Tuesday, January 18, 2022

पूर्वाधार विकासका कामलाई प्राथमिकता दिएका छौं : अध्यक्ष अधिकारी

जिल्लाको दुर्गम पालिका गंगाजमुनालाई हरेक दृष्टिले समुन्नत बनाउन ‘सुरक्षित, सुन्दर र समृद्ध गंगाजमुना, कृषि पर्यटन, पूर्वाधार विकास हाम्रो चाहना’ नारा सहित काम गरिरहेका छौं

बल बहादुर अधिकारी
अध्यक्ष
गंगाजमुना गाउँपालिका, धादिङ

गंगाजमुना गाउँपालिका वागमती प्रदेश स्थित धादिङ जिल्लामा उत्तर पश्चिममा पर्दछ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये यस गाउँपालिका जिल्लाको सदरमुकामदेखि ५४ कि.मि.को दुरीमा पर्दछ ।

संघीय शासन प्रणाली अनुसार स्थानीय तह पुनसंरचना प्रक्रियामा धादिङ जिल्लाको साविक रि,
गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गरी ५ वटा गाउँ विकास समिति समायोजन भएर यो गाँउपालिका स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी. रहेको छ ।

गंगाजमुना गाउँपालिका नेपालको मध्यपहाडी क्षेत्रमा पर्दछ । यस गाँउपालिकाको पूर्वमा खनियाबास गाउँपालिका, पश्चिममा गोरखा जिल्लाको आरुघाट गाउँपालिका, उत्तरमा रुविभ्याली गाउँपालिका र गोरखा जिल्ला र दक्षिणमा नेत्रावती तथा त्रिपुरासुन्दरी गाउँपालिका पर्दछ ।

भौगोलिक रुपमा मध्यपहाडी क्षेत्र देखि हिमाली क्षेत्रसम्म फैलिएको यस गाउँपालिका जैविक, विविधता, प्राकृतिक स्रोत तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

पालिकामा कुल ७ वटा वडा रहेको यस गाउँपालिकाले आफ्नो सिमित स्रोत र साधनकाबीच पनि नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्दै आएको पालिकाका अध्यक्ष बल बहादुर अधिकारी बताउँछन्।

पालिका अध्यक्ष अधिकारीसँग पालिकाका योजना, प्रगति र संभाव्यता भित्र रहेर जयदेशकर्मी सुसी थिङले कुराकानी गरेकी छिन् ।

पालिकाको पूर्व अवस्था कस्तो थियो ?

पालिकामा ७ वटा वडाहरू छन् । यो धादिङको उत्तरी बेल्टमा पर्छ । यो धादिङको बिकट ठाँउ हो । पहिले पालिकामा कुनै सडक निर्माण भएको थिएन । यहाँ खानेपानी थिएन, बिजुली बत्ति थिएन । हामीले तिनै कुरालाई प्राथमिकता दिएर ‘सुरक्षित, सुन्दर र समृद्ध गंगाजमुना, कृषि पर्यटन, पूर्वाधार विकास हाम्रो चाहना’ नाराका साथ आवधिक योजना बनाएर त्यसै अनुसार काम गर्दै आएका छौं।

पालिकाको नेतृत्व गरेको साढे चार वर्षको अनुभव कस्तो रह्यो ?

अनुभव भन्नुपर्दा देशमा नयाँ संरचना छ। आफै योजना नीति बनाएर काम गरिरहेका छौं । पहिला अरुको नीति नियममा चल्ने अवस्थाबाट फरक अभ्यासमा जाँदा नौलो अनुभव भएको छ। लामो समयसम्म कर्मचारी भएन, भवन फर्निचर लगायतका अभावको समस्या देखियो।

यसबीचमा के के विकास निर्माणका काम भए ?

विकास निर्माणको काममा पालिका भवन, वडा भवन, स्वास्थ्य चौकी, प्रत्येक वडामा बिजुली बत्ति पुराना काम, सबै ठाँउमा सडक सञ्जाल पुराएका छौं। ग्रामिण अस्पताल निर्माण गरिएको छ, स्वस्थ्य संस्थामा आइसियुमा आवश्यक सामाग्री पनि राखियो। स्वास्थ्य चौकीमा अक्सिजन सहितका व्यवस्था गरेका छौं। शिक्षामा नयाँ योजना बनाएर, नीति नियम निर्माण गरियो।

पशुपालनमा पनि केही कार्यक्रम बनाएकाछौं। एक घर एक धारा र साना सिंचाइका कामहरू भएकाछन्। अब पालिकाले नयाँ संरचना अनुसार हामीले बैंक ल्याउन सकेको थिएन अहिले भयो। हामीलाई पूर्वाधारको विषयमा काम गर्न केही कसर छाडेको छैन । विद्युतिकरण, पालिका भित्रका पूर्वाधार निर्माणका कामहरू भए। नयाँ संरचनाका लागि विधान बनायौं।

शिक्षामा कस्ता कस्ता काम भए ?

शिक्षा क्षेत्रको कुरा गर्दा पालिका क्षेत्रमा १ वटा निजि विद्याालय छ, ५ वटा उच्च माध्यामिक विद्यालय छ । ५ वटा माध्यामिक विद्यालय छन् । प्राबिधिक शिक्षा पढ्ने लाई १ लाख दिने गरेको छौं र कृषिको लागि वडा नं ५ मा एउटा विद्यालय छ, जहाँ ९ देखि १२ सम्म पढाई हुन्छ । शिक्षा दरबन्दी कायम गर्ने, तालिम दिने लगायतका काम गर्यो ।

स्वास्थ्य क्षेत्रका के के काम भएका छन् ?

पालिका क्षेत्रमा १वटा ग्रामिण अस्पताल बनाएका छौं। ५ वटा स्वास्थ्य चौकी र ४ वटा स्वास्थ्य इकाइ छन्। पुराना भवन मर्मत र केही नयाँ बनेकाछन्। सुत्केरी गराउन गाह्रो परेको अवस्थामा हेलिकोप्टरबाट अस्पताल पुराउँदै आएका छौं।

योजना छनौटमा स्थानीयको सहभागिताको अवस्था कस्तो छ ?

हामीले विधि सम्मत योजना छनौटका काम गर्दछौंं । टोलटोलमा भएका टोल विकास समिति मार्फत योजना आउँछन्। साना योजना वडाले संचालन गर्दै आएकाछन्। ५० लाख भन्दा ठूला योजना पालिकाले संचालन गर्दै आएकाछन्।

स्थानीय तहलाई स्वायत्तता दिएको भनिन्छ, यसको उपभोग कति गर्न पाउनु भएको छ ?

स्थानीय सरकार लाई स्वतन्त्र अधिकार दिएको छ। हामीले त्यसको उपभोग गर्न पाएका छौं। स्वतन्त्र रुपले आफै नीति निर्माण र कानुन बनाउने कुरामा स्वतन्त्र छ। यसलाई कार्यान्वयन गर्दै जाँदा समृद्ध गंगा जमुना बनाउन सक्छौं।

नागरिकले गाउँको सिंहदरबार रुपमा स्थानीय तहलाई महसुस गरेकाछन् ?

नागरिकले सिंहदरबारको अनुभव गरेका छन् । पहिले योजना बनाएर, स्टिमेट बनाएर बजेट माग गर्नुपथ्र्यो । अहिले तुरुन्त काम गर्न सकिने अवस्था छ। नागरिकले आवश्यक परेका योजनाको माग सहजै गर्न सक्छन्। तथापी अहिले पनि पालिकाले सबै सुविधा प्रयोग गर्न सकेको छैन।

सामाजिक सुरक्षा भत्तामा संघीय सरकारको भन्दा केही फरक व्यवस्था पनि छ ?

सामाजिक सुरक्षा भता अन्तर्गत हामिले अविवाहित महिला जो ४० वर्ष भन्दा माथिको हुनुहुन्छ, उहाँहरूलाई मासिक एक हजारका दरले मासिक भत्ता उपलब्ध गराउँदै आएका छौं।

यूवा स्वरोजगारका क्षेत्रमा के के काम भएकाछन् ?

यूवालाई स्वरोजगार बनाउन पशुपालन, फलफूल खेती, माछापालन, तरकारी तथा खाद्यान्न उत्पादनमा प्रोत्साहन गर्दै आएका छौं। प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत पनि त्यस्ता काममा सहयोग भएको छ तर हाम्रो क्षेत्रमा कृषि विज्ञको अभाव छ। कर्मचारी पनि ५–६ महिना भन्दा बढी नटिक्ने समस्या विद्यमान छ।

उत्पादनको बजारीकरणको अवस्था कस्तो छ ?

बजारीकरण को अवस्था भन्नुपर्दा यहाँ उत्पादन भएको हामीलाई मात्रै पर्याप्त छ । पहिला अरु ठाँउ बाट ल्याउनु पर्ने थियो तर अहिले हामी आफै निर्भर भएको छ। उत्पादन बढी भए के गर्ने भन्नेमा पनि धेरै विकल्प सोंचेका छौं।

पर्यटनमा कस्तो संभावना छ ?

पर्यटनमा भन्नुपर्दा यस पालिका क्षेत्रमा गङ्गाजमुना झरना र गणेश पर्वत छ । पर्यटन क्षेत्रलाई व्यवस्थित गराएर जान सके धेरै लाभ लिन सक्ने देखिन्छ ।

प्रदेश र संघीय सरकारसँगको समन्वयको अवस्था कस्तो छ ?

प्रदेश सरकार र केन्द्रिय सरकारसँगको समन्वयको अवस्था राम्रै छ। तर पालिकाले गर्ने ५–१० लाखका योजनामा पनि हस्ताक्षेप गरेर आफै कार्यक्रम पार्ने परिपाटी छ, त्यो राम्रो होइन। यसले पालिकालाई जिम्मेवार होइन थप कमजोर बनाउँछ।

Leave a Reply

Latest Posts

spot_img

अहिले