Tuesday, January 18, 2022

गोसाईकुण्ड पर्यटनको पर्याय हो : अध्यक्ष तामाङ

‘गोसाईकुण्ड धेरै कुरामा संभावना बोकेको ठाउँ हो, हामी पालिकालाई फरक पहिचान दिएर नमुना गाउँपालिका बनाउने अभियानमा लागेका छौं’

कैसाङ नुर्पु तामाङ
अध्यक्ष
गोसाईकुण्ड गाउँपालिका– रसुवा

यस गोसाईकुण्ड गाउँपालिकाको वडा नं. ५ मा अवस्थित अति रमणिय पर्यटकीय क्षेत्र गोसाईकुण्ड तालको नामबाट नामाकरण गरिएको गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित छ ।

यस गाउँपालिकाको क्षेत्रफल ९७८.७७ बर्ग किलोमिटर रहेको छ जुन अन्य चार गाउँपालिकाको तुलनामा ठूलो हो । यस गाउँपालिकामा कुल ७ हजार १४३ जनसंख्या रहेको छ ।

प्राकृतिक हिसाबले ज्यादै धनि गोसाईकुण्ड गाउँपालिकाको विशेषता भनेको यस गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज हो ।

त्यसका साथै यस गाउँपालिकामा रहेको गोसाईकुण्ड ताल नेपालीहरुको लागि धार्मिक स्थलको रुपमा पनि परिचित छ । हरेक वर्ष हजारौं नेपाली तथा विदेशीहरु यस क्षेत्रमा घुम्न आउने गर्छन् ।

यस गाउँपालिकामा वडा नं १– थुमन, वडा नं २– टिमूरे, वडा नं ३– बृद्धिम, वडा नं ४– लाङटाङ, वडा नं ५ – स्याफ्रुबेंसी र वडा नं ६– धुञ्चे पर्छन् । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ स्याफ्रुबेंसीमा सञ्चालित छ ।

यो पालिका साबिका ६ वटा गाबिसलाई ६ वटा वडामा गाउँपालिकाको रुपामा रुपान्तरण गरिएको हो । यो गाउँपालिका जिल्ला सदरमुकाम सहित नेपाल र चीन जोड्ने रसुवा गढी नाका र नेपालको तेस्रो पर्यटन गन्तव्य लाङटाङसम्म जोडिएको छ।

यस पालिकको नेतृत्व गरिरहेका पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ पालिकाको विकासको लागि पर्यटनको विकास, कृषि र पशुपालनलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।

उनी शिक्षा क्षेत्रमा पनि पालिका मुलुकै नमुना पालिकाको रुपमा स्थापित बन्ने अभ्यासमा रहेको बताउँछन् । अध्यक्ष तामाङसँग जयदेशकर्मी सुसी थिङले पालिकको विकास, संभावना र अवस्थासँग जोडेर लामो कुराकानी गरेकी छिन्। सम्पादीत अंश यहाँ समेटिएको छ ।

साढे चार वर्ष स्थानीय सरकार नेतृत्व गर्दाको अनुभव कस्तो रह्यो ?

संघीय संरचनामा सबैको लागि नयाँ हो। संघीय ढाँचामा गइसके पछि संविधानले परिकल्पना गरे अनुसार जिम्मेवारी बोकेर हामीले काम गर्ने मौका अवसर पायौं।।

यो अवधीमा हामी सबै नयाँ कानुन बनाउने ,नीति नियम बनाउने लगायतका काम गर्यौं । अवस्था यस्तो थियो कि आफ्नो कार्यालय भवन नभएकोले ,प्रशासनीक भवन केही समय भाडामै चलाउनुपर्ने भएको हामीले धेरै संघर्ष गर्नु पर्यो।

सुरूमा स्थानीय सरकार गाउँको सिंहदरबार हो भनेर बुझाउनु पनि समस्या भयो।

संघीय संरचानको कार्यानवयनमा के त्यस्तो समस्या आयो ?

हाम्रो संघीय ढाँचा अनुसार पहिला संघीय, प्रदेश निर्वाचन,अनि स्थानीय तहको निर्वाचन भएको भए राम्रो हुन्थ्यो किनभने ट्प टु बटम निर्वाचन हुनुपर्नेमा बटम टु ट्प भयो, यसले के समस्या देखियो भने नियम कुनै काम गर्दा कानुन बनाउनु पर्ने भयो।

नियम र कानुन स्थानीय तहमा बनाउदै गर्दा प्रदेश र संघीय निर्वाचन भयो । नेपालको संविधानले के भनेको छ भने कुनै एन कानुन बाझिएको अवस्थामा सो तहको एक तह माथि विशेष गरि संघीय सरकारको नियमलाई मान्य हुने गरि त्यसको कानुन नियम बनेको छ भने त्यसरी लागू हुन्छ ।

संविधानले व्याख्या गरेको हुनाले कारणले गर्दा हामीले जे जे समस्या थियो ,जस्तो थियो ,परिवेश अनुसारको नियम बनायौं तर पछि ढिलो भयो । त्यसले अलि समस्या भयो । यी सबै कुराहरू लाई समग्र रुपमा लिदा अनुभव चाहिँ के भयो भने २० वर्षसम्म जनप्रतिनिधि बिहिन स्थानीय तहहरूमा सुरक्षा र अधिकार सहितको सरकार भएको महसुस दिलाउन सकियो ।

तर जुन खालले फाइदा लिनुपर्ने थियो त्यति सकिएन । फाइदा यो अर्थमा लिन सकिएन कि २ वर्ष जति हामी मात्र होइन सबै स्थानीय सरकारलाई आफ्नो कार्यालय संचालन भवन, प्रशासनिक भवन बनाउन अनि कर्मचारीको समस्या विद्यमान थियो।

किनभने संघमा मात्रै कर्मचारी बस्न खोज्ने, स्थानीय तहमा आउन नमान्ने खालको समस्या थिए। हाम्रो प्रशासनिक कार्यलाई सन्चालन गर्नका लागि हामीसँग भएका कर्मचारीले समूहमा राम्रोसँग लाग्नुभयो। अर्को अनुभव स्थानीय सरकारले गर्नसक्ने कार्यमा अलि बिधि पुराएर योजना बनाउन सकियो भने सिंहदरबारको अधिकार गाउँ गाउँमा पुराउन सकिन्छ भन्ने प्रमाणित पनि गर्यौं।

विकास निर्माणमा के कस्ता उपलब्धी भए ?

विकास निर्माणको कुरा गर्नुपर्दा स्थानीय नागरिकको आवश्यकता र चासो नै सडक संजाल देखियो । त्यसैले पहिलो प्राथमिकता सडक रह्यो। सडक संजालसँग नजिक हुन सकियो भने हरेक कुरामा हामिले अवसर प्राप्त गर्न सकिने रहेछ भने बुझाइ भएकोले पनि हामिले नयाँ सडक निर्माण गर्ने कुरालाई प्राथमिकता दिएका हौं।

त्यस्तै भएका पुरानो सडकहरूलाई नियमित सचालनमा ल्याउने, स्तरोन्नती गर्ने काम गर्यौं। भुकम्पले केही संरचनाहरू क्षति पुराएको थियो। भुकम्प प्रभावित १४ जिल्ला मध्ये रसुवा पनि धेरै क्षति हुने जिल्लामा थियो।

धार्मिक संरचना, सार्वजनिक संरचना, व्यक्तिगत आवास सबै तिर क्षति थियो। ती क्षेत्रलाई कसरी हाम्रो कार्यकाल भित्र सम्पन्न गर्ने र भुकम्प प्रतिरोधात्मक संरचना निर्माणको क्षेत्रमा केही गरौं भनेर लाग्यौं ।

त्यस पछि रसुवागढी नाका यही पालिकामा पर्ने र सिङ्गो जिल्लाको सदरमुकाममा भएकोले हाम्रो पालिकाका नागरिक मात्र्र नभएर अरु पालिकाबाट आएर अस्थायी रूपमा बसोबास गर्ने जनताको मागको पनि सुनुवाइ गर्नुपर्ने हुन्थ्यो ।

जसमा विभिन्न जात, धर्म , लिङ्गको बसोबास गर्ने भएकोले उहाँहरूको पनि आफ्नो खालको पहिचान, अधिकार र स्वतन्त्र माग भएको कारण उहाहरूको मागलाई पनि सम्बोधन गर्ने कोशिस गर्यौं। अर्को स्थानीय स्तरमा भएका विद्यालयहरू जुन पुर्ण रूपमा र आशिंक रुपमा क्षति भयो । ती विद्यालय निर्माण गर्यो । अर्को स्वास्थ्य संरचना चुस्तदुरुस्त निर्माण गरि संचालनमा ल्याउने लगायतका कार्यहरू लाई पनि प्राथमिकता साथ अगाडि बढायौं।

गोसाइँकुण्ड गाउँपालिका पर्यटकीय क्षेत्र भएको हुनाले यहाँका पर्यटकीय गन्तव्य लाई पुनः सन्चालन गर्ने र नियमित गराउने उद्धेश्यका साथ भौतिक पुर्वाधार कार्य देखि लिएर टुरिजम प्रमोसनको लागि प्रर्दशनी गर्ने, मेला ,महोत्सव गर्ने काम गर्दै आएका छौं।

यो क्षेत्र कृषिको लागि पनि राम्रो ठाउँ भएको कारण पनि व्यावसायिक कृषकहरूलाई केही अनुदान ,सहुलियत ऋणमा कार्यक्रम सन्चालन गर्यांै । अर्को कुरा पशुपालनमा पनि राम्रो, चौरी र याकको चिज पाउने ठाउँ पनि हो । चौरीपालक र अन्य पशुपालनलाई विशेष कार्यक्रम संचालन गर्दै आएका छौं।

विशेष गरि व्यवसायिक रूपमा लाग्न प्रोत्साहन कार्यक्रम गर्यौं। अनि ५० प्रतिशत अनुदानमा राम्रो जातको गाई ,बाख्रा ,चौरी पाल्ने किसानलाई सहयोग गयौं।

यसको बजारीकरणमा के पहल गर्नुभयो ?

उत्पादन भएको वस्तुलाई बजारमा पुराउने कुरामा गोसाइँकुण्ड गाउँपालिका भाग्यमानी नै मान्नुपर्छ किनभने नेपालको तेस्रो पर्यटन गन्तव्य हो र रसुवा गढीनाका त्यस पछि सदरमुकाम धुन्चे पर्ने भएकोले हामीले जति पनि अहिले उत्पादन गरेको छौ, त्यो बिक्रि भएन, बजार पाएन भनेर निरास हुनुपर्ने अवस्था आएको छैन।

किनभने यहाँको स्थानीय उत्पादन गोसाइँकुण्डमा आउने नेपाली पर्यटनले लैजाने गरेकाछन् । सामुहिक व्यवसाय गर्नेले आफै वजार व्यवस्थापन गरेर बाहिर पठाउने काम गर्दै आएकाछन्। छुर्पी र अन्य उत्पादनलाई व्यापारी साथीहरूले सम्पर्क गरि बजार व्यवस्था गर्दै आएकाछन्।

अहिलेसम्म बजारको समस्या भएको छैन । धेरै मात्रै उत्पादन भएपछि रसुवाको चिज र छुर्पीलाई विभिन्न मापदण्ड बनाएर नेपाल भर उपलब्ध गराउन सक्छौं। । त्यति धेरै उत्पादन भएको पनि छैन । काठमाडौं र धुन्चे नजिक हुनाले बजारीकरण सहज छ।

पर्यटनको कुरा पटक पटक उठाउनु भयो, यो क्षेत्र पर्यटकीय संभावनाले कस्तो क्षेत्र हो ?

विशेष गरि अन्तरिक पर्यटकको क्रेज छ । उनीहरूको चाहाना अनुसार योजना बनाउन पर्छ। पर्यटकले आफ्नो उद्धेश्य लिएर आउने गर्छन । आफूलाई फ्रेस राख्न र रमाइलो गर्न आउँछन । आन्तरिक पर्यटक विशेष गरि घुम्न र रमाइलो गर्न नै धेरै आउने गरेको पाइन्छ ।

कोही यो ठाउँमा के पाइन्छ भनेर अनुसन्धान गर्न आउँछन् । तर विदेशी पर्यटक चाहिँ के व्यापार गर्न सकिने रहेछ अनि यहाँ विशेष के छ भनेर अध्यन गर्न आउँछन ।

पछिल्लो समय यहाँ व्यवसायी पर्यटन आउने देखिएको छ यसलाइ कसरी व्यवस्थापन गर्ने र बसरी बढावा दिने भनेर विभिन्न कार्य बिधि बनाउने , साथै गोसाईकुण्डमा एउटा जल विद्युत आयोजना भएको हुनाले हाइड्रो पर्यटन पनि भित्र्याउने संभावना देखिन्छ ।

यहाँका विभिन्न लोपउन्मुख प्रजातिका जनावरहरूलाई सरक्षण गर्न सकेमा यसमा पनि पर्यटन भित्र्याउने संभावना छ। हामी परम्परागत तरिकाले मात्रै पर्यटन भित्र्याइ रहेका छौ अब यसलाई आधुनिक तरिकाले पनि पर्यटन भित्राउन सकिने संभावनाको खोजी गर्न सकिन्छ ।

पालिकालाई चिनाउने र फरक पहिचान के ले दिएको छ ?

विशेष गरि गोसाईकुण्डमा अमर सिंह थापाले देहत्याग गरेको ठाउँ हो र दहचोकमा कालु पान्डेको देहत्याग गरेको ठाँउ हो । गोसाइँकुण्डमा यो पहिचानलाई थप प्रष्टाएर प्रचार गर्न सकेमा अझै गोसाइँकुण्ड के हो त भनेर चिनाउन सकिन्थ्यो । पछिल्लो समय यो क्षेत्र रेन्ब्रो ट्राउट माछा पाल्ने ठाँउको रुपमा पनि चिनिइन्छ।

यहाँ भएका साँस्कृतिक सम्पदाहरूलाई सरक्षण गर्ने साथै अरु नयाँ संरचना निर्माण गर्ने साथै पर्यटकीय संभावना भएको ठाउँलाई प्रवद्र्धन गर्न सकिन्छ। यस क्षेत्रमा पालिकाले काम पनि गर्दै आएको छ। साथै होम स्टे , होटेल व्यवसायलाई पनि हामीले प्राथमिकताका दिँदै आएका छौं।

पालिकाको शिक्षा क्षेत्रको अवस्था कस्तो छ ?

यस क्षेत्रमा १५ सामुदायिक विद्यालय र ४ निजि विद्याालय छन् । २ वटा उच्च मा.बि छन् । जम्मा ३ हजार विद्यार्थीहरू अध्ययनरत छन् । गाउँपालिका र जिल्ला बाहिर अध्ययन गर्न जाने विद्यार्थीहरूलाई कसरी रोक्ने उद्धेश्यका कसरी साथ राम्रो शिक्षा दिने भनेर तल्लो तहबाट यसको सुधारमा काम गरिरहेका छौ।

जुन नमुनाको रुपमा २ वटा विद्यालयलाई हेरेको छौं । जहाँ मन्टेश्वरी बिधिबाट पढ्न कार्यबिधि बनाएर लागु गरेको छौ। मुलुकका सबै स्थानीय तहमा पहिलो हाम्रो पहिलो गाउँपालिका होे जहाँ हामीले आफ्नै करिकुलाम बनाएका छौं । यो अहिले कक्षा ७ सम्म लागु छ ।

प्राबिधिक विषय पढ्ने खोज्ने जो डाक्टर, इन्जिनियर अध्ययन गर्ने २ जनालाइ पुरै अध्यन खर्च दिने भनेर बजेट पनि विनियोजन भइसकेको छ। यसमा हामीले कम्तीमा २ वर्र्ष पालिकामा रहेर स्वयंसेवकको रुपमा काम गर्नुपर्ने प्रावधान राखेका छौं। अरु प्राबिधिक विषय पढ्नेहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भनेर योजना बनाएका छौं।

स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?

हाम्रो सदरमुकाम भएको कारणले पहिला नै जिल्ला अस्पताल छ । ६ वडामा ७ वटा स्वास्थ्य चौकी छ। वडा नं ६ मा जनसंख्याको आधारमा २ वटा स्वास्थ्य चौकी बनाएको छ । अर्को एउटा सामुदायिक स्वास्थ्य चौकी निर्माण भैरहेको छ। ६ वटा स्वास्थ्य चौकीमा दक्ष जनशक्ति सहित अक्सिजन राखेको छांै। पाँच वडामा डेन्टल पनि राखेर सेवा दिइएको छ। ल्याव पनि निर्माण गरेको छ। गर्भवती महिलालाई घरमै पुगेर सेवा दिइदै आइएको छ। महिला स्वास्थ्य स्वयमसेविकालाई् प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएका छौं।

बीचमा कोरोना महामारी पनि आयो यसको व्यवस्थापन कसरी गर्नुभयो ?

सदरमुकाम सहितको पालिका भएको कारण महामारीको त्रास बढी थियो । अर्को तिर चीनको नाका थियो। यही अवस्था हेरेर सय बेडको क्वरेटाइन बनायौं र यसलाई निरन्तर संचालन गरियो। पोजिटिभ भए के गर्ने भनेर हाम्रो स्वामित्वमा रहेको भवन थियो, जुन हामीले आइसिलेसनको रुपमा प्रयोग गर्यौं। हामिले चढेको गाडीलाई संक्रमित भएका व्यक्ति र सामना बोक्न प्रयोगमा ल्यायौं । सबै वडामा पर्याप्त साबुन र माक्स बितरण गरियो। प्रत्येक वडामा हेल्थ डेक्स राखियो जसले आवतजावत गर्नेहरुलाई स्वास्थ्य अवस्थाको जानकारी राख्न सजिलो भयो।

योजना छनौटमा सहभागिताको अवस्था कस्तो छ ?

वडामा सिलिङ पठाएको हुन्छ , विषयगत शाखा र विकास समिति हुन्छ , विकास समितिलाई बजेट पठाइसकेपछि यहाँ सर्वसाधारणसँग बसेर माग गरेको गरिन्छ र विषयगत समितिमा छलफल गरेर त्यसलाइए पेस गर्ने गरिएको छ।

पलिकामा आएको परिवर्तनलाई आफैले कति महसुस गर्नुभएको छ ?

विकासको कुरा गर्नुपर्दा स्थानीय तहले जनप्रतिनिधि २० वर्ष पछि पाएको थियो। जनताको आशा धेरै थियो ,जनता ठाँउको ठाँउमै काम भएको चाहान्थे। २० वर्षको अभावलाई पुर्ने काम गरियो। बाटोको कुरा गर्नुपर्दा ८० किलोमीटर निर्माण भयो। निर्माण भएको ४० किलोमिटर सडकलाई निरन्तर गर्यो। ७० प्रतिशत भन्दा बढी भैतिक निर्माण काम भयो। विद्यार्थीलाई विद्यालय ल्याउन भर्णा अभियानलाई निरन्तरता दिइयो । निशुल्क रुपमा जेष्ठ नागरिक लाई सुविधा दिइएको छ। असाह्य र अशक्तलाई पनि पालिकाले सहयोग गर्दै आएको छ। यसले पालिकामा ठूलो परिवर्तनको आभास भएको छ।

स्थानीय सरकार संचालनको चुनौती के पाउनुभयो ?

सबै भन्दा ठूलो चुनौती भन्नुपर्दा कानुन निर्माण गर्न भयो । आवश्यकता अनुसारको जनशक्ति नभएको र पर्याप्त भवनहरु नहँुदा सिमित कोठामै ४–५ जना बसेर काम गर्नु परेको अवस्था थियो ।

निर्माण गर्ने क्रममा आशा धेरै काम छिटो र ठाँउको ठाँउमा मै हुनुपर्ने नागरिकको यो सोंच पुरा हुन सकेन। सोंचे अनुसारको काम गर्न सकिएन । जिम्मेवारी पाइयो तर सोंचेको साथ सहयोग पाइएन । चुनावको बेला प्रतिबद्ध गरेको सबै पुरा गर्यौं भन्दा हुन्छ तर अलि ढिलो भयो।

अर्को कुरा पर्याप्त जनशक्ति हुनुपर्यो , स्थानीय तहलार्य कर्मचारीको पुर्ति गर्ने अधिकार दिनुपर्यो । आवश्यकता अनुसारको जनशक्ति हामिले राख्न दिने अधिकार् हामीलाई नै दिए राम्रो हुन्छ ।

प्रदेश र संघसँगको समन्वयको अवस्था कस्तो छ ?

सरकारले पुर्ण रूपमा अधिकार दिएको छ तर लागू छैन , किन छैन भने सबै कुरामा केन्द्रिय सरकार र प्रदेश सरकारले अंकुश लगाएको छ । संविधानमा व्यवस्था भएको सबै कुरा लागु हुनुपर्ने थियो।

सम्बन्ध पनि पहुँचको कुरामा भर पर्छ किनभने आफ्नो ठाँउ बाट कोही मन्त्री भएको छ भने हाम्रो कुरा सुनुवाइ हुन्छ , यदी पहुँच छैन भने केही हुँदैन केही समन्वय छैन ।

Leave a Reply

Latest Posts

spot_img

अहिले