Sunday, July 25, 2021

बाढीपहिरो पिडितहरुको उद्धारमा नेपाली सेना

काठमाडौ – अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी / पहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाले जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज तथा उद्धार कार्य संचालन गरेको जनाएको छ ।

सेनाले चितवन जिल्ला, माडी नगरपालिका वडा नं.१ स्थित बरुवा, सेरुवा, गर्दी, पाण्डवनगरमा डुवानमा परेका स्थानिय व्यक्तिहरुको सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै खैरहनी नगरपालिका वडा नं.१ स्थित नयाँबस्तीमा कयर खोलाबाट कटान हुन सक्ने संभावित स्थानहरुमा तटबन्ध निर्माण कार्यमा सहयोग गरेको छ ।

यस्तै सेनाले मकवानपुर जिल्ला, भिमफेदी गाउँपालिका वडा नं.२ स्थित त्रिभुवन राजपथ सडक खण्डमा पहिरो हटाई अवरुद्ध सडक सुचारु गरेको छ ।

त्यस्तै लम्जुङ्ग जिल्ला, सुन्दरबजार नगरपालिका वडा नं.८ स्थित सिउडीबार ईलाकामा स्थानीय बासिन्दाको घरमा पहिरोको कारण क्षति भएकोले घरभित्र रहेका सामानहरु स्थानान्तरण गर्नुका साथै दोर्दी गाउँपालिका वडा नं.८ स्थित फलेनी माध्यमिक विद्यालय, बन्सारमा दोर्दी खोलाको कटान नियन्त्रण गर्न दुङ्गाको ग्याबिन वायर राख्ने कार्यमा सहयोग पु¥याएको सेनाले जनाएको छ ।

यसैगरी सेनाले पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं.८, स्थित दोबिल्ला खोलामा ढुङ्गा माटो सहितको लेदो आई लामा कन्स्ट्रक्सनमा काम गर्ने २ जना कामदार र अन्य १ जना बेपत्ता व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा सहयोग गरेको जनाएको छ ।

त्यसैगरी सेनाले पाँचथर जिल्ला, फिदिम नगरपालिका वडा नं.१, शनिवारे स्थित डिभिजन वन कार्यालय भवन छेउमा निर्माणाधिन पर्खाल पहिरोका कारण भत्कन गई गम्भिर घाईते भएका स्थानीयको उद्धार गरेको छ ।

यस्तै तनहुँ जिल्ला, ऋसिङ गाउँपालिका वडा नं.८ स्थित मझकोटमा स्थानीयवासीको गोठसंगै पुरिएका १ जना स्थानीयसहित चौपायाहरुको उद्धार कार्यमा सहयोग गरेको छ । साथै सोही जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं.७ सेती म्याग्दे स्थित मिग्री त्रिवेणी धाम सप्ताह तथा संरक्षण संस्थाको भवन नदीले कटान गरेकोले भवनभित्र रहेका शव दाह गर्ने मेशिन लगायत अन्य सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

सेनाले नवलपुर जिल्ला, कावासोती नगरपालिका १, खयरघारी स्थित केरुङ्ग खोलामा आएको बाढीले बस्तीमा असर पार्न सक्ने सम्भावना भएकोले स्थानीयहरुलाई उद्धार गर्न आवश्यक सहयोग गरेको छ ।

यस्तै गुल्मी जिल्ला, रेसुङ्गा नगरपालिका २ स्थित स्थानीयवासीको घर नजिक पहिरो आई घर जोखिममा परेकोले घरभित्र रहेका सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरि पहिरो हटाउन सहयोग गरेको छ ।

त्यस्तै सेनाले पाल्पा जिल्ला, तिनाउ गाउँपालिका ५ हिउँदे खोलामा आएको पहिरोका कारण स्थानीयवासीको घरहरुमा पुरिएको व्यक्तिको शव निकाल्न सहयोग गरेको छ ।

यसैगरी सेनाले प्युठान जिल्ला, मल्लरानी गाउँपालिका वडा नं.४, धरमपानी ईलाकामा पहिरो गई अबरुद्ध बाग्दुला–खलंगा बाटो सुचारु गर्न सहयोग गरेको जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं