क्रियाशिल सदस्यको बारेमा जानकारी नपाउने कस्तो आन्तरिक लोकतन्त्र हो : केसी

जगदिश्वर नरसिंह केसी
नेपाली कांग्रेस
जिल्ला सभापति , नुवाकोट

हामी प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस् ।

क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस् ।

र सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस् भन्ने माग सहित आज (बुधबार) देखि रिले अनसनमा छौं ।

स्वाभाविक रुपले पुरा हुनसक्ने हाम्रा तीन बुँदे मागलाई पार्टीले वेवास्ता गर्यो । हाम्रा माग पुरा नहुँदासम्म रिले अनसनलाई निरन्तरता दिन्छौं । हाम्रा मागको सन्दर्भमा पार्टीका वरिष्ठ नेताहरुको पनि सहमति छ ।

जिल्ला सभापतिहरुको निर्वाचन सबैमा महाधिवेशन प्रतिनिधिबाटै गर्नुपर्छ भन्ने बैधानिक व्यवस्था हो । सबै जिल्लालाई समान रुपले हेरिनुपर्छ ३५ जिल्लाका सभापतिहरु महासमिति सदस्य हुन पनि नपाउने, ति जिल्लामा सभापतिमा प्रतिस्पर्धा गर्नेले महाधिवेशन प्रतिनिधि हुन पनि नपाउने, पाँच वर्षसम्म बुँथ प्रतिनिधि भएर बस्नुपर्ने यो प्रकृया गलत हो ।

कम्तिका महाधिवेशन प्रतिनिधिबाट प्रतिस्पर्धा गर्ने हो भने उ महासमितिको सदस्य पनि हुनसक्छ, सभापति जित्ने, हार्ने पनि हुनसक्छ । यो व्यवस्था भए व्यक्ति पार्टीको लागि उर्जाशिल भएर काम गर्नसक्छ । यो नेतृत्वले बुझ्न नसक्ने असहज कुरा होइन ।

८ लाख ५२ हजार क्रियाशिल सदस्य जुन महाधिवेशनको लागि मतदान गर्न पाउने हुन, उनीहरुले आफ्नो नाम मतदाता नामावलीमा छ भन्ने गयारेन्टी हुनुपर्यो र मतदाता नामावलीमा संसोधन र दावी बिरोधको व्यवस्था हुनुुपर्छ । तलबाट आएका मागको सुनुवाइ होस् ।

केन्द्रबाट प्रविधिको दुरुपयोग गरेर थपिएका नाम हटाइयोस् । केन्द्रबाटै क्रियाशिल सदस्यको नाम थप्ने काम नियम , पद्धति र कांग्रेको विधान विपरित छ , केन्द्रिय समितिको निर्णय विपरित छ । हामीले सबै जिल्ला सभापति र ५० लाख कांग्रेसका साधारण सदस्यको प्रतिनिधित्व गरेर रिले अनसनमा बसेका छौं । जबसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म हामी निरन्तर बस्छौं ।

हामी शान्तिपूर्ण आन्दोलनमा छौं, शान्तिपूर्ण आन्दोलन प्रति हाम्रो आस्था र विश्वास छ । यसमा दम छ । कांग्रेस जिल्ला सभापतिले आफ्ना क्रियाशिल सदस्यता पत्ता लगाउन रिले अनसन गर्नुपर्ने दुर्भाग्यको दिन आयो । अहिलेसम्म नेपाली कांग्रेसको इतिहासमा यस्तो परिस्थिति थिएन ।

यो संस्थापन पक्षका नेताले बैधानिक रुपमा पार्टी कब्जा गर्ने प्रयास भएको छ । हामी पार्टीलाई कसैले प्रयोग गर्ने प्रयास भए त्यसको विरुद्धमा छौं । हाम्रो यो मागलाई कसैले अन्यथा सोंच्न जरुरी छैन ।

हाम्रो अभियान नै कांग्रेस एक बनाउन हो । हामी विभिन्न परिवर्तनलाई संस्थागत गर्न नेतृत्व गरेको हौं । पार्टी भित्रको लोकतन्त्र खोज्नुपर्ने भएको छ । पार्टीको आन्तरिक लोकतन्त्र र विधिको लागि फेरि एक पटक लड्नुपर्ने भएको छ ।

(विभिन्न माग राख्दै कांग्रेस मुख्यालय सानेपामा रिले अनसनमा सहभागी केसीसँगको कुराकानीमा आधारित)

Leave a Reply

Latest Posts

spot_img

अहिले