नगरका हरेक टोललाई सुविधा सम्पन्न मौलिक ‘सिटी’ को परिकल्पना गरेका छौं : मेयर राना

प्राविधिक सीप र शिक्षा, प्रविधिसँगै मौलिक खालको कृषि उत्पादन, उद्यमशिलताको विकास, शिक्षा, स्वास्थ्य, सडक, विद्युत लगायतका पूर्वाधार सम्पन्न नगर बनाउने अभियानमा हिँडिरहेका छौं ।- हरि कुमार राना -मेयर, अर्जुनधारा नगरपालिका, झापा

हामी आउने बेलासम्म यो अर्जुनधारा नगरपालिका क्षेत्र विकास निर्माण धेरै पछाडि परेको क्षेत्र थियो । यो पालिकालाई छोएर जाने पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) भएपनि यस नगरपालिकाको उत्तरी क्षेत्र इलामसँग जोडिएका केही वडा पहिरो प्रभावित क्षेत्र पनि छन् । हामीले यस क्षेत्रको विकासको लागि पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यसँग जोडिएका योजनालाई प्राथमिकतामा राख्यौं ।

कृषिमा जोड

अर्को तिर कृषिमा आधारित नगरपालिका भएकोले कृषिको समुचित विकासको लागि पनि योजना अगाडि सार्दै आएका छौं । कृषिमा विषादी रहित उत्पादन प्रर्वधनको लागि आइपिएम कक्षाहरू संचालन गर्दै आएका छौं ।

कृषि क्षेत्रको विकासको लागि विभिन्न गैरसरकारी संस्थासँगको समन्वयमा हामीले विषादी रहित उत्पादनको क्षेत्रमा सहयोग पुराउँदै अएका छौं । दुध, पन्छी, माछामासु, अन्न लगायतमा आत्मनिर्भर बनाउनको लागि हामीले हाम्रो योजना मार्फत प्राथमिकता दिएका छौं ।

सबै एकै पटक सुरु गर्ने संभावना रहँदैन । आर्थिक वर्ष ०७५÷०७६ बाट हामीले वडा नं २ बाट दुधको चिलिङ सेन्टर बनाउन सुरु गरेका छौं ।

प्राविधिक शिक्षामा जोड

शिक्षाको सवालमा प्रविधिमैत्री शिक्षाको कुरामा जोड दिएका छौं । हाम्रोमा इन्जिनियरिङ अध्ययन गराउने एउटा माध्यामिक विद्यालय पहिले देखि नै थियो । कृषि र पशु सम्बन्धि अध्ययनको लागि हामीले पहल गरिरहेका छौं । केही प्राविधिक कारणले सफल हुन सकेका छैनौं ।

हामीले विद्यार्थीलाई खेतमै लगेर कृषि अभियान चलाउँदै आएका थियौं तर कोरोनाका कारण गत वर्ष र यस वर्ष संभव भएको छैन ।

उर्लावारीमा रहेको मदन भण्डारी इन्जिनियरिङ कलेज र नर बहादुर कर्मचार्य प्राविधिक कलेजसँग समन्वय गरेर ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएर नगरका विद्यार्थीलाई प्राविधिक अध्यापन गराउने व्यवस्था गरेका छौं ।

द्वन्दको समयमा ज्यान गुमाएका शहीद परिवार, अपांगता भएका लगायतका परिवारको शैक्षिक अवस्था सुधारको लागि सामान्य भएपनि सहयोग गर्दै आएका छौं ।

स्वास्थ्य संस्था तथा स्वास्थ्य क्षेत्र व्यवस्थापन

कोरोना महामारीको समयका केन्द्रीय सरकारले व्यवस्था गरेका र निर्देशन गरेका क्वारेन्टाइन, आइसोलेसन, अस्थाइ अस्पताल लगाएतका काममा सक्रियता देखाउँदै आएका छौं ।

आजसम्म १८ सय भन्दा बढी संक्रमित भएको अवस्था छ , अहिले पनि साढे ३ सय भन्दा बढी सक्रिय संक्रमित छन् । ३० जनाले ज्यान गुमाएको अवस्था छ ।

हरेक खोप केन्द्र, शहरी विकास केन्द्र ,स्वास्थ्य चौकी निर्माण भएकाछन् ।

परम्परागत पेशा तथा व्यवसायको संरक्षण

परम्परागत पेशाको संरक्षण र प्रवर्धनको लागि ढाकाका सामान, सांस्कृतिक सामाग्रीको व्यवस्थापन गर्ने काममा लक्षित समुदायलाई प्राथमिकतामा राखेर योजना बनाएका छौं ।

पूर्वाधार विकास

गतवर्षसम्म १ सय १६ पुलको निर्माण गरिसकेका छौं । यस वर्ष १३ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसक्छौं । साविकका ३ वटा गा.वि.सका आफ्ना भवन भएपनि बाँकी ८ वटा वडामा थिएन । हामीले आउदो कात्तिकसम्मा सबै वडामा वडा कार्यालय निर्माण कार्य सम्पन्न हुने क्रममा छन् ।

नगरका सडकहरू विभिन्न विभुती र सामाजिक रुपमा योगदान पुराएका व्यक्तित्वको नाममा नामाकरण गरिरहेका छौं । गत वर्षसम्म हरेक वडामा हामीले आधा किलोमिटर सडक कालोपत्रे गरेका थियौं । यस वर्ष देखि सबै वडामा कम्तिमा एक किलोमिटर सडक कालोपत्रे गर्ने योजनामा छौं ।

यसरी नगरपालिकाले आफ्नै योजनामा बनाएका २५ किलोमिटरको हाराहारीमा सडक बन्दैछ । कालोपत्रेका अलावा नगर भित्रका १ सय ८५ किलोमिटर धुलौटे बाटोलाई बलौटे बनाउने काम परारको वर्षसम्म भएको थियो ।

कोभिडका कारण बाँकी रहेको ५५ किलोमिटर सडक बलौटे बनाउने काम सकिएको छैन । कात्तिकसम्ममा त्यसलाई पनि सम्पन्न गर्ने योजनामा छौं ।

हरेक टोल नगर सिटी

हामीले ११ वडालाई ५५ टोलमा रुपान्तरण गरेका छौं । हाम्रो परिकल्पनाले ति ५५ टोल सिटीको रुपमा रहने छ । टोलमै स्वास्थ्य चौकी, विद्यालय, रिफ्रेस्मेन्ट सेन्टर, खेल मैदान, मनोरञ्जन देखि आर्थिक उपार्जनका क्षेत्र हुने हाम्रो परिकल्पना छ ।

तर राज्यको नीतिका कारण हामीलाई केही गाह्रो पारेको छ । जग्गा जमिन बेच्नु हुँदैन भनेको छ तर अंशवण्डा गर्ने छुट कायमै छ । त्यही छुटका कारण उर्वरभूमि बलौटेकरण भएको छ ।

यसलाई पनि स्थानीय तहले सिफरिस दियो भनेर दोष थोपरिएको छ । एकाघरका आएर अंशवण्डा माग्दा हामीले सिफारिस दिने कि नदिने ?

एउटा जमिन ५ टुक्रामा बाँडिन्छ , त्यही जमिन उसका छोराछोरीको नाममा सारेर २५–३० टुक्रामा बाँडिन्छ र वर्षमा एक पटक जग्गा बेच्न पाउने व्यवस्थामा टेकेर सबै जमिन घडेरीमा जान्छ ।

यसलाई कसले बुझ्ने ? स्थानीयलाई मात्र दोष दिएर पुग्दैन ।

अनुदान हैन प्राविधिक र प्रविधि

संघ र प्रदेशले दिएको अनुदानलाई रोक्न सकेका छैनौं तर स्थानीय तहले अनुदान वितरणको काममा रोक लगाएको छ । अनुदान वितरण गरिएका योजना कागजमा मात्र देखिए ।

अहिले हरेकको घर घरमा पुग्दा खेतमा हैन, खेती कागजमा हुँदो रहेछ भनेर नगरले प्राविधिक र प्रविधिमा सहयोग गरिरहेको छ । अनुदान दिएको छैन । उत्पादन बढाउने हो भने किसानको उत्पादनले मूल्य पाउनुपर्छ, बजार पाउनुपर्छ ।

हामीले दिएका सुविधा एकाध किसान भन्दा पनि सबै किसानले लाभ लिने गरि सहयोग गर्दै आएका छौं । हामीले अहिले प्रविधिको प्रयोग गरेर मौलिक किसिमका उत्पादनलाई प्राथमिकता दिने क्रममा छौं । परम्परा देखिका वालीको संरक्षणमा लागिरहेका छौं ।

ऐनका तगारा

कर्मचारी पर्याप्त मात्रामा नभएको कारण समयमा काम सम्पन्न गर्न नसकिएको अवस्था छ । नगरका काम गर्ने निजामति कर्मचारीको नियमसंगत तरिकाले स्तरवृद्धिको समय पुगेकै भएपनि स्तरवृद्धि गर्न सकिरहेका छैनौं ।

संक्रमणको कारण स्थानीय ऐन बनाउन नसक्दा यस्ता प्रशासनिक काममा व्यवधान खडा भएको छ ।

संघले कर्मचारीको तलब भत्ता बढाउने काम मात्र गर्यो, अरु कुरामा ध्यान पुरा दिएन । तालिम, क्षमता विकास लगायतमा सहयोग हुन सकेको छैन ।

केन्द्रीय सरकारको निजामती ऐनमा भएका व्यवस्था अनुरुप प्रदेश र स्थानीय ऐन बनाउनुपर्नेमा त्यो अनुसार नहुँदा कर्मचारीमा उत्साह देखिएको छैन।

स्थानीय तहलाई स्वायत्त भनिएपनि स्थानीय तहका अधिकार भनिएकालाई पनि साझा अधिकारमा गाभिएकोले यसको कार्यान्वयनमा केही अफ्ठ्याराहरु छन् ।

यसको कार्यान्वयनको लागि संघले ऐन बनाएर प्रदेशलाई दिने र प्रदेशले ऐन बनाएर स्थानीयलाई दिने, पाँच वटा मन्त्रालयका बाहेकका फाँट शाखा स्थानीयमा आउने भन्ने कुरा छ तर हुन सकेको छैन ।

जलस्रोत, सडक, पूर्वाधार, भूमि सुधार, उद्योग, वन लगायतका फाँट शाखा आउनुपर्ने हो तर केन्द्र र प्रदेशले ऐन बनाउन सकेका छैनन् जसले जनताले स्थानीय सरकारको खास महसुस गर्न पाएका छैनन् ।

संविधान त बन्यो तर यसलाई जिवन्त राख्न ऐन बन्ने कुरामा चासो देखिएन । शिक्षा, भूमि, वन लगायतका ऐन पुरानै छैन । यस्ता प्राविधिक समस्या समाधान गरे सहज हुने थियो । हिजो कै ऐन चलाउन प्राविधिक समस्या छन् , यसले सोंचे जस्तो काम हुन सकेको छैन ।
(मेयर रानासँगको कुराकानीमा आधारित)

Leave a Reply

Latest Posts

spot_img

अहिले