बुबाको सम्मानमा…………..

आमा धर्ती हुन् भन्नेहरूले ,बा आकाश हुन कसैले भनेन ।
आमाको कुरा सबैले लेखे ,बाको कथाहरू कसैले लेखेन ।।

आज बुबाको मुख हेर्ने दिन, कुशे औँसी । मैले बुबाको सम्मानमा यी शब्द कोर्दैछु । मैले जस्तै सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो जन्मदाता पितालाई सम्झिने र सम्मान गर्ने दिन– ह्याप्पी फादर्स डे….बा !

आजभोलि फेसबुक भरी सबैले आफ्ना बुबा प्रति सम्मान गरेका अवस्थाका फोटोहरू धेरैले पोस्ट गरेका हुन्छन् । आफ्ना बुबा प्रति गरिएको फेसबुक सम्मान बुबाहरूले बुझेका पनि हुन्छन् । बुढेसकालमा अनपढ बुबाहरू नबुझेका पनि हुनसक्छन्।

देखेका पनि हुन्छन् नदेखेको पनि हुन्छन्। फेसबुक भरी सजिएका अङ्ग्रेजी शब्दहरू रङ्गिन दुनियाँमा मौलाएको सजिलो संस्कृती । बुबाको नाममा पोस्ट भएका यी रङ्गीचङ्गी आकृती ! आजका दिन धेरैले आफ्ना बुबाको बारेमा मन भरिका शब्दहरू कोरेर आफ्नो बुबाको तस्विर पोस्ट गरेका हुन्छन् । शब्दहरू सिँगारिएर मुक्तक कविताहरू कोरेका हुन्छन् ।

म सानो छँदा, यो संसारको सबैभन्दा ठूलो मान्छे मैले आफ्नो बालाई सम्झन्थें । जब म जवान भएँ हरेक कुरामा म आफ्नो बुबालाई कमजोर र झ्याउ देख्थें । आज मेरो छोरा जवान भयो । आज म फेरि मेरो बुबालाई महान् ठान्छु । किनकी मेरो एक खुसीकोलागि बुबाले हजार पटक हार्नु भएको कुरा मैले आफैले महसुस गरेको छु । त्यसैले आज म मेरो बुबा प्रति गर्व गर्छु ।

बैँस र पैसा आफन्त सबै चिज स्थायी होइन । मरेर लैजान सक्ने चिज केही छैन । एक दिन सबैलाई छाडेर जानुपर्ने जिन्दगीमा भाग्यमानी त त्यो हो जसले आफ्नो जीवनको अन्तिम समयमा पनि अरूको बोझ भएर बाँच्नुपर्दैन । सकस ,पीडा बिना , शान्तिले मर्न पाउँछ । उमेर छँदा, शक्ति छँदा, सम्पत्ति छँदा, साथीभाइ छँदा यस्तो नसोचौँ कि जीवन सधैँ यसैगरि नै बिती जानेछ । बैँस, रूप, धन दौलत आफन्त भनेको स्थायी हुँदैन । तपाई जतिसुकै शक्तिशाली हुनुहोस्, जतिसुकै प्रभावशाली हुनुहोस्, जतिसुकै धनी हुनुहोस्, जतिसुकै प्रतिष्ठित हुनुहोस्, बुढेसकालमा ती सबै अर्थहीन हुँदै जानेछ ।

अर्थपूर्ण त त्यो हुनेछ, तपाईले जीवनलाई कति बुझ्नुभयो ? कसरी बिताउनु भयो ? जीवन स्थायी हैन । हाम्रा खुसी, हाम्रा समृद्धि, हाम्रा सम्बन्ध, हाम्रा प्रभाव, हाम्रा सम्पत्ति केही पनि स्थायी छैनन् । यो कुरा बोध गरौँ । जीवनलाई सरल, सहज र मिठासपूर्ण बनाउने प्रयास गरौँ । किनभने भोलि आफ्नो भन्ने केही हुनेछैन, कोही हुनेछैन । जीवनको अन्तिम अवस्थामा साथ र सहारा आफ्नो परिवार हुन् । आफ्ना अभिभावक बुबाआमा प्रति सबैले आदर गरुन् माया गरुन् ।

खाली हात जन्मेर खाली हात जानुपर्ने यथार्थलाई हामी सबैले मनन गरौँ । बाँचुन्जेल मात्र हो जिन्दगी , मरे पछि खरानी । हाम्रो जिन्दगीमा को आए को गए । समयको रफ्तारसँगै जीवनमा तिता मिठा पलहरू आज कुनै कति भुल्न खोजेर पनि भुल्न सक्दैनौं । कुनै सम्झनामा नै हुँदैन । के लाई सम्झौँ के लाई बिर्सौँ ?

जिन्दगीमा कति आत्मीयता जोडियो। कति तोडियो तर पनि हरपल नयाँ नयाँ सोंचमा अनेक पलहरूमा जीवन बित्ने गर्दछ । अब साहित्यमा पनि खोजिरहन्छु ,नयाँ शब्द नयाँ गीत, कविता कथाहरू किन थाक्दैन यो दिमागी खोज ? निरन्तरता यसरी नै बढि रहन्छ । आफूलाई लागेको कुरा लेख्नुपर्छ । अरूलाई पनि शेयर गर्नुपर्छ ।

लेखेका कुरा स्थानीय पत्रपत्रिका अनलाईन खबरमा छापिनुपर्छ । हाम्रा अग्रजहरू जिन्दगीको उत्तराद्धमा बुढेसकालमा सत्तल , मठ मन्दिर, चौतारीमा बुढापाकाहरू भजन गाउँछन् मनका भावनाहरू एक अर्कामा सुनाउँछन् बस्छन् । भगवानको नाम लिन्छन् । समयले फुर्सद बनाई दिएर जिम्मेवारी नदिए पछि बुढेसकालमा मान्छे खुम्चिएर बस्नु पर्ने रहेछ ।

मन दौडिए पनि ज्यान हिड्न नसके पछि, काम भएर पनि जाँगर नचले पछि अरूलाई अह्राएर बस्नुपर्ने हुन्छ । यो कुरा हामीले जवान हुँदा महसुस नै गरेका हुँदैन । यसरी जिन्दगीको आरोह अवरोहमा हामी सन्तान भएर जन्म लिएर आमा बुबाको माया ममता पाउँदै भोलि फेरि आफै आमा बुबाको भूमिका निभाउनु पर्ने हुन्छ । प्रकृतिको नियम यसरी नै चलिरहेका हुन्छन् । आज बुबाको योगदानको कदर गर्दै सबै सन्तानहरूले आफ्नो बुबा, जन्मदाता, पिता प्रति श्रद्धाभावले नमन गरौं –ह्याप्पी फादर्स डे

Leave a Reply

Latest Posts

spot_img

अहिले