Sunday, August 1, 2021

सङ्घीय नमूना युवा संसद् आजदेखि

काठमाडौं – राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद्’ सञ्चालन गरेको छ । प्रदेश नमूना युवा संसद्बाट छनोट भएका देशभरिका ८० जना १६ देखि २४ वर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअलमाध्यमबाट सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको हो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकासका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताए । प्रदेशस्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेशसभा सञ्चालन गरिसकेका युवा सङ्घीय युवा संसद्मा सहभागी छन् ।

यसअघि परिषद्ले सातवटै प्रदेशमा ‘प्रदेश नमूना युवा संसद्’ र स्थानीय तहबाट नगरसभा सञ्चालन गरिसकेको छ । उनले नेपाल सरकारले जारी गरेको युथ भिजनअनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद् आयोजना गरिएको बताए ।

यसअघि तीन पटक सङ्घीय नमूना युवा संसद् कार्यक्रम सञ्चालन भइसकेको छ । “युवालाई कानून, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवकीको भाव, अधिकार कर्तव्य र दायित्व बोध गराउन सकिएन भने मुलुक समृद्धितर्फ लैजान सकिदैन”, उनले भने, “संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमूना संसद्बाट युवाले सिक्नेछन् ।”

उनले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्रको संस्कृतिबारे युवालाई ज्ञान दिइ अब्बल तथा योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताए । युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद् सञ्चालन गर्नेछन् ।

तीन दिनसम्म सञ्चालन हुने नमूना संसद्मा सहभागी भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक, संसदीय दलका नेता र सांसद चयन हुनेछन् । यसरी चयन गरिएका युवाले मङ्लबारदेखि सङ्घीय व्यवस्थापिका संसद् सञ्चालनको अभ्यास गर्नेछन् । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था तथा संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं