Tuesday, January 18, 2022

सडक निर्माण भएर मात्रै पनि भएन गाडी चढ्ने हैसियत सहितको जीवनस्तर बन्नुपर्छ : अध्यक्ष

हिजो गाविस र आजको पालिका हेर्दा आकाश र जमीनको फरक छ। हिजो १ लाख माग्न धुन्चे पुगेर कुनै दलको नेताको चाकरी गर्नुपथ्र्यो । संघीताले गर्दा जनताले विकासको अनुभूति गर्न पाएका छन् । सामन्ती कार्य हटेको छ ।

नुर्बु स्याङ्बो घले
अध्यक्ष
नौकुण्ड गाउँपालिका, रसुवा

नौकुण्ड गाउँपालिका बागमती अंचलको रसुवा जिल्लामा अवस्थित छ । पूर्वमा गोसाईकुण्ड गा.पा. र नुवाकोट जिल्ला, पश्चिममा कालिका गा.पा.,उत्तरमा गोसाईकुण्ड गा.पा. तथा दक्षिणमा नुवाकोट जिल्लाको सिमानासंग जोडिएको यो गा.पा. १२६.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ। साबिकका यार्सा,सरमथली र भोर्ले गा.वि.स.लाई समावेश गरि यो गा.पा.को निर्माण गरिएको हो । रसुवा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको यो गा.पा को कुल जनसंख्या ११ हजार ८ सय २४ रहेको छ ।

नौकुण्ड गाउँपालिकाको सबै भन्दा ठुलो सबल पक्ष यसको मानव संसाधन रहेको पालिकाको दावी छ। यसका अतिरिक्त यस गाउँपालिकामा रहेका नदी नाला,वन,कृषि योग्य भूमिले यस गाउँपालिकाको विकासलाई सकारात्मक दिशा तर्फ डोर्याउन सहयोग गर्ने विषयमा दुई मत छैन । साथै नुवाकोट जिल्लाका अतिरिक्त कालिका र गोसाईकुण्ड गाउँपालिकासंग यस गाउँपालिकाको सिमाना जोडिनुले यस गाउँपालिकाको विकासमा अथाह सम्भावना थपेको छ ।

यद्यपी यस गाउँपालिकामा विद्यमान गरिबी, अशिक्षा, पर्याप्त संचार सुविधाको अभाव,उद्योग कलकारखानाको अभाव,सरसफाई सम्बन्धि जनचेतनाको अभाव,परम्परागत र निर्वाहमुखी कृषि प्रणाली,सडक संजालको अपेक्षाकृत विस्तार नहुनु,सक्षम मानव संसाधनको विदेश पलायन, बाल विवाह आदि यस गाउँ पालिकाका प्रमुख समस्याका रुपमा रहेको पालिका आफैको ठम्याईं छ।

पलिकाको नेतृत्व गरिरहेका अध्यक्ष नुर्बु स्याङ्बो घले संघीयताको फरक अभ्यासको साथ निर्विवाद रुपमा पालिका संचालन भएको बताउँछन् । संघीयतामा स्थानीय तहलाई व्यवस्था गरिए बमोजिमको अधिकार कार्यान्वयन गर्न नदिएको उनको गुनासो छ।

अध्यक्ष घलेसँग जयदेशकर्मी सुसी थिङले पालिकाका गतिविधि, योजना र संभावनाका विषयमा कुराकानी गरेकी छिन्।

स्थानीय सरकार नेतृत्व गर्दाको यहाँको साढे चार वर्षको अनुभव कस्तो रह्यो ?

मेरो पालिकामा ६ वटा वडा छन । मैले २०४८ सालबाट राजनीति सुरू गरेको हुँ। सबै जनतासँगै रहेको हामी संघीयतामा हामी फरक अनुभवका साथ जनतासँग रहन पाइयो।

हिजोको १–२ लाख बजेटको लागि जिल्लामा गएर कसैको चाकडी गर्नुपथ्र्यो, अहिले पालिका आफ्नो स्वायत्त हैसियतमा स्थानीय सरकारको रुपमा संचालन भइरहको छ। सरकारका सबै प्रक्रिया यहीँ हुने हुँदा सिंहदरबारको कुरा गरेको हो रहेछ भनेर कुराको व्यवहारिक अनुभव गर्न पाइयो।

पालिकाले यसबीचमा कुन कुरालाई प्राथमिकता दिएर काम गर्यो ?

स्वास्थ्य ,शिक्षा ,पूर्वाधार र कृषिलाई प्राथमिकतामा राखेर काम गर्यौं। सबै ठाउँमा सडक बाटो पुराइएको छ। पानी, विजुलीको पहुँच घर घरमा छ ।

भनेपछि नागरिकले गाउँ गाउँमा सिंहदरबारको अनुभूति गर्न पाए ?

नागरिकले पाउनुपर्ने सुविधा , अधिकार धेरै राम्रोसँग पाएका छन्। हुनुपर्ने काम पाउनु पर्ने अधिकार निश्चित रूपमा पाएको अवस्था छ। सबै खुसी नहुन सक्छन् कोही कोही विपक्षमा रहेर गरेको काम चित नबुझेको पनि होला तर पालिकाले भने निस्वार्थ र निश्पक्ष तरिकाले काम गर्दै आएको छ।

रसुवाका पाँच गाउँपालिका मध्ये बिकट गाउँपालिका हाम्रो पालिका हो। हाम्रो दावी छ अरुको तुलनामा पारदर्शी र दुरदर्शिताका साथ काम गरिरहेको छ। पालिकका जनप्रतिनिधि मध्ये हाम्रो पक्षमा ४–५ जना जनप्रतिनिधि थियो भने विपक्षमा बाँकी जनप्रतिनिधि थियो तर ७२ वटा बैठक भयो कुनै बैठकमा पनि विवाद र अविश्वासको मत आएन ।

स्थानीय सरकारले कति स्वतन्त्र रुपमा काम गर्न पाए ?

गाउँपालिकालाई बाटोघाटो,पैसा देखि विकास निर्माणको काममा अधिकार दिएको छ तर पियन पद देखि अधिकृतसम्मको कर्मचारी राख्न वा नियुक्त दिन भने हामीलाई अधिकार दिएको छैन । कतै न कतै राज्यले अंकुश लगाएको छ।

नागरिकको जीवन सुधार गर्न के के काम भए ?

जीवनस्तर उकास्ने काममा २ वडामा आलु पकेट , २ वडामा धान पकेट, १ वडामा कुखुरा पकेट, १ वडामा बाख्रा पकेट क्षेत्र बनाएको छौं।

अन्य धेरै युवा लक्षित कार्यक्रम पनि छन् । पालिकासँग उद्यमी, व्यवसायीले ऋणको लागि साझेदारी गरेको छ। हामीले गर्नुपर्ने कुरा सबै सुरु गरेको छांै। हामीलाई सिक्नु पनि केही समय लाग्यो। विकास निर्माणको काम वा सडक निर्माण भएर मात्रै पनि भएन गाडी चढ्ने हैसियत निर्माणको लागि नागरिकको जीवनस्तर बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

स्वास्थ्य क्षेत्रमा के के सुधार भए ?

स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा ६ वडामा ११ वटा स्वास्थ्य चौकी बनाइएको छ। चोटपटक लागेको खण्डमा उपचार त्यही हुन्छ, बर्थिङ सेन्टर पनि बनेका छन्। पाँच रोपनी जग्गामा हस्पिटल निर्माण भइरहेको छ। अब आउने नेतृत्वलाई पनि यही अवस्थाबाट विकास गर्ने गरि काम भएकाछन्।

शिक्षा क्षेत्रको अवस्था कस्तो छ ?

पालिकामा १६ वटा विद्यालय छन् । जसमा १ वटा निजी र बाँकी सामुदायिक विद्यालय हुन् । स्थानीय सरकार आउनु भन्दा पहिले यो पालिकामा शिक्षाको क्षेत्रमा धेरै कमजोर थियो। शिक्षाकहरु नै नियुक्त गर्न सकेको थिएन । हामीले एकै दिनमा ३१ ज्ना शिक्षक पारदर्शी,जवाफदेही रुपमा वडा सदस्य देखि पुलिस प्रशासन , शिक्षा कार्यालय र सिडियो सहितको उपस्थितिमा नियुक्ति गरियो।

प्रस्तावित मा.बि र निमाबिले गर्दा शिक्षामा बिकृती आएको छ। जसलाई सरकारले दरबन्दी दिएको छ । जसको कारणले विद्यालयको शिक्षा गुणस्तर सुधार हुन सकेको छैन । यो कुरा सरकारले सुनाइ छिटो गरिदिनुपर्छ । विद्यार्थीहरुको भविश्यमा असर पर्ने हुनु भएन ।

योजना निर्माणमा जन सहभागिताको अवस्था कस्तो छ ?

पालिकाले वडामा सूचना दिन्छ र सूचनाको आधारमा भेला बोलाइन्छ र छलफल हुन्छ। विकास निर्माणका योजनमाको काम टेन्डर मार्फत भइरहेका छन्।

कोरोना महामारीको नियन्त्रणमा पालिकाले कस्तो भूमिका खेल्यो ?

हाम्रो पालिका रसुवाको धेरै जनसंख्या भएको पालिका हो । त्यसैले हामीले कोरोना व्यवस्थापन गर्न क्वारेन्टिन बनायौं। राहत वितरण गर्यौं। काठमाडौमा रहेको हाम्रो पालिकाका जनतालाई राहात पनि बितरण गरियो। कोरोनाबाट ७ जनाको मृत्यु भयो । पालिकामा जनचेतनाको कम छ, जनचेतना जगाउने अभियानमा छौं। बिस्तारै कम भैरहेको छ।

पालिका क्षेत्रमा पर्यटकीय संभावना कस्तो छ ?

हाम्रो पालिका पर्यटनको लागि राम्रो सम्भावना भएको ठाँउ हो । नुवाकोटको सात तले दरवार, गोसाइँकुण्ड जाने छोटो बाटो र रमाइलो रमाइलो दृश्य हुँदै जाने हुनाले यसलाई राम्रो संभावनाको रुपमा लिन सकिन्छ।

पालिकामा भएका कृषि उत्पादनको बजारीकरणको अवस्था कस्तो छ ?

कृषिमा बजार व्यवस्था कठिन छ ,किनकी आफूलाई बढी हुनेले बेच्नको लागि बजारको संभावना छैन। हामी यस विषयमा सोंचिरहेका छौं ।

पालिका भित्रको हिजो र आजको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

हिजो गाविस र आजको पालिका हेर्दा आकाश र जमीनको फरक छ। हिजो १ लाख माग्न धुन्चे पुगेर कुनै दलको नेताको चाकरी गर्नुपथ्र्यो । संघीताले गर्दा जनताले विकासको अनुभूति गर्न पाएका छन् । सामन्ती कार्य हटेको छ । जनताको छोराछोरीको भविश्य सुनिश्चित भएको छ। चाहेको ठाँउमा ल गर्नु भनेर ४–५ लाख सिफारिस गरिदिएको छु।

हिजो ५० हजार बजेट नेतासँग माग्नुपथ्र्यो ४७ साल तिर त्यति बजेट दिनेलाई भगवान भन्थे अहिले ११ करोड भन्दा बढी खर्च गरिएको छ । स्वास्थ्य ,खानेपानी , शिक्षामा आफ्नो तरिकाले खर्च गर्न सकिएको छ ।

पालिकाका चुनौती के मशसुस गर्नुभएको छ ?

चुनौती भनेको जनचेतना को कमी देखियो । शिक्षा र स्वास्थ्य छ। जनतालाई रूपान्तर गर्न सक्नु नै हाम्रो चुनौती हो । हिजो गोरेटो बाटो हुँदा ठिक थियो अहिले मोटर बाटो छ , मोटर चढ्न पनि पैसा चाइयो। कसरी जनतालाई कसरी धनी बनाउने , कसरी जनताको छोराछोरीलाई राम्रो शिक्षा दिने भने नै मुख्य चुनौती हो।

संघ र प्रदेशसँगको समन्वयको अवस्था कस्तो छ?

केन्द्रिय सरकार, संघीय सरकारले र स्थानीय सरकारको समन्वय एउटै पार्टीको भयो भने राम्रो हुँदो रहेछ होइन भने हँुदैन रहेछ । मैले तीन बर्षको अन्तरालमा भोगेको कुरा मैले गाडी चढदिन भनेर ७२ लाखको एम्बुलेन्स लिने भनेर निर्णय गरें । तर दिएन बरु १०–११ लाखको किने भैहाल्छ नि भनेर दिइएन ।

तीन तहको सरकार नभएर दुइ तहको सरकार मात्रै भएको भए राम्रो हुन्थ्यो ,अनि पियन देखि प्राबिधिकसम्मको राख्ने अधिकार स्थानीय सरकारलाई दिएको भए राम्रो हुन्थ्यो।

Leave a Reply

Latest Posts

spot_img

अहिले