Tuesday, January 18, 2022

नागरिकलाई आवश्यक परेको हरेक ठाउँमा साथ दिन स्थानीय सरकार छ : अध्यक्ष नेपाल

स्थानीय सरकार मुल सरकार हो र भेटिने सरकार हो, अझै अधिकार थप हुनुपर्छ तर पाएको अधिकार अधिकतम प्रयोग भयो कि भएन त्यो कुरा समिक्षा गर्न सक्नुपर्छ ।

कमल प्रसाद नेपाल
अध्यक्ष
लिसंखु पाखर गाउँपालिका, सिन्धुपाल्चोक

लिसंखु पाखर गाउँपालिका प्रदेश नं ३ को सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९८.६१ वर्ग कि. मि. रहेको छ । यो गाउँपालिका साबिकका ६ वटा गा. बि. स. हरु ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेर बनेको छ ।

पालिकाको पूर्वमा दोलखा र रामेछाप जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा त्रिपुरा सुन्दरी गाउँपालिका। दक्षिणमा काभ्रेपलान्चोक जिल्ला र सुनकोशी गाउँपालिका छन् ।

पालिकाको नेतृत्व गर्दै आएका पालिका अध्यक्ष कमल प्रसाद नेपाल स्थानीय सरकार भनेको देख्ने, भेट्ने सरकार हुन भने केन्द्रिय सरकार भनेको हेर्ने सरकार भएको बताउँछन् । उनले जनतालाई आवश्यक परेको ठाउँमा पालिकाको उपस्थिति रहँदै आएको बताउँछन्।

अध्यक्ष नेपालसँग पालिकाका गतिविधि, उपलब्धी र संभाव्यताका सन्दर्भ भित्र रहेर जयदेशकर्मी सुसी थिङले कुराकानी गरेकी छिन् ।

स्थानीय सरकारको नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो ?

अनुभवको कुरा गर्दा यो नयाँ संरचना हो । संघीयताको अभ्यासमा जाँदा यसको सफल कार्यान्वयनमा हामी सफल भएका छौं।

पालिकाबाट उल्लेखनीय काम के के भए ?

पहिलो काम प्रशासनीक कार्यको लागि भवन निर्माण र कार्यालय व्यस्थापन गर्यौं । पालिकाको लागि आवश्यक विभिन्न कार्यविधि तथा कानुनको निर्माण गर्ने काम भए, सबै ठाँउमा सडक पूर्वाधारको पहुँच थिएन, सडक निर्माण गर्यौं । निर्माण भएको सडक पिच गरिएको छ। भुकम्पले क्षति पुराएका निजी आवासको निर्माणलाई प्राथमिकतामा राखेर काम गर्यौं। विद्युतिकरणको व्यवस्थापनको लागि पहल गर्यौं । खानेपानी पूर्वाधार, भुकम्पबाट क्षतिग्रस्त विद्यालय संरचना तथा मठ, मन्दिर, गुम्वा, सामुदायिक भवनको निर्माण कार्य भएकाछन्। स्थानीय नागरिकको मागमा आधारित रहेर धेरै काम भएकाछन्।

स्थानीय तहलाई गाउँको सिंह दरवार पनि भनिन्छ, नागरिकले त्यसको महसुस गर्न पाए ?

जनताले प्रत्यक्ष रुपमा सिंहदरबारको अनुभव गर्न पाए भन्ने मलाई लाग्छ । स्थानीय सरकार भनेको देख्ने, भेट्ने सरकार हुन भने केन्द्रिय सरकार भनेको हेर्ने सरकार हो । हामीले परेको ठाँउमा सबै जनताको सेवा गरेका छांै। आगलागी, बाढी, पहिरो गएको बेला हामीले तत्काल आवश्यक सामाग्री देखि लिएर आर्थिक सहायता समेत गरेका र्छौंै। स्थानीय सरकारलाई नागरिकले सिंहदरबारको अनुभव गर्न पाएका छन्।

स्थानीय तह आफैले कति स्वायत्त महसुस गरेको छ ?

हामीले अधिकार खोज्ने होइन दिएको अधिकार प्रयोगमा ल्याउनुपर्छ। कार्यान्वयन गर्नुपर्छ। जसले गर्दा थप अधिकारको बारेमा पनि कुरा गर्न सकिन्छ । समस्या पक्कै पनि छन् कार्य अनुभव भएका कर्मचारी अहिलेसम्म पनि छैनन् । स्वायत्त हुनु पर्छ,अधिकार पर्याप्त दिनुपर्छ,स्थानीय सरकार मुल सरकार हो र भेटिने सरकार हो, अझै अधिकार थप हुनुपर्छ तर पाएको अधिकार अधिकतम प्रयोग भयो कि भएन त्यो कुरा समिक्षा गर्न सक्नुपर्छ ।

पालिकाले शिक्षाको क्षेत्रमा के के गतिविधि गर्दै आएको छ ?

पालिका क्षेत्रमा सामुदायिक २८ र ४ निजी विद्यालय छन्। सुरुमा भौतिक संरचना बनाउने काम भए किनकी भुकम्पले सबै भवन भत्किएका थिए। दरबन्दी नभएका विद्यालयमा पालिकाबाटै दरबन्दी राख्ने काम गरियो। शिक्षा ऐन नियम बनाएर शिक्षामा अनुगमन पनि गर्दै आएका छौं । गुणस्तरमा धेरै सुधार गरेको छ। प्राबिधिक शिक्षाको लागि एउटा विद्यालय छ यसमा आइटी सम्बन्धी अध्ययन हुन्छ । अरु प्राविधिक शिक्षा पढ्नेलाई अर्थिक अवस्था कमजोर भएका र बिपन्नलाई सहयोग गर्दै आएका छौं।

स्वास्थ्य क्षेत्रमा के के काम भएका छन् ?

पालिका क्षेत्रमा ६ वटा स्वास्थ्यचौकी छन्, एउटा सामुदायिक स्वास्थ्य इकाइ छ। दक्ष जनशक्ति थिएन,जसमा करारमा भए पनि केही कर्मचारी राखियो। पालिकामा हस्पिटल नभएको कारण भिडियो एक्सरे मेसिन सहित अस्थायी अस्पतालको व्यवस्था गरेका छौं। ल्यावको पनि व्यवस्था गरेका छांै। एउटा अस्पताल निर्माणको काम पनि भइरहेको छ।

रोजगारमुलक व्यवसाय र युवा लक्षित कार्यक्रम के के भएकाछन् ?

रोजगारमुलक कार्यक्रममा सीप भएको युवा र विदेशबाट फर्केको युवाहरुलाई अनुदान दिने कार्यक्रम छ भने नेपाल बंैकमा पालिका जमानी बसेर ५ देखि १० लाखसम्म ऋण दिलाउने प्रावधान राखेका छौं।

कृषि र पशुमा व्याज अनुदान, पशुपालन गर्नेलाई गोठ सुधारको कार्यक्रम ल्याएका छौं। प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रमबाट बाख्रा वितरण गरिएको छ । विभिन्न ब्लक र पकेट क्षेत्र बनाएका छौं। ताजा तरकारी उत्पादन भनेर गत वर्ष १९ जना कृषकलाई ५० लाख अनुदान उपलब्ध गराएका थियौं। विभिन्न संघसंस्थासँगकोे समन्वयमा सिंचाइ, औजार, बिउबिजन सहयोग गरिएको छ।

उत्पादनको बजारीकरण कसरी गर्नुभएको छ ?

बजार व्यवस्थापनमा सबै ठाँउमा सडक निर्माण गरिएको छ । ढुवानी अनुदान पनि दिइएको छ। विभिन्न ठाँउमा निश्चित रुट बनाएका छौं। संकलन केन्द्रमा पुगेपछि व्यापारीले लैजाने गरेकाछन् । प्रदेश सरकार गाउँपालिकाको संयुक्त लागानीमा शित भण्डार निर्माण हुँदैछ।

पालिकामा भएको परिवर्तनलाई कसरी हेर्नुभएको छ ?

पहिला र अहिलेको पालिका हेर्दा २० वर्षमा गर्ने काम ४ वर्षमा गरेका छौं। धेरै परिवर्तन भएको छ।

पालिकाका चुनौती के के छन् ?

पहिलो चुनौती दक्ष जनशक्तिको अभाव हो,जसले काम गर्न धेरै गाह्रो बनायो। अधिकारको कुरा मात्रै हुने जिम्मेवारी पुरा नगर्ने भयो । निर्माण व्यासायीले समयमा काम सम्पन्न नगरिदिने, जनचेतनाको कमले धेरै समस्या उत्पन्न भएको छ। नागरिकमा गलत सोंच भएको कारण काम गर्न असजिलो छ।

पालिका क्षेत्रमा पर्यटनको संभावना कस्तो छ?

पर्यटनमा पहिले नै निर्माण भएको गुम्बा, मन्दिर हुन् । पछिलो समय अन्तरिक पर्यटन भित्र्याउनुपर्छ भनेर पार्क निर्माण गर्दै छौं।

प्रदेश र संघसँगको समन्वयको अवस्था कस्तो छ ?

आवश्यकता अनुसार समन्वय गरिरहेका छौं। प्रभावकारी रूपमा दिएको अधिकार सदुपयोग गर्नुपर्छ। साना साना योजनामा प्रदेश र केन्द्रिय सरकारले हस्ताक्षप गर्नु हुँदैन । मापदण्ड निर्माण हुनुपर्छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले