गाउँमै स्वास्थ्य संस्था : पिन्दोङडाँडावासीले पाए सामुदायिक स्वास्थ्य एकाइ

काभ्रे– एउटा सिटामोल नपाउने र सानो उपचारका लागि सहर धाउनुपर्ने भौगोलिकरूपमा दुर्गम तेमालको वडा नै ४ माहुरे भञ्ज्याङ क्षेत्रका नागरिकले गाउँमै सामुदायिक स्वास्थ्य एकाइ भवन पाएकाछन् ।

स्थानीयको पहल, दातको सहयोग र सरकारी निकायको समन्वयमा स्थानीयले राज्यले दिने स्वास्थ्य सुविधा गाउँमै पाएका हुन्।

भवन निर्माणको लागि एशोसिएजोन कल्चरले इन क्यामिनो जेनोभा इटली, जामजाम नमस्ते फ्रान्स र इन्टरनेशलन सेन्टर फर द एक्सप्लोरेसन अफ द हिमालयज फ्रान्सले सो भवन निर्माणमा विशेष सहयोग गरेका थिए ।

साथै दाताका सहयोगमा शय्या, अक्सिजन कन्सनट्रेटर र फर्निचरसमेतका सामग्री उपलब्ध गराइएको सहयोग जुटाउन सक्रिय स्थानीय पर्यटन व्यवसायी राजेश लामा तामाङले जानकारी दिए ।

तामाङका अनुसार एक शौचलाय र वाथरुमसहित चारकोठे आरसीसी सो भवन बनाउन इटलीका अम्बु गेब्रियले ५ लाख ६६ हजार रुपैयाँ, फ्रान्सका मौरिस डुचेनले चार लाख ५३ हजार रुपैयाँ, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते संस्थाले नौ लाख २० हजार रुपैयाँ तथा अमेरिकामा रहेका शङ्कर लामाबाट एक लाख रुपैयाँ सहयोग आएको थियो।

भवन निर्माणमा स्थानीय जनश्रमदान गरेको र यसअघि वडा र गाउँपालिकाले प्रारम्भमा रकम उपलब्ध गराएका थिए । भवन बनाउन आवश्यक नौ आना जग्गा स्थानीय विष्णुलाल श्रेष्ठले निःशुल्क उपलब्ध गराएका हुन् ।

“गाउँमा बस्ने वातावरण बनाउन स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिमा जोड दिनुपर्छ, यहाँको स्वास्थ्य संस्थाको संरक्षण र सञ्चालनमा निरन्तर आवश्यक सहयोग अझै जुटाउँदै जान्छौ”, सहयोग संयोजन गरिरहेका तामाङले भने ।

भवनको शनिबार शुभारम्भ भएको छ । उद्घाटन गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङ र फ्रान्सका मौरिस डुचेनले संयुक्त रुपमा गरे ।

गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने अभिप्रायले सो एकाइमा एक स्वास्थ्य सहायक, एक अनमी र एक कार्यालय सहयोगीसहितको जनशक्ति र औषधिको प्रबन्ध गरी तत्काल सेवा सुरु गरिने गाउँपालिकाका अध्यक्ष सलामसिंहले बताए । उनले दुर्गम बस्तीका बासिन्दाले जागरुक भएर सेवा लिनुपर्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले बस्ती र भूगोलले टाढा भए पनि घरआँगनबाट सेवा दिनुपर्छ भनेर उक्त स्वास्थ्य एकाइ स्थापना गरिएको तर पूर्वाधार, जनशक्ति भएपछि स्थानीयवासी सेवा लिन नआए सुविधा कटौती हुनसक्ने बताइन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत केदार ढकाल, उपभोक्ता समितिका अध्यक्ष इन्द्रजीत लामा, वडा स्वास्थ्यचौकीका इन्चार्ज चन्द्रसिंह तामाङ, चन्द्रसिंह तामाङ, सिद्धिबहादुर श्रेष्ठ र पेमा दोर्जे लामालगायतले सानो उपचार गर्न कठिन हुने दुर्गम बस्तीमा स्वास्थ्य सेवा उपलब्ध गराइनु सराहनीय कार्य भएको धारणा राखेका थिए ।

Leave a Reply

Latest Posts

spot_img

अहिले