Sunday, July 25, 2021

संरक्षणको पर्खाइमाः साउने सङ्क्रान्ति र देउडा

कर्णाली – शुक्रबार देशभर मनाइएको साउने सङ्क्रान्तिको कर्णालीमा छुट्टै पहिचान छ । यो पर्वसँगै जोडेर यहाँ देउडा नाचलाई पनि प्राथमिकता दिन थालिएको छ ।

सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले साउन १ गतेको दिनलाई कर्कट सङ्क्रान्ति भनिने गरिएको हो । ‘मानो रोपेर मुरी’ उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर खेतीपातीका लागि हिलोमैलो गरेर थाकेका किसान सफसुग्घर भएर आफ्ना परिवार तथा आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

लुतो तथा अन्य छालाको रोगबाट मुक्त होइन्छ भन्ने धार्मिक मान्यताका रहेको साउने सङ्क्रान्ति कर्णाली प्रदेशमा भने अलि फरक रुपले मनाइन्छ । यो दिनमा कर्णालीमा विशेषगरी सल्लाको झरो (चिरेको तेलयुक्त काठ) बाट बनाइएको राँको बालिन्छ । यसरी विधिपूर्वक बालिएको राँकोले वर्षाका बोला लाग्ने सरुवा रोगका साथै मानसिक विकार पनि जलेर खरानी हुन्छ भन्ने मान्यता रहेको छ ।

संस्कृतिसम्बन्धी जानकारहरु यो पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्व रहेकोे बताउँछन् । एउटै जस्तै देखिए पनि प्रचलित परम्पराअनुसार हरेक वर्ग, जाति र क्षेत्रका बासिन्दाले आ–आफ्नै मौलिक संस्कृतिका रुपमा यो पर्व मनाउँदै आएकामा आधुनिक सूचना र प्रविधिको विकासले यसका मौलिक पक्ष विस्मरण हुँदै आएका छन् ।

सूचना र प्रविधिको विकास, बढ्दो शहरीकरण, बसाइँसराइ, आधुनिक जीवनशैलीजस्ता कारणले बिहेबारी, व्रतबन्ध, रत्यौली, रुद्रीकथा, मेला (पैठ) मालिकाको पूजाआजालगायत शुभ अवसरमा गाइने झोडा, मागल (मङ्गलगान) चरण, धमारी आदि सुनिन छाडेका छन् ।

परिवर्तित जीवनशैलीका कारण न्याउली तथा कोइलीको भाकामा गाइने गीत पनि लोप हुँदै गएको छ भने बनिबनाउ गीत, पश्चिममा संस्कृति मुखरित डिजे सङ्गीत आजको युवा चाहनाको केन्द्रविन्दु बन्दै आएको छ । आयातित संस्कृति र जीवनशैलीले परम्परागत संस्कृतिको संरक्षण र संवर्धन गर्न चुनौतीपूर्ण भएको कनकासुन्दरी गाउँपालिका निवासी सूर्यमणि हमाल बताउँछन् ।

बारुवाँ, सोह्रुवा, बिसुवाँ, साउने सङ्क्रान्तिजस्ता यी यस्तै पर्वको सांस्कृतिक तथा मौलिकपन लोप हुँदै जान थालेकाले यहाँका पाको पुस्ता चिन्तित हुँदै तिनको जगेर्ना गर्नुपर्नेमा जोड दिन थालेका छन् ।

स्थानीय संस्कृतिका जानकार तथा ‘खसिया आखर’का सम्पादक रमानन्द आचार्य पछिल्लो पुस्ताको जीवनशैली र क्रियाकलापले यहाँको भाषा, कला, साहित्य र संस्कृतिमा अतिक्रमण भएको बताउछन् । कुनैपनि परम्परा र सभ्यता स्थानीय समुदाय, भाषा र जातिको सामाजिक, सांस्कृतिक पहिचान र अस्तित्वसँग जोडिने भएकोले तिनको जगेर्ना गर्नु राज्य, सरकार र सरोकारवाला सबैको दायित्व भएको उनी सुझउछन् ।

कर्णालीमा साउने सङ्क्रान्तिका दिन आरुको काठमा चिरेको झराले बनाइएको राँको (सल्लाको तेलले भरिएको काठबाट बनाइएको दियालो) बालिन्छ र त्यो समयमा लुतोपुतो, खाइने, खड्किने, जल्ने, पोल्ने शरीरमा भएका सबै रोगव्याधि गइजाओस् (समाप्त होस्) भन्ने कामना गरिन्छ ।

पौराणिक कालमा बलिराजाले राजकाज सम्हालेको खुशीयालीमा र हनुमानले लङ्का जलाएको सम्झना राँको जलाउने गरिएको र यसका साथै गुनाको पुच्छर, कैंयारको बिरुवा, थोरै चामल, घरको कुनाको धुलो कुटिरो बनाएर निश्चित ठाउँमा सेलाउने प्रचलन रहेको सम्पादक आचार्य बताउँछन् ।

साउने सङ्क्रान्तिलाई देउडा पर्वका रुपमा मनाउन र आपसी बन्धुत्व, भातृत्व, भगिनीत्व र मित्रवत् सम्बन्ध कायम राख्नका लागि यहाँको प्रदेश सरकारले राजपत्रमै उल्लेख गरेर साउने सङ्क्रान्तिमा देउडा पर्वसमेत थपेर गत वर्षदेखि सार्वजनिक बिदा दिँदै आएको छ ।

हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरमा खेलिने देउडा कोरोना महामारीका कारण गत वर्ष रोकिएकामा यही साउन १ गते पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीबाट देउडाको शुभारम्भ भयो ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले चैत १२ गते धान दिवस र असोजमा चन्दननाथ मन्दिरमा लिङ्गो हाल्ने (ठड्याउने) दिनलाई पनि सार्वजनिक बिदा दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

जुम्ली एकता सेवा समाजका सदस्य अमृत पाण्डे यहाँको कर्णालीको ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक जीवनसँग मेल खाने विषयवस्तुका बारेमा गितीलयबाट बोलिने देउडाको संरक्षण र संवद्र्धनका लागि प्रारम्भ थालिएको बताउँछन् ।

हरेक अवसरमा खेलिने देउडा र माटेघरको छतमा, मिलेको थाडो, बाडो र ओटालोमा बालिने राँकोजस्ता चाड पर्वको रौनक अहिले जस्ताले छाइएका घरका कारण ओझेलमा पर्दै गएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने गुनासो गछन् ।

“आजकालका ठेटाठेटी (युवकयुवती)हरु डेक प्रयोग गरेर अर्काकै गीतमा रमाउँछन् । हाम्रो पालामा हामी आफैँ गीत सिर्जना गरेर नाच्थ्यौँ, गाउँथ्यौँ, रमाउँथ्यौँ । अचेल न हामी उनका गीत बुझ्छौँं न त उनीहरु हामीले गाएको बुझ्छन्”, तिला गाउँपालिकाका बिजुली सिंहको भनाइ छ ।

कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धिताल देउडालगायत अन्य मौलिक संस्कृति संरक्षणको अभियान थालिएको बताउँछन् ।

देउडा सुदूर तथा मध्यपश्चिम नेपालको लोकप्रिय खेल मानिन्छ । हुम्ला, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडीलगायत जिल्लामा सामाजिक परिवेशलाई गितीलय, कविता, व्यङ्ग्य प्रहसन र कथाका माध्यमबाट चित्रण गर्ने यो खेल यहाँको अस्तित्व र मौलिकता रक्षाको प्रमुख कडीका रुपमा रहेकाले यसको संरक्षणको पहल थालिएको जुम्लास्थित कर्णाली देउडा समाजका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ । – शुरबहादुर सिंह / रासस

Leave a Reply

ताजा खबर

यो पनि पढौं