Saturday, July 24, 2021

एमालेको एकता गलाउन प्रचण्डको दौडधुप !

काठमाडौं –एमालेमा पार्टी भित्र आन्तरिक विवादमा फसेको छ । पार्टी विवाद समाधानको लागि बनेको कार्यदलले शुक्रबार ७ घण्टा लामो छलफल गर्यो । पार्टीमा असन्तुष्ट समूहका नेता माधव नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलबीच पनि यसबीचमा भेट बाक्लो छ ।

शनिबार दुई नेताबीच सहमति हुने खबर आइरहेका बेला शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेका बरिष्ठ नेता माधव नेपाललाई नेपाल निवास कोटेश्वरमा पुगेर भेटे ।

विहान ११ बजे नेपाल निवास पुगेका प्रचण्ड र नेपालबीच अदालतको फैसला अगावै ओलीसँग मिल्न लागेको विषयमा प्रचण्डले विशेष चासो राखेको स्रोतको दावी छ ।

सरकार इतरका पाँच दलीय गठबन्धनको बलियो सहयात्री बनेको एमालेको नेपाल–खनाल समूह फेरि पार्टी सहमतिमा जाँदा गठबन्धन टुटने त्रास प्रचण्डलाई मात्र हैन पाँच दलीय गठबन्धनका अरु दललाई पनि छ ।

प्रचण्डले नेपाललाई भेटेर ओलीसँगको सहमति गर्दा हुनसक्ने धोकामा सर्तक रहन आग्रह गरेको बुझिएको छ । प्रचण्डले नेता नेपाललाई भेटेर मात्र चित्त बुझाउन सकेनन् । यदि एमाले एक भए उत्पन्न हुने परिस्थितिको बारेमा छलफल गर्न प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए ।

प्रचण्डको यो दौडाहाको स्पष्ट कुरा नआएपनि एमाले विवाद समाधान हुँदा त्यसले जन्माउने परिस्थितिको चासो प्रचण्डमा रहेको देखिन्छ ।

अर्कोतिर सुरू सुरूमा एमाले अध्यक्ष ओलीले एमालेमा विवाद नरहेको र भए गुटगत हैन, व्यक्ति व्यक्तिमा छलफल गर्ने भन्दै आएका थिए । तर नेपाल–खनाल समूह झनै कठोर बनेको र सर्वोच्च अदालतले प्रतिनिधि सभा व्युँझाए नेपाल–खनाल समूह बिना एक्लै भिड्ने संभावना नदेखेका ओली नरम बनेकाछन् ।

नरम पनि यति नरम बनेकी अहिले नेपाल–खनाल समूहले जे माग्यो ओली त्यही दिने मनस्थितिमा रहेको स्रोतको दावी छ । तर उनले सहमति गर्दा आफू प्रधानमन्त्री र अध्यक्षबाट बाहिरिन सहमत छैनन् ।

ओलीले घुमाउरो तरिकाले सर्वोच्च अदालतमा परेको संसद विघटनविरुद्ध तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडानबाट समेत बाहिरिने लाइनमा छन् ।

स्रोतका अनुसार त्यसलाई फिर्ता नगरे पनि कुनै न कुनै तरिकाले त्यसलाई भाषा परिवर्तन गरिनुपर्ने उनको माग छ ।

शनिबार दिउँसो २ बजे हुने भनेको कार्यदलको बैठक अन्तिम समयमा नेकपाको असन्तुष्ट पक्षका सदस्य छलफलमा नबसेरै बाहिरिए । उनीहरू फेरि छलफलमा त फर्किएका छन् तर यसले के परिणाम दिन्छ भन्नेमा अझै यसै भन्न नसकिने अवस्था देखिएको छ ।

साँच्चै गलाउला त प्रचण्डको दौडधुपले एमालेको एकताको यो प्रकृया ?

Leave a Reply

ताजा खबर

यो पनि पढौं