Wednesday, August 4, 2021

रगत चाहिँदा सुरक्षाकर्मीको भर

अत्यावश्यक बिरामीलाई रगतको आवश्यकता पर्दा सुरक्षाकर्मीलाई गुहार्नुपर्ने बाध्यता

मुगु– खत्याड गाउँपालिका वडा नं ३ कि लालु बानियाँलाई सुत्केरी व्यथा लाग्यो । व्यथाले च्यापे पछि जेनतेन जिल्ला अस्पतालममा ल्याए ।

अत्याधिक रक्तस्रावका कारण उनलाई तत्काल रगत चाहियो । उनका श्रीमान र आफन्तले रगतका लागि हारगुहार गरे । व्लड बैंक नभएकोले रगत पाइने अवस्था त थिएन नै रक्तदान गर्ने पनि कोही भेटिएनन् । अन्ततः जिल्ला स्थित नेपाली सेनाको सम्पर्कका पुगेका आफन्तले सेना मार्फत रगत पाए र लालुको जीवन बच्यो ।

अवस्था लालुको मात्र हैन रगतको आवश्यक पर्दा सहयोग गर्ने एउटै निकाय बनेको छ नेपाली सेना र नेपाल प्रहरी । सेना बाहेक संस्थागत तरिकाले रगत पाउने अवस्था जिल्लामा देखिन्न ।

जिल्लामा व्लड बैंकको व्यवस्था नहुँदा रगत अत्यावश्यक पर्ने बिरामीलाई समस्या पर्ने गरेको छ । जसकै कारण नेपाली सेना र प्रहरी लगायतका सुरक्षाकर्मी रक्तदाता बन्नुपर्ने बाध्यता छ ।

जिल्लाकै एक मात्र केही सुविधा सम्पन्न मानिने जिल्ला अस्पताल मुगुमा मुगु सहित छिमेकी जिल्ला हुम्ला, जुम्ला सम्मका बिरामी आउने गरेकाछन् । जिल्ला अस्पतालको गर्भवती सेवा शाखाको तथ्यांक अनुसार प्रत्येक महिनामा २८ देखि ३० जनासम्म जिल्ला अस्पतालमा सुत्केरी गराउन आउँछन् ।

गर्भवती सेवा शाखाकी प्रमुख रामदेवी केसीले जिल्ला अस्पतालको विश्वसनियता र व्यावस्थित गर्भवती सेवा लिनेको संख्या दिनप्रतिदिन बढेको बताउँछिन् । तर रगत आवश्यक पर्दा जिल्ला अस्पतालमा अन्य बिरामी भन्दा पनि सुत्केरी महिलाहरूलाई रगतको समस्या देखिने गरेको उनको भनाइ छ ।

यता जिल्ला अस्पताल मुगुका डा.डबल बहादुर मल्लले ब्लड बैंकको व्यावस्था नेपाल रेडक्रस सोसाइटीले गर्नुपर्ने भएपनि अहिलेसम्म नभएको बताए ।

नेपाल रेडक्रस सोसाइटी मुगुका जिल्ला सभापति जय बहादुर मल्लले यस विषयमा स्थानीय तहसँग छलफल भइरहेको बताए । उनले भने, ‘ब्लड बैंकको लागि पालिकाहरूसँग समन्वय भइरहको छ, केन्द्रीय कार्यालयसँग पनि आवश्यक पहल गर्छौं ।’

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी जनक धामीले जिल्ला अस्पताल मुगुमा आ.व २०७७/२०७८ मा रक्तदान गर्ने नेपाल प्रहरीका १४ जना नेपाली सेनाका ८ जना सशस्त्र प्रहरीका ८ जना गरि हाल सम्म जम्मा २६ जनाले रक्तदान गरेको जानकारी दिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं