Tuesday, January 18, 2022

एनआरएनमा सरकारका गठबन्धनका दलले कुल आचार्यलाई सघाउने !

काठमाडौं–केही दिन अगाडि काठमाडौंमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशनका अध्यक्षका प्रत्यासी कुल आचार्यले प्रजातान्त्रिक विचारधारा भएकैबाट साथ नपाइएको गुनासो पोखे।

उनको भनाई थियो, ‘गैर आवासीय नेपालीमा ७० प्रतिशत प्रजातान्त्रिक विचारधारका व्यक्ति छन् तर हार्ने बेला त्यही विचारधारको उम्मेदवारले चुनाव हार्छ ।’ नवौं महधिवेशनमा अध्यक्षमा पराजित उनी अहिले फेरि अध्यक्षमा लड्दैछन् ।

उनले एनआरएनएलाई राजनीति भन्दा बाहिर राख्ने भनिएपनि अन्तिममा चुनाव जित्नेले राजनीति गरेरै चुनाव जितेको बताए । उनको भनाई थियो , ‘हामीलाई राजनीति गर्न हुन्न भन्ने तर आफूले सक्दो राजनीति गरेर चुनाव जित्ने ।’

यही तितो ओकलेका आचार्यले कांग्रेसलाई बशमा पारेका छन्। नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावका लागि समन्वय र सहयोग गर्न ८ नेतालाई जिम्मेवारी दिएको पाइएको छ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गत असोज ७ मा बसेको बैठकको निर्णयअनुसार कांग्रेसले कुल आचार्य नेतृत्वको समूहलाई एनआरएनएमा जिताउन भन्दै समन्वयका लागि ८ नेतालाई जिम्मेवारी दिएको छ।

विदेशस्थित कांग्रेसका जनसम्पर्क समितिहरूलाई आवश्यक समन्वय गर्नका लागि भन्दै नेताहरूलाई जिम्मेवारी दिएको हो।

कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापालाई युरोप क्षेत्र हेर्ने जिम्मेवारी दिएको छ।

एशिया क्षेत्र भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले हेर्नेछन्। अमेरिका क्षेत्र हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई दिइएको छ।

केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख रहेका गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मालाई अफ्रिका, मध्यपूर्व क्षेत्र र नेपाली जनसम्पर्क समिति हेर्ने जिम्मेवारी दिइएको छ।

साथै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई ओसियाना क्षेत्र हेर्ने जिम्मेवारी दिइएको छ।

कांग्रेस मात्र होइन सत्तारुढ गठबन्धन आबद्ध दलहरुले प्रवासस्थित आफ्ना भातृ र शुभेच्छुक संगठनहरुलाई आन्तरिक सर्कुलर गरेर गठबन्धन समर्थित उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएका छन्।

एनआरएनएमा यसको विरोध समेत देखिएको छ । आर्चायसँगै कांग्रेस निकट मानिने वर्तमान उपाध्यक्ष समेत रहेकी रविना थापा र एमाले निकट मानिने डा.बद्री केसी भिड्दैछन् ।

अध्यक्षका प्रत्यासी कुल आचार्यले रविना थापा समेत अध्यक्षमा उठेसँगै नेपालको राजनीतिमा गठबन्धन गरेका दलको आधिकारिता खोजेका हुन् । थापा चुनाव प्रचारमा लागिसकेकोले व्याक हुने संभावना नभएको जानकाहरू बताउँछन्।

नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ कांग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफू अनुकुल बनाउने योजनामा देखिएका छन । यो भन्दा पहिले नेपाली कांग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते नै विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन परिपत्र जारी गरिसकेको छ ।

Leave a Reply

Latest Posts

spot_img

अहिले