Wednesday, August 4, 2021

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गरे ।

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहेका छन् ।

उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरूले ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका थिए।

बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहो¥याउँदै बैठक जारी राखेका थिए । त्यसपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए ।

बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए । उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं