Sunday, August 1, 2021

यी हुन म्याग्दीमा सभापतिका पाँच आकांक्षी

म्याग्दी–नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तय गरेसँगै जिल्ला देखि पालिका स्तरसम्ममा अधिवेशनको चहलपहल सुरू भएको छ ।

म्याग्दीका पनि सभापति लगायत विभिन्न पदमा आफ्नो दावी पेश गर्न जिल्ला स्तरीय नेताहरूले सक्रियता देखाएकाछन् ।

पार्टीको चुनावी कार्यतालिका अनुसार वडा स्तरीय अधिवेशन साउन १२, पालिका स्तरमा साउन १६ , प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० र जिल्ला स्तरमा साउन २३ मा अधिवेशन गर्ने कार्यतालिका छ ।

जिल्लामा विभिन्न पदमा दावी गर्नेको सक्रियता बढ्दै जाँदा अधिवेशन मार्फत नेतृत्व सम्हाल्ने देखि उम्मेदवारीलाई आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्ममा आफ्नो सुनिश्चितताको लागि बार्गेनिङ्ग गर्ने माध्यम समेत बनाउने देखिएको छ ।


म्याग्दीमा सभापतिका ५ आकांक्षी

यस पटक म्याग्दीमा सभापतिमा ५ नेताले इच्छा देखाएका छन् । उनीहरूले आफूलाई सभापतिको उम्मेदवारको दावी गरेकाछन् ।

महासमिति सदस्य मार्फत जिल्ला सभापतिको लागि दावी गर्नुपर्ने भएकोले नेताहरूले अभियान सुरू नगरेको भएपनि सभापतिमा वर्तमान सभापति, निवर्तमान सभापति, संविधानसभा सदस्य देखि वर्तमान कार्य समितिका पदाधिकारी समेत आकांक्षी छन् ।

सभापतिको लागि वर्तमान सभापति खमबिर गर्वुजा सभापतिमा लड्ने निश्चित जस्तै छ । दुई पटक प्रतिनिधि सभाको निर्वाचनका प्रत्यासीको रूपमा रहेका गर्वुजा सभापतिमा रहेर माहोल बनाउने मुडमा छन् ।

त्यस्तै सभापतिमा पार्टीका पूर्व जिल्ला सह–सभापति नेत्र बहादुर महतले पनि आकांक्षा देखाएकाछन् ।

उनी चुनाव हुने अवस्था आए प्रतिनिधि सभामा उम्मेदवारी सुनिश्चित हुने अवस्था आए अर्का उम्मेदवारलाई सहयोग गर्ने संभावना देखिन्छ । महत समर्थन गर्नैपरे वर्तमान सभापति गर्वुजालाई नै समर्थन गर्ने देखिन्छ ।

जिल्लामा महत र गर्वुजा देउवा निकट मानिन्छन् । गर्वुजाले जिल्लामा आफ्नो महोल राम्रो रहेको दावी गर्दै आएकाछन् । पौडेल निकट आकांक्षीलाई हातमा ल्याउने र महतलाई सहमतिमा ल्याएर आफ्नो जित सुनिश्चित गर्ने उनको रणनीति बुझिन्छ ।
गर्वुजाले जिल्लामा जनजातीको बाहुल्यता भएको र पचिल्लो समय कार्यकर्ता माझ आफ्नो सक्रियता बढी देखाएको भएकोले पनि उनको संभावनालाई बलियो मानिएको छ ।

जिल्ला सभापतिमा वर्तमान जिल्ला सचिव क्याप्टेन मिन बहादुर कार्कीले समेत इच्छा देखाएकाछन् । पार्टीमा गुट नखुलेका कार्की सभापति नपाए प्रदेश सभा या स्थानीय तहमा मेयरसम्ममा चित्त बुझाउने संभावना देखिन्छ ।

सभापतिको लागि दाबी गर्दै आएका पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशम बहादुर बानिँयाले सक्रियता देखाएका छन् । उनी पौडेल निकट हुन् । बानिँया पार्टीको वैचारिक दृष्टिले अब्बल मानिन्छन् ।

पौडेल निकट मानिने अर्का नेता तथा जिल्ला सदस्य केबी भण्डारीले समेत सभापतिमा आफ्नो दावी प्रस्तुत गर्दैछन् । उनले प्रतिनिधि सभा या प्रदेश सभामा उम्मेदवारी सुनिश्चितता भएको अवस्थामा बानिँयालाई सहयोग गर्ने अनुमान छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं