‘वान मेन आर्मी’ : सत्यनारायण सर

काठमाडौं– बिहान सात बजे देखि साढे नौ बजेसम्म विद्यालयमै ट्युसन, त्यसपछि खाना खाइवरी विद्यालय फिर्ता, दिउँसो विद्यालयमै खाजा (दिवा खाजा कार्यक्रम) र साँझ विद्यालय समयसम्मै पढाइ ।

यो दैनिकी सबैला नगरपालिका–७, नवटोली धनुषामा रहेको श्री हनुमान राष्ट्रिय प्रा.वि का १२० जना विद्यार्थीहरूको हो। कक्षा एक देखि चारसम्म पढाइ हुने यस विद्यालयको नेतृत्वमा छन् निमित्त प्रधानाध्यापक सत्यनारायण यादव ।

उनी तीन वर्ष देखिका निमित्त प्रधानाध्यापक हुन् । विद्यालयमा त्यो समय देखि प्रधानाध्यापक छैनन् । प्रधानाध्यापक मात्रै होइन, विद्यालयमा यादव बाहेक अरु शिक्षक पनि छैनन् ।

यी एक्ला शिक्षक विहान देखि रातीसम्मै विद्यालयको काममा खटेका हुन्छन् । ‘बिहान ट्युसनको लागि विद्यालय आउनुपर्यो, साँझसम्म पढाउँदा नै वित्छ, विद्यालय समय पछि विद्यालयको प्रशासनिक काम गर्दा नै वित्छ’ अपडेट राखिएका फाइल देखाउँदै उनले भने, ‘भोली कतैबाट अपजश नआओस् भनेर चुस्तदुरुस्त कागजात राखेको छु ।’

उनले एकै पटकमा विद्यालयको लेखा, दिवा खाजा, विद्यालय योजना देखि मुल्यांकन, प्रतिवेदनसम्मका फाइल देखाए। दिनरात विद्यालय भनेरै मरिमेट्ने यादव करारका शिक्षक हुन्। ‘करारको जागिर कतिन्जेलसम्म रहन्छ थाहा छैन तर विद्यालयमा रहँदासम्म इमान्दार बनेर काम गरुँ भन्ने हो’ उनले भने, ‘मैले केही समय बढी दिँदा विद्यार्थीको भविश्य बन्छ भने किन नगर्नु भन्ने लाग्छ ।’

विद्यार्थी कमजोर त्यसै माथि शिक्षकको संख्या कम, त्यही भएरै उनले विद्यालयका ट्युसन कक्षा चलाउन लागेका हुन् । उनले ट्युसनको लागि थप समय दिएपनि विद्यार्थीबाट शुल्क लिँदैनन् । ‘कसरी शुल्क लिनसक्छु, सबै गरिबका छोरोछोरी हुन्, भोलि पढ्नै नआउलान् भन्ने डर, म मेरा विद्यार्थीलाई अर्को विद्यालय पठाउँदा कति कमजोर रहेछ भन्ने बनाउन चाहन्न’ उनले भने, ‘यही काम पनि मैले शुल्क लिएर गरें भने पैसा लिएर गरेको त हो भन्ने पनि निस्केलान् ।’

लकडाउनले छेकेन पढाइ

कोरोना महामारीका कारण लामो समय सबै तिर विद्यालय बन्द भए । श्री हनुमान राष्ट्रिय प्रा.वि पनि अछुतो रहने कुरै भएन। विद्यार्थी विद्यालय आउन सक्ने अवस्था भएन, हेडसरलाई विद्यार्थीको पढाई बिग्रिएला भन्ने कुराले सतायो ।

उनी लकडाउनमा पनि विद्यालयले समेट्ने क्षेत्रका १५० घरमा विद्यालय ड्रेसमै पुगे र एक एक विद्यार्थीको अवस्थासँग अपडेटमा रहे। त्यति मात्रै होइन अभिभावकलाई विद्यार्थीको पढाइ विग्रिए छात्रवृत्ति रोकिने भनेर सचेत गराए । टोलमा अभिभावकको सहभागितामा टोल समेटेर अनुगमन समिति बनाए र उनीहरू मार्फत सुझाव समेत लिए।

‘महामारीमा विद्यार्थी जम्मा गर्न पनि गाह्रो, सामाजिक दुरी कायम गरेर घर घर पुगेर विद्यार्थी भेटें, गृहकार्य दिएँ, पढाइको बारेमा जानकारी लिएँ’ उनले भने, ‘पछि विद्यार्थीलाई पालो पालो गरेर १५/१५ दिनको फरकमा विद्यालयमा बोलाएर गुहकार्य दिने र कपी जाँच्ने गरें, म नियमित रुपमै विद्यालय आएँ ।’

उनलाई कोरोना महामारीमा विद्यार्थीको पढाइको मात्र चिन्ता थिएन, उनीहरूको स्वास्थ्य विग्रन्छ कि भन्नेमा पनि चिन्ता थियो । उनले विद्यार्थीलाई अध्ययनसँगै महामारीबाट बचाउने कुरालाई पनि प्राथमिकता दिनुपर्छ भन्ने कुरामा ध्यान दिए।

‘मैले मुख्य चार कुरामा ध्यान दिन लगाएँ, पहिलो पाठ्यपुस्तक, दोस्रो लकडाउनमा सामाजिक दुरी, तेस्रो व्यक्तिगत सरसफाई र चौंथो खानपान’ उनले भने, ‘विद्यार्थी यति सचेत भएकी अहिले विद्यालय खुलेपछि पनि सिधै सेनिटाइजर लगाउन आउँछन् ,घरमा तातो पानी र कागतीमा जोड गरेको अभिभावक भन्नुहुन्छ ।’

उनले विद्यार्थी विद्यालय जान नपाए पनि लकडाउनका कारण पढाइ के होला भन्ने नपारेको बताए । ‘किताब आएपछि उनीहरूलाई दिइहालें, त्यसै अनुसार पढ्न पनि लगाएँ, विद्यालय आउन पाएनन् तर उनीहरूले पढाइको न्यास्रोमा बस्नु परेन’ उनले भने ।

बरदान बनेको आसमान

लकडाउनमा सबैतिर एक्लै धाउनु परेको बेला आसमान नेपाल नामको गैरसरकारी संस्था उनको लागि बरदान बनेर आयो । आसमानले लकडाउनका समयमा विद्यार्थीको सिकाइ स्तर नखस्कियोस् भनेर कक्षा ५ सम्मका विद्यार्थीलाई ध्यानमा राखी ‘निक शिक्षा दिअ’ परियोजना मार्फत ‘इच वान टिच फाइभ’ अभियान लिएर आयो ।

‘आसमानको कार्यक्रम आएपछि मलाई धेरै सजिलो भयो, ८ जना स्वयमसेवकले ८ वटा क्लस्टर बनाएर हेरे, हरेक दिन दुई घण्टा स्वयमसेवकले पढाउन थाले’ उनले भने, ‘यसले मलाई धेरै सजिलो बनायो, सामान्य विद्यार्थी भेटघाट र विद्यालयमै बोलाएर होमवर्क जाँच गरें’ ।

आसमानका स्वयमसेवकसँगको साझेदारी विद्यालय खुलेपछि पनि काम लाग्यो । स्वयमसेवक शिक्षक अहिले विद्यालयमै आउन थालेकाछन् । टोलमै खर्चने दुई घण्टा उनीहरूले अहिले विद्यालयमा दिन थालेका छन् ।

‘अहिले समय बाँडेर आठ जना स्वयमसेवक विद्यालयमै आएर पढाउनुहुन्छ, उहाँहरुले संस्था मार्फत संचार खर्च वापत महिनामा एक हजार पाउनुहुन्छ’ उनले भने, ‘विद्यालयमै ल्याएर कज्याउँदा अन्याय भयो कि भन्ने ठानेर विद्यालयको तर्फबाट केही प्रोत्साहन रकम थप गर्ने सोंच बनाएको छु ।’

उनी आफै पनि सुरुमा स्वयमसेवक शिक्षकको रुपमा विद्यालयमा आएको संझन्छन्। ‘२०५८ देखि २०६० सम्म विना तलब पढाएँ, पछि राहत शिक्षकको रुपमा जिम्मेवारी पाएँ, राहतको फेज सकिए पछि जागिर पनि जान्छ’उनले भने, ‘मैले आजै मेरो जागिर गएपनि १–२ वर्ष स्वयमसेवकको रुपमा काम गर्छु, मेरो गाउँको बच्चालाई मैले नहेरेर कसले हेर्ने ।’

उनले यति लामो समय राज्यले आफू माथि लगानी गरेकोले आफूपनि जिम्मेवारीबाट पन्छिन नहुने बताए । त्यसो त उनी आफै अहिले पनि आफ्नो व्यक्तिगत जिन्दगी छ भन्ने कुरा पनि विर्सन्छन् ।

‘मेरो विद्यालय नै घर बनेको घर नै विद्यालय बनेको छ, सामाजिक काममा कतै जान समय मिल्दैन, विद्यालयको काममा लाग्दा लाग्दा आफ्नो व्यक्तिगत जीवन छ भन्ने नै विर्सन थालें’ उनले भने ।

तीन किलोमिटरमा गाउँ सरकार, १७ किलोमिटरमा प्रदेश सरकार तर समस्या ज्युँकात्युँ

विद्यालयबाट सबैला नगरपालिकको कार्यालय तीन किलोमिटरको दुरीमा छ र प्रदेश नं २ को राजधानी जनकपुर १७ किलोमिटर पर छ तर विद्यालयको समस्या ज्युँकात्युँ छ ।

विद्यालयमा भर्ना हुनेको संख्या बढ्दो छ । तर २०५३ सालमा खुलेको विद्यालयका शिक्षक चाहिन्छ भन्ने कुरामा कसैको ध्यान पुगेको छैन। कुनै समय विद्यालयमा पाँचजना शिक्षक पनि थिए । तीन वटा त स्थायी दरवन्दी नै छ तर सम्बन्धित निकायले तीन वर्ष देखि शिक्षक पठाउन सकेको छैन ।

उनले पालिकामा पटक पटक यस विषयमा कुरा उठाउँदै आएकाछन् । आश्वासन पाउँछन् तर शिक्षक पाउँदैनन् । उनले भने, ‘अहिले अब छिट्टै पठाउँछौ भन्नुभएको छ, हेरौं कहिले पठाउनुहुन्छ ।’

शिक्षक मात्रै हैन विद्यालयमा अन्य समस्या पनि छन् । विद्यालयको आडैमा ठूलो पोखरी छ, कतिबेला विद्यार्थी गएर पोखरीमा डुब्छन् भन्ने त्रास भइरहन्छ । केही सीप नलागेपछि उनले उनी आफै अगाडि सरेर आफ्नै खर्चमा विद्यालयको कम्पाउण्डलाई बाँसले बारेकाछन् ।

‘भरपर्दो त नहोला तर छेकबार लगाएको छु, कतै योजना पर्छ कि भनेर खोजें पाइएन, यसको लागि आफ्नै २० हजार रुपैयाँ खर्चिएको छु’ उनले भने ।

Leave a Reply

Latest Posts

spot_img

अहिले