बीपीको आन्दोलनमा कांग्रेसको चासो

काठमाडौं–नेपाली कांग्रेसले धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा चलेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले यस विषयमा प्रधानमन्त्रीले गम्भीरता नदेखाएको आरोप लगाएको हो ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनादेखि चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेका आन्दोलनलाई सम्बोधन गर्न कुनै पहल नगरेको कांग्रेसको आरोप छ ।

‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुईमत छैन ।’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो ।’

कोरोना महामारीको बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्ने कांग्रेसले बताएको छ । तर यसको हेक्का कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानभित्रका अनियमिता र अराजकताको ढाकछोप नभई उपचार गर्नुपर्ने आवश्यकता रहेकोमा कांग्रेसले जोड दिएको छ । ‘अनेकन बेथिति र अराजकता रहेकोे विवरण पटक–पटक सार्वजनिक भएका छन् । ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी छ । प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पु¥याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न,’ विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले संवादमार्फत जायज माग सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चारजना पदाधिकारीको बहिर्गमनको माग गर्दै कर्मचारी, चिकित्सक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजले २५ दिनदेखि प्रतिष्ठान परिसरमा आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं