Sunday, August 1, 2021

अर्पणद्वारा स्मरण शक्तिमा विश्व कीर्तिमानको दाबी

झापा – झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गरेका छन् ।

‘मेमोरी किङ’ उपनामले परिचित उनले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । त्यसपछि नवल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गरेर शर्माको कीर्तिमान उछिनेका थिए । अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्नमा सफलता पाएको दाबी प्रस्तुत गरेका छन् ।

आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यही असार २६ गते नयाँ कीर्तिमान कायम गरेको बताए । भद्रपुरको वीरेन्द्र नमूना माध्यमिक विद्यालयको सभाहलमा असार २६ गते नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको औपचारिक कार्यक्रममा शर्माले एक मिनेटमा ८३ वटा वस्तुको स्मरणको प्रस्तुति गरेका थिए ।

सो कार्यक्रम प्रस्तुतिको भिडियोलाई प्रमाणको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइएको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको उनले जानकारी दिए ।

मेची बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका शर्मा ३२ वर्षका भए । गिनिज बुकमा नाम लेखाएपछि उनलाई नेपाल सरकारको युवा तथा खेलकूद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सलामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन् ।

विसं २०४६ माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना शर्माको सन्तानको रुपमा झापाको भद्रपुर नगरपालिका –८ मा उनको जन्म भएको थियो । सानैदेखि तीक्ष्ण दिमाग भएको उनी हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा छन् । रासस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

अर्थ सचिवमा मधुकुमार मरासिनी

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं