Tuesday, January 18, 2022

नापी भएको ५० वर्षमा बटौंलीलाई लालपुर्जा

बुटवल- नापी कार्यालय रुपन्देहीले बुटवलमा लालपुर्जा वितरण गरेको छ ।

बुटवल वडा नं. २ मा रहेको भिमसेन टोलमा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो ।

उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै पुरानो बटौंली भनेर चिनिने भिमसेन टोलमा रहेका ३५ जना जग्गा धनीलाई पुर्जा वितरण गरिएको नापी कार्यालयले जानकारी दिएको छ ।

नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुँवरले पुरानो शहरी ब्लक भित्रको बस्तीलाई नयाँ निर्देशिका नै जारी गरेर जग्गा धनीलाई लालपुर्जा वितरण गरिएको जानकारी दिए ।

पुरानो शहर बटौंलीले बल्ल लालपुर्जा प्राप्त गरेको भन्दै उनले भने, ‘ बाबु बाजेले नुनदेखि सुनसम्मको कारोबार गर्ने व्यापारिक क्षेत्र बटौंलीले नापी भएको ५० वर्ष पछि लालपुर्जा पाएको छ । गाउँब्लकसँग जोडिएको सार्वजनिक जग्गाले गर्दा सुरुमा अप्ठेरो भएको र नँया निर्देशिका ल्याएर गाउँब्लक जग्गा छुट्टाएर काम सुरु गर्दै लालपुर्जा वितरण गरेका हौँ ।’

जिल्लामा अझैं १२ सय ५० गाउँब्लक जग्गाको लालपुर्जा वितरण गर्न बाँकी रहेको बताउँदै कुँवरले २ वर्ष भित्रमा लालपुर्जा वितरण गरिने जानकारी दिए।

उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले लालपुर्जा वितरण गर्दै ५० वर्षपछि बल्ल बटौंलीले लालपुर्जा प्राप्त गर्न सफल भएको बताए । २०२७ सालमा नापी भएका जग्गाले बल्ल लालपुर्जा प्रदान गरिएको बताए ।

उपप्रमुख गुमादेवीआर्चायले लालपुर्जाको सहि सदुपयोग गर्दै आर्थिक रुपमा समृद्ध बन्नको लागि सुझाव दिइन्।

जग्गा बेच्ने भन्दा पनि जग्गाबाट आर्थिक उत्पादन लिनको लागि उनले जग्गा धनीलाई सुझाव दिइन् । नापी भएको ५० वर्ष पछि बल्ल लालपुर्जा प्राप्त गर्दा जग्गा धनी खुशी देखिन्थे ।

बुटवलमा अझैं ३ वटा गाउँब्लकको लालपुर्जा वितरण गर्न बाँकी रहेको छ । नापी कार्यालय रुपन्देहीले यो आर्थिक वर्षमा अहिलेसम्म १५ सय गाउँब्लकको जग्गा वितरण गरिसकेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले