पर्यटन चिनाउँदै सामाजिक सञ्जाल

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यानटाङ सामुदायिक वनस्थित थुम्काइलो डाँडो । देशकै प्रमुख पृथ्वीराजमार्ग नजिकैको डाँडोमा चिलाउनेको रूखमाथि एउटा काठको घर बनाइएको छ । रूखलाई भित्रपट्टि पारेर काठले बनाइएको घर छ, दुई तलाको । छानोसमेत काठैले छाएको यो घरको नाम ‘ट्री हाउस’ राखिएको छ ।

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘ट्री हाउस’ यतिबेला भाइरल बनेको छ । फेसबुक र टिकटकमा देखेपछि म्याग्दे–३ जामुने निवासी इन्दु श्रेष्ठको मन पनि लोभियो । जसले पनि ‘ट्री हाउस’ पुगेको फोटो र भिडियो अपलोड गर्दा कहिले पुगूँ भएको थियो उनलाई । तस्बिर खिचाउनैका लागि भए पनि साथीसँग घुम्ने चाहना भएको उनले बताइन् । “अरूको देख्दा आफूलाई पनि यहाँ फोटो खिच्ने धोको थियो त्यै भएर साथी मिलेर आयौँ”, उनले भनिन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँमा रूखमा बनाइएको घर नौलो गन्तव्य भएकाले धेरैको मन जितेको उनको बुझाइ छ । साथीभाइ र परिवारसँग ‘रिफ्रेस’ हुनलाई यो गन्तव्य उपयुक्त हुने उनले बताइन् ।

इन्दु जस्तै सामाजिक सञ्जालमा देखेकै भरमा यहाँ घुम्न आउने आन्तरिक पर्यटक दैनिक बढिरहेका छन् । निर्माण सम्पन्न नहुँदै दैनिक दुई सयभन्दा बढी पर्यटक ‘ट्री हाउस’ घुम्न आउने गरेको ज्यानटाङ सामुदायिक वनका अध्यक्ष ईश्वरबहादुर रानाभाटले जानकारी दिए । “रूखमा बनेको घर सम्पन्न भएको छैन । उद्घाटन पनि नहँुदै घुम्न आउने पर्यटक बढेका छन्”, उनले भने, “यति चाँडो यसरी पर्यटक बढ्लान् भन्ने अपेक्षा नगरिए पनि सामाजिक सञ्जालले ‘ट्री हाउस’ लाई पर्यटकीय गन्तव्य बनाउन सघाएको छ ।”

‘ट्री हाउस’ले जस्तै चर्चा बटुलेको छ म्याग्दे गाउँपालिका–५ थाङ्दीमा रहेको थाङ्दी झरनाले पनि । सुनसान खोँचमा रहेको झरनाको सुन्दरता नियाँल्न पुग्नेको यतिबेला दैनिक भीड छ । तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्नेको तँछाडमछाड नै देखिन्छ ।

निषेधाज्ञाको समेत वास्ता नगरी आन्तरिक पर्यटक झरनामा पुगिरहेका छन् । कान्छी बाराही मन्दिरसँगै रहेको झरना आन्तरिक पर्यटकीय गन्तव्य बनेको छ । झरनाको दृश्य नियाँल्न र चिसो पानीमा डुबुल्की मार्न आउने आन्तरिक पर्यटकको ओइरो छ ।

तीन वर्षदेखि चर्चामा आएको झरनामा यो वर्ष झनै पर्यटक वृद्धि भएको छ । पर्यटक बढ्नुको श्रेय सामाजिक सञ्जाललाई दिन्छन् स्थानीयवासी अमृता भट्टराई । झरना पहिलेदेखि नै थियो तर गुमनाम थियो । पछिल्लो तीन वर्षमा सामाजिक सञ्जालकै भाषामा भन्ने हो भने भाइरल भयो । भट्टराई भन्छन्, “टिकटक, फेसबुकले त भाइरल नै बनायो । जो आउँछन् टिकटकमा भिडियो बनाएर हाल्छन् । फेसबुकमा फोटो राख्छन् । झरना राम्रो छ । टिकटक, फेसबुकमा हेर्ने जो कोहीलाई पनि लोभ्याउँछ र उनीहरु पनि घुम्न आउने क्रम बढ्दो छ ।”

शनिबार झरनामा आउने पर्यटकको भीडभाड अन्य दिनको तुलनामा बढी हुने उनले जानकारी दिए । “झरनामा आउने युवायुवती धेरै हुन्छन् । झरना आउनु धेरैको उद्देश्य हुन्छ फोटो र भिडियो सामाजिक सञ्जालमा हाल्ने”, उनले भने ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता ह्वात्तै बढेका छन् । मानवजीवनको आधारभूत आवश्यकता जस्तै बनेको छ इन्टरनेट र सामाजिक सञ्जाल यतिबेला । बालकदेखि ज्येष्ठ नागरिकसम्म भेटिन्छन् सञ्जालमा । जीवनको अपरिहार्य आवश्यकता जस्तै बनेको सामाजिक सञ्जालको नकारात्मक पक्ष बढी चर्चा हुन्छ तर सकारात्मक पक्ष पनि उत्तिकै छन् ।

समाजमा लुकेका प्रतिभादेखि पर्यटकीय गन्तव्यलाई चर्चित बनाएर फेरबदल गर्नसक्ने क्षमता देखाएको छ सामाजिक सञ्जालले । सामाजिक सञ्जालकै कारण गुमनाम जस्तै तनहुँको मानुङकोट गत वर्षदेखि चर्चित पर्यटकीय गन्तव्यमा दर्ज भएको छ । टिकटक, फेसबुक, युट्युब र इन्स्टाग्रामले गत वर्षको दशैँपछि व्यास नगरपालिका–५ मा रहेको मानुङकोटलाई निकै चर्चित बनाइदियो ।

महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानुङकोटको डाँडो अवस्थित छ । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको मस्त दृश्यपान गर्न लालायित आन्तरिक पर्यटकको भीडले गत वर्ष इतिहास नै रच्यो । कोरोना कहरको बेवास्ता गर्दै एकै दिन दश हजारभन्दा बढी मानुङकोटको डाँडो उक्लिए ।

बादलमाथि हुने सूर्योदय र आफू एउटै सतहमा भएजस्तै देखिने तस्बिर सामाजिक सञ्जालभर छ्यापछ्याप्ती आउन थालेपछि देशभरका पर्यटक यहाँ ओइरिएका थिए । सायद हजाराँै वर्ष अगाडिदेखि नै सुन्दर थियो यो स्थान तर अहिले चर्चित बनाउने काम सामाजिक सञ्जालले गरे ।

मानुङकोटमा असोजदेखि फागुनसम्म पर्यटकको भीड नै रह्यो । सुनसान रहने मानुङकोटमा अरू समय पनि पर्यटक बढेको स्थानीय बताउँछन् । “हामी जनप्रतिनिधि निर्वाचित भएर आएपछि मानुङकोट पहिचान गरी पर्यटकीय गन्तव्य बनाउन जुटिरहेका थियौँ ।

पूर्वाधार निर्माणको चरणमा थियौँ । प्रचारप्रसारमा पनि हाम्रो ध्यान थियो तर गत वर्ष दशैँपछि पर्यटकको सङ्ख्या हवात्तै बढ्यो । यसरी एक्कासि पर्यटकको सङ्ख्या बढ्नुकाा कारण सामाजिक सञ्जाल नै हो,” व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले भने ।

सामाजिक सञ्जाल हुँदैनथे भने पर्यटकको सङ्ख्या थोरैले बढ्दै गए पनि यसरी एक्कासि नबढ्ने उनको विश्लेषण छ । सही सदुपयोग भए पर्यटन प्रवद्र्धनको गतिलो माध्यम सामाजिक सञ्जाल हुने मानुङकोटले पुष्टि गरेको श्रेष्ठ बताउँछन् । बसाइँसराइले रित्तिएको डाँडोमा पर्यटक बढ्न थालेपछि गाउँ फर्किने बढेका छन् । डाँडामा लगानी गर्न निजी क्षेत्रसमेत आकर्षित भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा पनि यो वर्षदेखि आन्तरिक पर्यटक भरिन थालेका छन् । भर्खर पहिचान भएको र पूर्वाधार विकासमा बामे सार्दै गरेको एक्लेडाँडाको फोटो, भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पर्यटक बढेका हुन् । बिहानको हिँडाइ (मर्निङवाक) देखि बेलुका टहल्नसमेत मानिसहरु यहाँ आउन थालेका छन् । दिउँसो साथीभाइसँग आउने पर्यटकको त झन् कुरै भएन ।

तनहुँको पर्यटनमा बन्दीपुर एउटा ब्रान्ड हो । बन्दीपुरबाहेक तनहुँमा घुम्ने ठाउँ छैन भन्ने धारणामा परिर्वतन ल्याइदिएको छ सामाजिक सञ्जालले ।

न्यून सङ्ख्यामा पर्यटक पुग्ने तर पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्लाको छिम्केश्वरी, आडीमूल, हिलेखर्क, ऐनापहरा झरना, बन्दीपुरको सिद्धगुफा, टुटेपानी, भिमादको सिद्ध गुफा र चमेरे गुफा, व्यास पराशर क्षेत्र, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, एक्लेडाँडा, भुजिकोट, मिलेनियम गुफा, ढोर मूलकोट दरबार, गलेखामकोटलगायतका गन्तव्यलाई प्रवद्र्धन गर्न सामाजिक सञ्जालले सघाएको छ ।

जिल्लाका केही होटेल व्यवसायीले पनि सामाजिक सञ्जाल केन्द्रित पूर्वाधार थपेर पाहुना आकर्षित गरिरहेको पाइन्छ । फोटो खिच्ने ठाउँ आकर्षित बनाउन सानाठूला सबै होटेलमा लगानी वृद्धि भइरहेको छ ।

पर्यटन प्रवद्र्धनमा पछिल्लो समय सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको पर्यटनविद् एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउनुहुन्छ । “कोभिडका बेला सामाजिक सञ्जाल झनै प्रभावकारी बनेको छ”, उहाँले भन्नुभयो, “तर कहिलेकाहीँ सामाजिक सञ्जालमा तस्बिर भिडियो देखेर पुगेका पर्यटकले सोचेअनुरुप नदेख्दा गलत सन्देश प्रवाह हुनसक्छ ।

पछिल्लो समय सञ्चारकर्मीको कलम र क्यामेराले समेत पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइरहेकाले पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको गुरुङले उल्लेख गर्नुभयो । “जति प्रचारप्रसार हुन्छ त्यति नै पर्यटक भित्रिन्छन्”, उहाँले भन्नुभयो, “कतिपय गन्तव्यमा सामाजिक सञ्जालमा भाइरल भएर पर्यटक आउन थालेपछि बल्ल पूर्वाधार विकासको चरण शुरु भइरहेको छ ।”

पर्यटन प्रवद्र्धनसँगै विपन्नको आडभरोसा पनि सामाजिक सञ्जाल बनेको छ । आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारमा आर्थिक सङ्कलन, भोकालाई खाना र नाङ्गालाई नानाको प्रबन्ध मिलाउनसमेत सामाजिक सञ्जाल प्रभावकारी ठहरिएको छ । वर्षांैदेखि हराएकालाई परिवारसँग पुनः मिलन गराउने माध्यम पनि सामाजिक सञ्जाल भएको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दा यस्ता रचनात्मक काममा सहयोग पुग्ने यो एउटा गतिलो उदाहरण पनि हो । –कृष्ण न्यौपाने / रासस

Leave a Reply

Latest Posts

spot_img

अहिले