परराष्ट्रले भन्यो, ‘एनआरएनए निर्वाचनका सबै प्रकृया स्थगित गर्नु’


काठमाडौं–परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघका अन्तराष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी काम स्थगन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले गैर आवासीय नेपाली सम्बन्धी नियमावली, २०६६ को नियम १६ ( २ ) बमोजिम गैर आवासीय नेपाली संघको आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु विधान विपरित सिफारिश भएको आवश्यक अनुगमन गरी वर्तमान वहालवाला राष्ट्रिय समन्वय परिषद्ले मात्र विधानको धारा १३ बमोजिम प्रतिनिधिहरुको सिफारिश र चयन गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद, परिषद्का अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालय तथा सबै राष्ट्रिय समन्वय परिषद्को नाममा निर्देशन जारी गर्न निवेदन आएको उल्लेख गरेको छ।

विधान विपरितका उक्त सिफारिसहरु नसच्चिन्जेल आगामी अक्टोबर महिनामा तय गरिएको महाधिवेशन सम्बन्धी कुनै पनि काम– कारवाही अघि नबढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई निर्देशन दिन गैर आवासीय नेपाली संघका ३ जना सदस्यहरुले माग गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निवेदनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया , जर्मनी , अमेरिका , न्यूजिल्याण्ड , बेल्जियम , साइप्रस , अष्ट्रिया , बेलायत , चेक गणतन्त्र , स्वीजरल्याण्ड , बेल्जियम , स्वीडेन , नेदरल्याण्ड , डेनमार्क , पोर्चुगल लगायतका मुलुकहरुमा समस्या रहेको व्यहोरा उल्लेख गरिएको छ ।

मन्त्रालयले भनेको छ, ‘संघको उद्देश्य , संगठनात्मक प्रतिष्ठा र साख जस्ता विषयहरुलाई ध्यानमा राखी दशौ महाधिवेशनमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्बाचन र सो भन्दा अगाडि भएका राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरुलाई स्वतन्त्र , निष्पक्ष , धाँधलीरहित र विश्वसनीय बनाउन आवश्यक रहेको हुँदा उठेका विवादहरुको समयमै निष्पक्षरुपमा निरुपण हुन जरुरी देखिन्छ ।’

गैर आवासीय नेपाली सम्बन्धी नियमावली , २०६६ को नियम १६ बमोजिम उल्लेखित विषयहरुमा अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति , योजना , विकास कुटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानून , न्याय तथा संसदीय मामिला मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Latest Posts

spot_img

अहिले