Tuesday, January 18, 2022

बाह्रवर्षे मकर मेलाकाे व्यवस्थापन तीव्र

काभ्रेपलाञ्चोक – ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा १२ वर्षे मकर मेला लाग्न करिब एक महिना बाँकी छ । अगामी माघ महिनाभर चल्ने मेलाका लागि नगरपालिकाले विविध व्यवस्थापनको तयारी गरिरहेको छ ।

यहाँका होटल–रिसोर्ट तथा घरबासले पनौती आउने पर्यटक तथा धर्मावलम्बीका लागि मेला अवधिभर स्वागत कार्यक्रमसँगै २५ प्रतिशत छुटको घोषणा गरेका छन् । पनौतीमा पाँच व्यवस्थित ठूला होटल, करिब दुई दर्जन रिसोर्ट तथा घरबास छन् ।

मकर मेलामा आएर घुम्दा–बस्दा विशेष छुट दिने तयारी भएको डायमण्ड हिल रिसोर्ट चामखरका सञ्चालक राजन थापाले बताए। उनका अनुसार १२ वर्षमा एकपटक हुने मेला निकै भव्य हुने र होटल व्यवसायीले आन्तरिक पर्यटनका लागि गर्व गर्नुपर्ने अवस्था हो ।

पनौतीको सबै पर्यटकीयस्थल घुम्ने अवसर भएकाले पर्यटक तथा धर्मावलम्बीलाई विशेष छुट दिनुपर्ने कर्तव्य रहेको पनौती सामुदायिक घरबासको सञ्चालक शिला अमात्यले बताए। उनले भने, “कोरोनाले थिलथिलिएको पनौतीको पर्यटनलाई मेलाले केही उकास्नेछ, यसका हाम्रो सहभागिता रहनेछ ।” उनले पनौतीस्थित घरबासमा आउने पाहुनालाई विशेष स्वागत गरिने योजना बनाइएको बताए । मकर सङ्क्रान्तिबाट सुरु हुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्छन् ।

यसैबीच नगरले ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत नगर ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको काम भइरहेको नगरप्रमुख भीम न्यौपानेले बताए ।

उनका अनुसार हरेक बाह्र वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरूपमा सञ्चालन गर्ने तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ ।

नगरले गत वर्षदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । हाल पनौतीले मेला प्रवद्र्धनार्थ स्थानीय विभिन्न सङघसंस्थाले नगरसँग समन्वय गरी मेलाको प्रचार गरिरहेका छन् । पनौती सङ्घीय राजधानी काठमाडौंबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवथित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ ।

उक्त मेलालाई थप व्यवस्थित बनाउन पनौतीसँग जोडिएका सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ भने स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा पक्की गर्ने काम सुरु भइसकेको छ । मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्डमाता करिडोर)ले पनि निकै राहत दिलाउने अपेक्षा गरिएको छ ।

मेला सम्पन्न गर्न एक दर्जन उपभोक्ता समिति गठन भइसकेका छन् । ती समितिले आउँदो विसं २०७८ पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिगार्नुपर्ने जिम्मेवारी पनि छ । जसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीहरूमा रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइनेछ । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गर्नुपर्नेछ । यीसहित भौतिक निर्माणका लागि गत वर्ष नै नगरले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको थियो ।

मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कबाट त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुतगतिमा अघि बढाइएको छ ।

नगरले ढुङ्गेधारा मर्मत, थप धाराहरूको व्यवस्था, फुटपाथ मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथहरुको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्ने नगरको योजनामा उल्लेख गरिएको छ ।

साथै पनौतीबाट चल्ने सबै प्रकारका सवारीमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्स टाँगिनेछ । नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशीखोलातर्फ सिँढी तथा रोशीखोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ ।

मेला अवधभिर मल्पी ड्यामबाट नियमितरूपले रोशीखोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइने योजना छ । यसका लागि मकर मेला सुरु हुनु हप्तापहिले खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिने जनाइएको छ ।

तत्कालीन राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशीखोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ । –राजकुमार पराजुली / रासस

Leave a Reply

Latest Posts

spot_img

अहिले