Saturday, July 24, 2021

गण्डकीमा रमिता, अवरोधकाबीच बजेट पारित


कास्की– गण्डकी प्रदेशमा आज रमिता भएको छ । बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठक अवरोध गर्दा झडप कै अवस्था आएको थियो । एमाले सांसदहरूले कुर्सी फालाफाल भएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए ।

बजेटमाथि उठेका प्रश्नको जवाफ मुख्यमन्त्री दिनुपर्ने कार्यसूची रहेपनि सो अनुसार प्रक्रिया अघि नबढेको भन्दै एमाले सांसदले सदनभित्र नारावाजीसमेत गरेका छन् ।

नारावाजीकैबीच गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट मार्सल लगाएर पारित गरेको हो ।

एमाले नेतृत्वको सरकारले ल्याएका योजना र कार्यक्रम काटिएको भन्दै एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।

ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदामा वैधानिक सम्बोधन नहुँदासम्म प्रदेश सभा सञ्चालन गर्न नदिने उल्लेख छ।

प्रतिपक्षीविहीन सदनमा सत्तारूढ सांसदले छलफलमा भाग लिन नचाहेपछि सभामुख अधिकारीले छलफल समाप्त भएको घोषणा गरेका थिए।

Leave a Reply

ताजा खबर

यो पनि पढौं