Saturday, July 24, 2021

पाल्पामा ८५ प्रतिशत धान रोपाई

–सुशीला रेग्मी
रामपुर (पाल्पा) – दोस्रो बालीका रुपमा धान बाली पाल्पामा हालसम्म करिव ८५ प्रतिशत रोपाई सम्पन्न भएको छ । यो वर्ष असारको दोस्रो साता देखि नै जिल्लामा धमाधम रोपाई सुरु भएको छ ।

जिल्लाको माडीफाँटमा असारमै धान रोप्ने कार्य सम्पन्न भइसकेको छ भने असेर्दी, हुँगी, अर्गलीफाँटका धेरैजसो भु भागमा धान रोपाई सम्पन्न भइसकेको छ । अन्नको भण्डार मानिने रामपुर क्षेत्रका केही भागमा धान रोपाई हुन बाँकी रहेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।

खेतमा मकै पाक्दै गरेकाले मकै हुने खेतमा रोपाई हुन बाँकी छ भने अबको एक साताभित्र जिल्लाका सबै स्थानमा लगभग धान रोप्ने कार्य सकिने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन् ।

“जिल्लाका धेरै ठाउँमा रोपाई सकिइ सकेको छ, पूर्वी भेगमा रामपुर लगायतका केही भागमा खेतमा मकैबाली रहेको र सूर्यमुखीको उत्पादन ढिला भएकाले रोपाई यो वर्ष ढिला सुरु भएको हो भने अन्य स्थानमा असारमा पानी परे लगत्तै कृषकले धान रोपाई सुरु गरेका छन्” प्रमुख अर्यालले भने ।

यसवर्ष अघिल्ला वर्षको तुलनामा धान रोपाई हुने क्षेत्रफल बढेको पाइएको छ । कोरोनाको कहरले युवा जनशक्ति गाउँमै बस्नु, शहरमा विभिन्न पेशा, व्यवसायमा रहेका नागरिक गाउँमा बस्न थालेपछि अघिल्ला वर्षमा बाँझो रहने जग्गामा पनि धान लगाउन थालिएको छ ।

करिव आठ हजार ६२० हेक्टर क्षेत्रफलमा यसभन्दा अघि धान रोपाई हुने गरेकोमा यसवर्ष वर्ष नौ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती विस्तार भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

मनसुन छिटो भित्रिएकाले भने कृषकले बाँझो रहेका, मकैबाली उत्पादन लिएका जग्गामा असारमै धान रोपाई सम्पन्न गरिसकेका छन् । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँ गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि धान रोपाई छिटो छरितो हुने गरेको छ ।

साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्धेश्यले कृषकहरु उन्नत प्रबिधिका धानमा आकर्षित हुन थालेका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं