Sunday, July 25, 2021

मन्त्रिपरिषद् विस्तार,आफ्नैलाई मिलाउन देउवालाई सकस

काठमाडौं–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मन्त्री छान्नै हम्मेहम्मे परेको छ ।

माओवादी केन्द्र, एमालेको नेपाल समूह, जसपाको दुई समूह, राष्ट्रिय जनमोर्चाको सहयोगले सरकारमा पुगेको कांग्रेसलाई विधान अनुसार बनाउन मिल्ने २५ मन्त्रालय भित्रको बाँडफाँडमा गाह्रो पर्ने देखिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई पहिलो चुनौती कुन दलको भागमा कति पार्ने भन्ने कुरा त छँदै छ आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पार्ने भन्ने अर्को फसाद छँदै छ ।

दलगत हिसाब हेर्दा कांग्रेसले मुस्किलले ८ मन्त्रालय राख्न सक्ने अनुमान छ । त्यसमा कानुनमा ज्ञानेन्द्र बहादुर कार्की र गृहमा बालकृष्ण खाँड गइसकेका छन् । तसर्थ पनि देउवाले पार्टी भित्रका पाँच मन्त्री खोज्ने बाध्यता छ ।

कांग्रेस भित्र गुटगत भागवण्डा मिलाउनु फलामको चिउरा चपाउनु जस्तै हो । उनलाई आफ्ना गुटका नेता मिलाउनु त छँदै छ, पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनु पर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

उनले आफू निकटका डा. नारायण खड्का, डा. डिला संग्रौला, पुष्पा भुसाल, मीन विश्वकर्मा, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, विनोद चौधरी, भरत शाह लगायतलाई चित्त बुझाउनु पर्नेछ ।

यसैगरी पौडेल समूहबाट डा.शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइरालामध्ये एक जना हुने गरी उपप्रधानसहितको दाबी गरिरहेका छन् । त्यस्तै डा.मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सञ्जय गौतम, तेजुलाल चौधरीले पनि मन्त्री पद खोजेकाछन् ।

अर्का नेता कृष्ण प्रसाद सिटौलाको समूहबाट गगन थापा, दीव्यमणि राजभण्डारीले पनि दाबी गरिरहेकाछन् । यही समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी चर्चामा छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं