नेपाल–खनाल समूहले के खोज्यो ? के पायो ?

समग्रमा पार्टीको भविश्य र एकताको सवालमा विवाद समाधान हुनु आफैका स्वागतयोग्य र महत्वपूर्ण देखिए पनि एमाले भित्रको आजसम्मको विवाद केका लागि थियो र के पाएर साम्य हुँदैछ भन्ने कुरा अनुत्तरित छ ।

काठमाडौं– लामो समयदेखि आन्तरिक विवादमा फसेको नेकपा एमाले भित्रको विवाद आइतबार विवाद समाधानको लागि गठित समितिको सहमति अनुसार समाधान निकालिएको बताइएको छ ।

कार्यदलका नेपाल–खनाल समूहको तर्फका संयोजक तथा एमाले उपाध्यक्ष समेत रहेका भीम रावलको शब्द सापटी लिने हो भने यो ऐतिहासिक सहमति हो । उनले ऐतिहासिक भने पनि उनी निकट नेता तथा कार्यकर्ता नै त्यही खुसी देखिएका छैनन् ।

विवाद बढेर शत्रुताको बिन्दुसम्म पुगेको पार्टी विवाद समाधानका लागि तय गरिएका सहमतिका बुँदा भने त्यति तथ्य र बस्तुपरक देखिन्नन् । १० बुँदे सहमति मध्येका महत्वपूर्ण बुँदाले संस्थापन इतरलाई कसरी समेट्यो भन्ने कुरामै प्रश्न उठाएको छ ।

केही समय यता पार्टीका अन्तरविरोधहरू पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्का प्रति निषेधात्मक बन्दै आएकाछन् । यस्ता अन्तरविरोधहरूलाई पार्टी भित्रै विधिसम्मत ढङ्गले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।

यसले नेकपाभित्रको विवाद दखि सर्वोच्चले एमाले ब्युँताएसम्म र त्यस यताका पार्टी भित्रका गतिविधि गल्ती थिए भन्ने कुरा भन्ने स्पष्ट पारेको छ । यसले दुबै पक्षका कमजोरी थिए भन्ने स्वीकार्दा असन्तुष्ट पक्षले संस्थापन पक्षलाई लगाएका आरोप र संस्थापन पक्षबाट अक्षम्य गल्ती भएको भनिएका गल्ती पनि छोपिएकाछन् । पार्टीमा संस्थागत भएकाछन् ।

पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनु पूर्व २०७५ जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णय सहित) संगठनात्मक अवस्थाबाट क्रियाशिल हुनेछन् ।

यो निर्णयले त्यति ठूलो असर नदेखिए पनि पार्टीको केन्द्रीय कमिटीमा ओली समूहको बाहुल्यतालाई बल पुराएको छ । अर्को तिर यसले अब थप हुने केन्द्रीय कमिटीमा समेत यसको प्रभाव देखिनेछ । महत्वपूर्ण कुरा नेपाल–खनाल समूह अडानबाट बाहिरिएको छ ।

०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुर्नजीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरू स्वतः बदर भएकाछन् ।

यसले दुबै समूहका गतिविधीलाई अबैध बनाएको छ । यसले नेपाल–खनाल समूहका समानान्तर खालका गतिविधि देखि आन्दोलनको मर्मलाई समेत कमजोर बनाएको छ तर पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने भन्ने शब्दले संस्थापन समूहले यसभन्दा बाहिरका निर्णय गरेको भए नेपाल–खनाल समूहको अनुपस्थितिमै भएको भएपनि मान्यता पाउने देखिएको छ । अर्को महत्वपूर्ण कुरा त यसले पाँच दलीय गठबन्धनमा नेपाल–खनाल समूहको संलग्नता र समर्थनबाट समेत फिर्ता ल्याएको छ ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसला पछि एमालेमा रहनुहुने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी ,केन्द्रीय कमिटी र अन्य कमिटीमा रहनु भएकालाई सोही कमिटीको जिम्मेवारी निर्धारण भएको छ ।

यसले पूर्व माओवादीको एमाले भित्रको स्थानलाई सुनिश्चित बनाएको छ । पार्टी एक भए पनि गुटगत राजनीतिको बीउ झनै झांगिने र माओवादीबाट आएको समूह ओली प्रति नरम र नेपाल प्रति खरो रूपमा प्रस्तुत हुने निश्चित छ । यसले ओली समूह बलियो र नेपाल समूह झनै कमजोर भएको छ ।


प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन मुद्धा र सरकार सम्बन्धमा पार्टी एकताको मर्म र भावनाको आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौं ।

पहिलो कुरा पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने निर्णय खारेज हुने भनिएको बुँदाले यसको बैधानिकता सिद्धाएको छ । अर्को कुरा एकताको मर्म र भावनाको आधारमा विधि सम्मत एवं संस्थागत निर्णय भन्दा सर्वोच्चको फैसलामा पार्टीले बनाउने धारणा मात्र बाँकी रहन्छ । अर्को तिर फैसलालाई अस्वीकार गर्ने प्रसंगनै रहन्न ।

पार्टी तथा जनसंगठनहरू पूर्ववत अवस्थामा क्रियाशिल हुने क्रममा उत्पन्न हुने समस्या निराकरण गर्न र सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

यसले नेपाल–खनाल समूहले आफ्ना नेता तथा कार्यकर्ताको पछिसम्मको जिम्मेवारी र अवसरको सुनिश्चितता खोजेको र यसले केही सम्बोधन गर्ने देखिएपनि यो उधारो संभावनाले खासै अर्थ नराख्ने देखिन्छ ।

समग्रमा पार्टीको भविश्य र एकताको सवालमा विवाद समाधान हुनु आफैका स्वागतयोग्य र महत्वपूर्ण देखिए पनि एमाले भित्रको आजसम्मको विवाद केका लागि थियो र के पाएर साम्य हुँदैछ भन्ने कुरा अनुत्तरित छ ।

पछिल्लो समय आफूलाई आन्दोलनबाट फरक रूपमा स्थापित गर्दै गएका बरिष्ठ नेता माधव कुमार नेपाल कमजोर सावित भएकाछन् । उनलाई पार्टीमा फर्किएर भित्रै संघर्ष गर्ने बाटो त खुला छ पछिल्लो समय उनले गरेका विरोध, असहमति र आन्दोलन कै रूपमा भएपनि बनाएको साख भत्किँदा भविश्यमा उनको नेतृत्व पनि अर्का वरिष्ठ नेता झलनाथ खनालको अवस्थामा नपुग्ला भन्न सकिन्न ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Latest Posts

spot_img

अहिले