Monday, August 2, 2021

कांग्रेसका १० युवा नेताको साझा बोली, ‘राष्ट्रिय राजनीति जोगाउने नेतृत्वबाटै कार्यकर्ता असुरक्षित हुनुपर्यो’

काठमाडौं– नेपाली कांग्रेसका १० जना युवा नेताहरूले राजनैतिक उपलब्धीको रक्षा गर्ने कांग्रेस नेतृत्वबाट आफ्नै कार्यकर्ता असुरक्षित भएको भन्दै आवाज उठाएकाछन् ।

कांग्रेसका १० युवा नेताले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्यकर्ताले आफ्नो अधिकार प्राप्तीका लागि आमारण अनसन बस्नुपर्ने अवस्था दुखद भएको बताएका छन् ।

‘राष्ट्रिय राजनीति संकटउन्मुख भएको, नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि समाप्त हुन लागेको जटिल घडीमा अन्य राजनीतिक दलहरुले समेत नेपाली कांग्रेसलाई विश्वास गरि देशको अभिभारा सुम्पेको बेला पार्टीका साथीहरूले आफ्नैं नेतृत्वबाट असुरक्षित हुने अवस्थाको अन्त्य गर्नु पर्छ । साथै धर्ना, अनसन र आमरण अनसन बस्नुपर्ने बाध्यताको सधैका लागि अन्त्य हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ ।’ विज्ञप्तिमा भनिएको छ ।

चौधौं महाधिवेशनको प्रारम्भिक तयारीका क्रममा उठेका विभिन्न प्रश्नहरु र केही जिल्लाका साथिहरुका गतिविधिले आफूहरूको ध्यान तानेको भन्दै मुख्य गरि पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका कृयाशिल सदस्यहरुको बिवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको उल्लेख छ।

‘हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा कृयाशिल सदस्यको बिवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हँुदैन । पार्टी बिधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णय बिपरित गरिने कार्यले कसैको भलो गर्दैन ।’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ताहरू पार्टीको कृयाशिल सदस्यतालाई आफ्नो ठूलो राजनीति पुँजी ठान्दछन् । कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नु पर्दछ । आज कृयाशिल सदस्य सम्बन्धि विवाद पार्टी केन्द्रीय कार्यालयसम्म आईपुगेर धर्ना र आमरण अनसनसम्म पुगेको छ ।’
यस्तो हुनु गम्भीर विषय भएको भन्दै विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका कृयाशिल सदस्यताले हामीलाई बलियो नबनाउने र समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रकृया बाहिरबाट बितरण गरिएका कृयाशिल सदस्यताले पार्टीको मर्ममाथि नैं प्रहार गरिएको उनीहरूको धारणा छ ।

‘आफ्नो सर्वस्व सुम्पेका साथिहरुको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ । हामीलाई थाहा छ, पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्छ र यो आवश्यक पनि छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘नयाँ सदस्यको उपयुक्त व्यवस्थापन पार्टीको दायित्व हो । तर एकैचोटी पुराना साथिहरुको बिस्थापन हुने गरि जथाभावी गर्नु हुँदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ ।’

विज्ञप्ति जारी गर्नेहरूमा डा.चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं