Tuesday, January 18, 2022

अनुभूति: बयरको हाँगामा अल्झिएका ती दिन

साथी समूहमा हिँड्दै, चल्दै, गफ गर्दै खाँदा बेग्लै खुसी लाग्थ्यो । त्यो खुसी न किनेर पाइन्थ्यो न मागेर । त्यो खुसी हामीले स्वयम् बनाएका थियौं। बालापनको त्यो बदमासीमा हृदय पुलकित पार्ने रस्वादन थियो । त्यो क्षणलाई रोक्न न मनले मान्थ्यो न चेतनाले ।

-मुना चौधरी

बयर बुढोको बयरको बोटमा झटारो हाँनिरहेकी थिएँ । मसँग गाउँका थुप्रै केटाकेटी थिए । कसैले झटारोले त कसैले खेतमा भएको ढेका (माटोको डल्लो) टिप्दै हान्दै थिए । गोरे झटारो हान्नुभन्दा अगाडि बल लगाउँदै एक हात पछाडि र हानिसकेपछि एक हात अगाडि हुतिन्थ्यो ।

बयरको बोटतिर हेरेँ । साथीहरू कोही झटारो त कोही ढेला हान्न व्यस्त थिए । म पनि हातमा खचरलतीको (बेसरमीको झार) झटारो बोकेकी थिएँ । हाँगाहरुमा लटरम्मै बयर फलेको थियो । मेरो आँखा पाकेको बयरमा प¥यो । बयर जसरी पनि झारेर खानु थियो ।

म हाँगामा फलेको बयरतिर हेरेँ । आँखाले निशाना लगाएँ । निशाना लगाएर म पनि गोरेझैँ एक हात पछाडि सर्दै बेस्सरी बल लगाएर झटारो हानेँ । झटारो बयरमा नलागेर हाँगामा लाग्यो । बयरको सट्टा बयरका पातहरु झरे। झटारो छेउमै झ¥यो । दौडिँदै फेरि झटारो टिपेँ । टिपेर फेरि आँखाले निशाना बनाउँदै हानेँ । यो पल्ट नि बयर नझरेर झटारो हाँगामा अल्झियो । फेरि पात मात्र झ¥यो ।

साथी सवितातिर हेरेँ उसले एक झटारोमा दुईओटा बयर झारी । तुरुन्तै गएर बयर टिपी । उसको अनुहारतिर हेरेँ । नाकबाट लत्रेर सिंगान उसको ओठलाई छोइरहेको थियो ।

उसले तलको ओठले माथिल्लो बङ्गारा च्यापी । नाकको दुबै प्वालमा लत्रिरहेको हल्का पहेलो रङको सिंगान तल्लो ओठले सर्लप्प मुखमा निली । सिंगान निली तर सिंगानको खात यत्तिकै थियो ।

उसले लगत्तै टिपेको बयर मुखमा हालेर करमकरम चपाउन थाली । अर्को बयर मतिर दिँदै भनी, ‘ले बैर खो । उसले सिंगान निलेको देखेर मलाई घिन लागिसकेको थियो । मैले उसको कुरा टार्दै भनेँ, हम नै खेबौ’ ।

मैले नलिएको देखेर दिनेशले भन्यो, ‘हमरा दे, हम खेबै ’ । उसले बयर दिनेशलाई दिई । दिनेशले पुरै बयर क्वाप्प मुखमा हालेर करमकरम चपायो । दिनेशले चपाएको देखेर मैले थुक घुटुक्क निलेँ तर सविताले सिंगान निलेको दृश्य सम्झेर फेरि घिन लाग्यो ।

मसँग झटारो पनि थिएन । फेरि साथीहरुतिर हेरेँ । कोही झटारो हान्दै थिए । कोही झरेको बयर टिपेर खाँदै थिएँ । कोही निशाना लगाउँदै थिएँ । कोही बयर बुढो आउँदै छन् कि भनेर उनको घरतिर हेरिरहेका थिए।
मेरो झटारो बोटमा अल्झेर अहिलेसम्म न बयर झार्न सकेकी थिए न झटारो पाउन सकेकी थिएँ । अरु साथीझैँ म पनि खेतमा भएको ढेला टिपेर फलेको बयरमा निशाना लगाउँदै ढेला हान्न थालेँ । एक पटकमा भरेन । दोस्रो पल्ट ढेला हान्दा ४, ५ ओटा बयर बोटबाट भुइँमा झरे । बयर झरेको देखेर म उत्पात खुसी भएँ । हतपत भुइँबाट बयर टिप्दै एउटा मुखमा हालेँ । अरु चारओटा खल्तीमा जतनका साथ हालेँ ।

बयर खाँदै ढेला हानिरहेकी थिएँ । ढेला हान्दा अघि अल्झेको झटारो भुँइमा भ्यात्त झर्यो । झटारो झर्दा कम्ता खुसी लागेन । ढेका खोज्ने समस्या नै भएन । ढेकाले हान्दा हान्दा खेतको ढेका सकिइसकेको थियो । झटारो अल्झेका साथीहरु छेउको खेतबाट ढेका बटुलेर ल्याउँदै बयरको हाँगामा हानिरहेका थिए ।

म झटारो पाएर झटारो हान्दै बयर झारिरहेकी थिएँ । बयरभन्दा पात धेरै झरिरहेको थियो । जति पटक झटारो हान्थेँ त्यति पटक बुढोको घरतिर हेर्थँे । मनमा बयर खाने इच्छा हुँदाहुँदै डर पनि त्यति नै थियो । बयर खाएर न पेट भथ्र्यो न आत अघाउँथ्यो तैपनि चोरेर बयर झार्दै खाँदा एक खालको सन्तुष्टि किन हुन्थ्यो ? किनकि त्यसमा स्वतन्त्रता थियो । बालापनको उमंग थियो ।

मन भित्रबाटै आह्लादित हुन्थ्यो । मस्तिष्क र हृदय प्रफुल्ल हुन्थ्यो । बाआमालाई बयर खान मन लागेको छ भनेर इच्छा व्यक्त गरेकी भएँ किनेर ल्याइदिनुहुन्थ्यो तर त्यस्तो कहिले भन्न मन लागेन । किनकी झटारो हानेर बयर खाने आनन्द किनेर खानुमा थिएन । किनकी त्यहाँ साथीको समूह हुँदैन्थ्यो । साथी समूहमा हिँड्दै, चल्दै, गफ गर्दै खाँदा बेग्लै खुसी लाग्थ्यो । त्यो खुसी न किनेर पाइन्थ्यो न मागेर । त्यो खुसी हामीले स्वयम् बनाएका थियौं। बालापनको त्यो बदमासीमा हृदय पुलकित पार्ने रस्वादन थियो । त्यो क्षणलाई रोक्न न मनले मान्थ्यो न चेतनाले ।

बयर झटारोले झार्दै आधा खल्ती टिपिसकेकी थिएँ । फेरि झटारो हान्न खोज्दा परबाट आवाज आयो, ‘रै रै धियापुतासब रै, मार, सार खरहुवान सबके, आबे दे हमरा । बापके बियाह देखाइबौ’ । यो आवाज बयर बुढोको थियो । बयर टिप्न जाँदा उनले हामीलाई कहिले पनि राम्ररी टिप्न दिँदैनथे । बयर टिपेको थाहा पाउने बित्तिकै हामीलाई लखेट्न आउँथे ।

सचेत हुँदै टिप्दा टिप्दै पनि बुढोले थाहा पाइहाल्थे । घरबाट निस्केर बारीतिर दौँडिदै हामीलाई गाली गर्दै लखेट्न बयर बुढो आइरहेका थिए । बुढोले लखेट्दा दौडिँदै भाग्न सक्दिन भनेर चप्पल कसैले लगाएका थिएनौँ । बुढोको आवाज सुनेर हामी सबैजना जहातही भाग्यौँ ।

भाग्नेवेलामा मेरो खुटामा काँडा बिझ्यो । काँडाको वास्तै नगरिकन एक हातले बयरले भरिएको खल्ती समातेँ । खल्ती समातेर सकि नसकी यसरी दौडेँ जसरी खेलाडी दौडमा विजेता बन्न दौडिन्छन्। त्यो दौडमा न हार थियो न जित थियो थियो केवल बयर बुढोको गाली र आँखाबाट ओझेल हुने त्रास ।

हामी सबैजना त्यहाँबाट भागेर मिल घरमा लुकिरहेका थियौँ । घान कुट्ने मिल थियो । त्यतिवेला मिल चलेको थिएन । मिल घरबाट चियाइरहेका थियौँ । बुढो एकछिनसम्म सबैलाई सामुहिक गाली गरे । गाली गरेर घरतिर लागे । बुढो गइसकेपछि हामी टोलभरिका केटाकेटी फेरि झटारो लिएर बयर झार्न गयौँ ।

बयरको बोटमा चढ्न सकिँदैन थियो किनकी बयरको बोटमा मसिना काँडा थिए । बयर साहुको घर पछाडिको बारीमा परालको टालबारी (टौवा बारी) थियो । त्यही टालबारीमा बयर, अम्बा, इमली र खजुरको बोट थियो । बारीको छेउमा खेतहरु थियो । ती खेतहरु हलोले जोतेका थिए । त्यही खेतको माटाको डल्ला टिपेर बयरमा हामी हान्थ्यौँ ।

फेरि हामी सबैजना व्यस्त थियौँ झटारो हान्न । यो पल्ट भने बुढो हल्ला नगरिकन आए । हामी देख्दै देखेनौँ । छेउमा भएकोे झटारो टिप्दै उनी नजिक आएर हान्ला जस्तै गरेर रिस देखाउँदै भने, ‘सार खरहुवान सब, अखैनते हम’ ।

सबै भागाभाग भयौँ तर मेरो खुट्टामा काँडा बिझ्यो । धेरै दौडिन सकिन । उनी मेरो हात समातेर झटारो उचाल्दै मलाई हान्न खोजेँ । म समातिएँ ।

मलाई हान्ने छन् भन्ने डरले आँखा चिम्लेर टाउको लुकाउँदै बुढोतिर पिठ्यु थापेँ । उनी मेरो पिठ्युसम्म झटारो ल्याए । हान्ला जस्तै गर्दै भने, ‘मारबौ, हँ, मारबौ ?’ तर हानेनन् । मेरो हात छोडे । मेरो हात छाड्ने बित्तिकै म लड्खडाउँदै जहाँत्यहीँ भागँे । बुढो भने गाली गरिरहेका थिए । मेरो जिउ थुरथुर कामिरहेको थियो ।

सबैले भन्थे बयर बुढो धेरै चन्ठ (चन्डाल) छ । केटाकेटीलाई झटारोले हान्छन् । तर अरुले भने जस्तो बयर बुढो चन्ठ थिएनन् ।

उनी जति चन्ठ भए पनि केटाकेटीप्रति प्रेम भएको मैले पाएँ । प्रेम प्रेमीप्रेमीकाबीचमा मात्र हुन्छ भनेर कसले भन्छ ? प्रेम त आत्मीयता र सौहाद्रता देखाउने मानिससँग हुन्छ र त्यसमा उमेरको कुनै रेखा हुन्न । बयर बुढोले जति गाली गरे पनि हामी केटाकेटीलाई कहिले कुटेनन् । हात समातेर झटारो हान्न खोज्दै नहान्नु केटाकेटीप्रतिको यो प्रेम नभइ के थियो त ? दया भाव, स्नेह र मायाले उनी हान्न सकेनन् ।

तेरा बाआमालाई भन्दिन्छु पनि भनेका थिए तर भनेका रहेनछन् । उनको नाम गोसाइ साहु थियो तर उनको बारीमा बयरको बोट भएकाले हामीले उनको नाम बयर बुढो राखेका थियौँ । उनी त्यसरी नै गाउँभरि बयर बुढोको नामले प्रसिद्ध भए । उनलाई सबैले बयर बुढो भनेर बोलाउन थाले । बयर बुढो भनेर बोलाउँदा उनले पनि कहिले बिरोध गरेनन् ।

अर्को दिन फेरि, झटारो हान्न व्यस्त थियौँ । नजिकको हाँगाको सबै बयर झारिसकेका थियौँ । माथिल्लो हाँगाहरुमा मात्र बयर बाँकी थियो । पाकेर पहेलो रङको भइसकेको थियो । अब जति बल लगाएर झटारो हाने पनि त्यति माथि झटारो पुग्दैन्थ्यो । बयरको बोट अग्लो थियो । मसिना काँडाहरु पनि थियो । तैपनि काँडासँग सचेत हुँदै हामी चारजना फटाफट बयरको बोटमा चढ्यौँ ।

फटाफट टिप्दै तल फालिरहेका थियौँ । तल बस्ने साथीहरुले हामीले फालेको बयर टिपिरहेका थिए । गोरे गस्ती बसिरहेको थियो । ऊ बयर बुढोको घरतिर हेरिरहेको थियो । हामी टिपिरहेको थाहा जाएर बयर बुढो फेरि गाली गर्दै आए, ‘आबे दे । सार खरहुवान’ । हामीलाई लखेट्न आउँदै गरेको गस्ती बसेका गोरेले देखेछ । ऊ भाग्दै भन्यो, ‘बैर बुरहुवा आबै छौ । भाग्, भाग् ।’

उसको कुरा सुनेर तल टिप्दै गरेका साथीहरु टिप्न छोडेर भागे । हामी चारजना भने टिप्दा टिप्दा हाँगामा गइसकेका थियौँ । साहु आएको थाहा पाएर हामी पनि हतारिँदै रुखबाट तल ओर्लिन थाल्यौँ । म समेत तीन जना ओर्लेर भाग्यौँ । चौथो दीपेन भने ओर्लिनेवेलामा माथिबाटै हाम फालेछ । रुखबाट एकै पटक भुँइमा लड्यो । ऊ लडेको भ्यात्त आवाज आयो । हामी दीपेनलाई छोडेर आफ्नो ज्यान बचाउन जहातहीँ भाग्यौँ । भुँइमा लडिरहेको दीपेनलाई बयर बुुढोले झटारो टिपेर हान्न खोज्दै रिसाइरहेका थिए, ‘मारबौ । यह्या सटकासे मारबौ । केहेन लागलौ ? भने खसलिही । बापके बियाह देखलिही ने । और येबहि बैर तोरैले ?’

भुँइबाट उठन नसकेका दीपेन भाग्न नसके पनि जबरजस्ती हात समात्दै रुँलाजस्तै गर्दै त्यहाँबाट भाग्यो । बयर बुढोले उसलाई कुटेन गाली मात्र गरे । दुई दिनपछि थाहा भयो रुखबाट लडेर दीपेनको बाया हातै मर्केको थियो । ऊ भोलिबाट प्लास्टर बाँधेको हात लिएर बयर टिप्न आउन थाल्यो । हात मर्के पनि बयर टिप्न आउन छोडेन । बयर बुढोको गाली खानबाट हामी बञ्चित हुन सकेनौँ ।


बयर चोरेर टिप्दा डर लाग्थ्यो । बयर खान पाउँदा बयर बुढोको गाली पनि अमृतपान गरेजस्तो अनुभव हुन्थ्यो । त्रास थियो । गाली खाइन्थ्यो । कुटाइको डर थियो । समातिए भने भक्कु कुटाइ खाइन्छ भन्ने अनुमान लगाइन्थ्यो तैपनि टिप्न छोडिदैन्थ्यो ।

यही स्वतन्त्रताले जीवन रोमाञ्चक छ भन्ने अनुभव गराएको थियो । जीवन जिउन छोड्नु हुन्न भन्ने भाव सँगाल्न सिकाएको थियो । जीवन कर्तव्यले थिचिएर जिम्मेवारीको चेपुवामा परेपछि यस्तो स्वतन्त्रता घट्दै जाने छ भन्ने अनुमान कहिले लगाइनँ । र फेरि पनि गाली खाँदै झटारो हानेर बयर टिप्ने स्वतन्त्रताको आसामा जीवन बाँच्दै गएँ । बाँच्दै गएँ । तर, थाहै नदिइकन उमेरसँगै आँखा अगाडिबाट त्यो स्वतन्त्रता टाढा भाग्दै गयो ।

Leave a Reply

Latest Posts

spot_img

अहिले