अनुसार यस योजनाका लागि हालसम्म रु ७८ लाख ९५ हजार रकम नेपाल सरकारको खर्च भइसकेको छ ।

केन्द्र सरकारको योजना रहेपनि पछि प्रदेश सरकार मातहतमा रहेर सञ्चालन गर्ने भनिएपनि बीचको समय कोभिड १९ को असरले गर्दा काममा तालमेल नमिलेको उपभोक्ता समितिले बताएको छ ।

ट्याङ्की निर्माण भएपछि पानी राखेर परिक्षण गरियो तर उपभोक्तालाई काम नसकिएकाले अहिले पुरानै ट्याङ्कीबाटै पानी खुवाइएको उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रकाश पाण्डेय बताउँछन् ।

“उपभोक्तासंग २० प्रतिशत रकम उठाएर काम गर्नुपर्ने हुदा झण्झट हुदो रहेछ, संघीयता आएपछि सरकारले लागत बिना पानी उपलब्ध गराउने भन्ने कुरा पनि अघि सारेको हुँदा उपभोक्ताबाट रकम अशुल्क अप्ठ्यारो परेकाले पनि योजना पुरा गर्न सकिएको छैन” उनले भने।

यस आयोजनाबाट कामीगाउँ, साइडाँडा, बोहोरीडाँडा, कुमालढिक, डाँडाबिडी, पूर्व माझटोल, पश्चिम माझटोल, चनौटे, गण्डकीढिक, बोटेगाउँ लगायतका क्षेत्रमा घर–घरमा धारा जडान गरी पु¥याउने लक्ष्य छ । समितिका अनुसार करिव नौ सय घरधुरीको योजना रहेपनि ५५९ घरधुरीमा सर्भे भएको छ ।

ट्याङ्की देखि तल करिव ६०० मिटर पाइप लाइन बिस्तार गरिएपनि योजना अनुसार काम गर्न नसकिएको उपभोक्ता समितिका सचिव लोकनाथ भट्टराई बताउँछन् । कार्यालय र समितिको बिचमा समन्वय नहुदा योजना सम्पन्न हुन नसकेको उनको भनाई छ । बोहरीडाँडा, साइडाँडा क्षेत्रमा पाइप लाइन बिच्छ्याउने काम भएपनि अन्य ठाउँमा बाँकी छ ।

योजना सम्पन्न हुने गरी वजेट उपलब्ध नहुदा पनि समस्या उत्पन्न भएको हो । गतवर्ष योजनाका लागि प्रदेश सरकारबाट प्राप्त रु ४० लाख रकम पाइप खरिदमा खर्च भएको समितिले बताएको छ । योजनाको काम सुरु गरेपछि समयमा नै सम्पन्न हुनुपर्ने स्थानीय समाजसेवी दामोदर पाठकको भनाई छ ।

रामपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिनेशकुमार खनालले योजना अलपत्र अवस्थामा रहँदा सबैको चासो र चिन्तन रहेकाले योजना सम्पन्न गर्न आफूले पहल गर्ने बताउँछन् ।

उपभोक्ता समितिले १२ रोपनी जग्गा खरिद गरी योजना सुरु गरेपनि जग्गाको लागत मुल्य भने जानकारी नभएको स्वीकारेको छ । योजना सुरु हुदाका बखत घर–घरमा खानेपानी उपभोग गर्न पाइने भएपछि उपभोक्ता उत्साहित थिए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले