आइक्यान निर्वाचन :सर्वसम्मत प्रकृया लागेन, अब निर्वाचन

कार्यविधि नै परिवर्तन गर्ने तयारी भएपनि उम्मेदवारको खटपटले सर्वसम्मत प्रकृया तुहायो

काठमाडौं– अन्ततः नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवौं परिषद्को पार्षद पदको छिनोफानो निर्वाचन प्रकृयाबाटै हुने भएको छ । गत जेठ २८ को लागि तय गरिएको निर्वाचन निषेधाज्ञाको कारण सबै प्रकृया रोकिएको थियो ।

परिषद्को निर्वाचन प्रकृयालाई सर्वसम्मत बनाउन वर्तमान परिषद् देखि पूर्व अध्यक्ष लागि परेको भएपनि सर्वसम्मतको प्रयास सफल हुन सकेन । निर्वाचन अधिकृतको कार्यालयले परिषद्को गत असार २० मा बसेको २५७ औं बैठकको निर्णय अनुसार आगामी भदौ १८ मा परिषद्को पार्षद पदको निर्वाचन गर्ने सूचना जारी गरेको छ ।

सर्वसम्मत गराउन पूर्व अध्यक्षहरूले कार्यविधी परिवर्तन नै गर्ने गरि योजना अगाडि बढाएका थिए । तर उम्मेदवार छनौटको खटपट र प्रकृया अगाडि बढि सकेका कारण अव्यवहारिक देखिएको भन्दै सर्वसम्मत प्रकृया रोकेको हो ।

‘कार्यविधि परिवर्तन गर्नुपर्ने त थियो तर हामी तयार नै थियौं, अहिलेको अवस्थाले कसैले चाहेर नचाहेर भन्दा पनि असहज परिस्थितिका लागि बलियो विकल्प सर्वसम्मत थियो’ वर्तमान काउन्सिलका सदस्य विद्याबारिधी सिग्देलले भने, ‘तर यहाँ सीएको मात्र भएर पनि भएन आरएको मात्र भएर पनि भएन, अर्को तिर नोमिनेसनकका सबै प्रकृया सकिएको ले पनि त्यति व्यवहारिक देखिएन ।’

परिषद सदस्यको लागि अन्तिम नामावलीमा सीए तर्फ १६ र आरए तर्फ ९ जना छन् । सीएमा सहमति भयो भनिएको भएपनि सीए तर्फका चार जना सदस्यले इमेल लेखेर असहमति जनाएको बुझिन आएको छ ।

परिषद्का ८ पूर्व अध्यक्षले सीए तर्फका उम्मेदवारहरू भेला गरेर सहमतिमा हस्ताक्षर गराएको भएपनि केहीले इमेल मार्फत असहमति जनाएको र आरए तर्फ सहमति नै ननिस्किएको कारण सर्वसम्मत प्रकृया अवरुद्ध भएको हो ।

‘सर्वसम्मतको ११ जनाले छाड्नुपर्ने हुन्छ, १ जनाले मात्रै नछाडेपनि निर्वाचनमा जानुको विकल्प छैन, उम्मेदवारहरूले पछिल्लो समय आफैमा सहमतिको प्रयास पनि गर्नुभएकै हो’ सिग्देलले भने, ‘अर्को तिर अब स्थिति केही सहज बन्दै गएको पनि छ, कांग्रेसले त महाधिवेशनको आयोजना गरिसकेको छ, अन्यका पनि छन्, चुनावै गर्न नसकिने पनि छैन ।’

उनले निर्वाचनको लागि केही नीतिगत समस्या रहेकोले यसलाई समाधानको लागि नेपाल सरकारसँग अनुरोध गरेको बताए । उनले भने, ‘हामीले नीतिगत निर्णय गर्दैनौं तर काउन्सिल बहाल राखौं भनेर अनुरोध गरेका छौं ।’

निर्वाचन प्रकृया अगाडि बढिसकेपछि उम्मेदवारहरूमा भने उत्साह जगाएको छ । सीए तर्फका एक उम्मेदवारले भने, ‘पूर्व अध्यक्षहरू हाम्रो अभिभावक जस्तै हो, सर्वसम्मत गरौं भन्दा अस्विकार गर्ने अवस्था थिएन, अब निर्वाचन हुने भएपछि हामी सबै खुसी छौं ।’

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं