मेयरको मुडमा ऐन बन्दा गान्धी स्कुल समस्यामा

काठमाडौं–कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आफनो व्यक्तिगत अभिष्ट पुरा गर्नका लागी नगरपालिकाको ऐनलाई गलत ढंगबाट बनाउदा विद्यालयहरुमा समस्या देखिएको सरोकारवालाहरुले बताएका छन् ।

सो नगरपालिकाको वडा नं ९ मा रहेको गान्धी आदर्श माध्यामिक विद्यालयको व्यवस्थापन समिति र प्रधानाध्यापक परिवर्तन गरेको विषयलाई लिएर नेपाली कांग्रेसले विगत एक साता देखी आन्दोलनमा छ ।

पहिलो चरणको आन्दोलन अन्तर्गत बुधवार सातौ दिनको विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति उपेन्द्र कार्कीले आफु हावी हुनका लागी मेयर थापाले नगरको शिक्षा ऐन नै गलत बनाएको दावी गरे ।

उनले भने ‘ मेयर थापाले आफुलाई जे गर्दा अनुकुल हुन्छ त्यस्तै गर्नका लागी नगरको शिक्षा ऐनलाई तोडमोड गर्नु भयो, मुल समस्या नै यही हो । पटक पटक यस्तो नगर्नुहोस र सच्च्याउनुहोस भन्दा पनि उहाँले मान्नु भएन । जसले गर्दा गान्धी स्कुल जस्तो नमुना विद्यालय पनि अहिले संकटमा परेको छ ।’

वडा नं ९ इकाईका सभापति अनिल थापाले महाधिवेशनका कारण आन्दोलनको स्वरुप परिवर्तन गरिएको र यो विचमा पनि आन्दोलनका कार्यक्रम जारी नै रहने बताए । उनले भने‘मेयर थापाले यती धेरै आन्दोलन गर्दा पनि अटेरी गरिरहुन भएको छ । यसबाट गम्भिर परिणाम उत्पन्न हुन सक्छ, यसको जिम्मेवारी उहाँ आफैले लिनु पर्ने हुन्छ । ’

सो विरोध सभामा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका स्थानिय नेताहरुको पनि उपस्थिति थियो । विद्यालयको नया शैक्षिक सत्र शुरु भइसकेकाले अनावश्यक रुपमा ब्यवस्थापन समिति र प्रधानाध्यापक परिवर्तन गर्ने विषय कुनै पनि हालतमा मान्न नसकिने कांग्रेसले बताउदै आएको छ ।

शिक्षकको रोकिएको तलव दिने, अनावश्यक सरुवा रोक्ने लगायतका माग उठाउदै नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ इकाई विरोधमा उत्रेको छ । आफुले उठाएका माग सम्बोधन नभएसम्म मेयर विरुद्धको आन्दोलन नरोकिने कांग्रेसले जनाएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं