सेजनद्वारा राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत

काठमाडौं–नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

बिहीबार सेजनका अध्यक्ष भीम गौतमले गभर्नर महाप्रसाद अधिकारीलाई ३५ बुँदे सुझावका दिएका हुन् । सेजनले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोडिभ १९ को दोस्रो लहरले अर्थतन्त्रलाई जटिल मोडको पुर्याएको भन्दै अर्थतन्त्र पुनरोत्थानलाई नै ध्यानमा राखेर नीति ल्याउन आग्रह गरेको छ ।

“चालु आर्थिक बर्षको मौद्रिक नीतिले कोरोना भाइरसबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । राष्ट्र बैकले लिएको नीतिका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ तर मौद्रिक नीति कार्यान्वयनको चरणमै दोस्रो लहरको कोरोना भाईरसको असर बढेपछि फेरि नेपालको अर्थतन्त्र जटिल मोडमा पुगेको छ” सेजनले भनेको छ, “यसबाट प्रभावित अर्थतन्त्रको पुनरत्थान गर्न मौद्रिक नीति सामु चुनौती थपिएको छ । एकातिर वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्ने र अर्कोतर्फ राहत समेत दिनुपर्ने परस्परमा विरोधी (म्युचुअल्ली एक्सक्लुसिभ) विषयहरूलाई सन्तुलन गर्नुपर्ने चुनौती रहेको छ ।”

गभर्नर अधिकारीले सेजनले यथार्थपरक सुझाव दिएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आगामी मौद्रिक नीतिका विषयमा विभिन्न सरोकारवालाहरुसँग राष्ट्र बैंकले छलफल गरेको बताए । उनले चालु आर्थिक वर्षको मौद्रिक नीतिले उद्योगी व्यवसायीसहित आम सर्वसाधारणलाई आत्मविश्वास मर्न नदिएको बताए । उनले आगामी मौद्रिक नीतिले पनि उद्योगी व्यवसायीसहित आम सर्वसाधारणको आत्मविश्वास बढाउने खालको नै ल्याउने बताए । “चालु वर्षको मौद्रिक नीतिका कारण हामीले उद्योगी व्यवसायीको आत्मविश्वास मर्न दिएनौं । हामीले सबै सरोकारवालाहरुसँग छलफल पनि गरिसकेका छौं । उद्योगी व्यवसायीको आत्मविश्वास बढाउन नै कोसिस गर्नेछौं” उनले भने ।

सेजन अध्यक्ष गौतमले कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डेपुटी गभर्नरद्वय बम बहादुर मिश्र र निलम ढुंगाना, कार्यकारी निर्देशक एवं प्रवक्ता देवकुमार ढकालसहित सेजन सचिव कृष्ण रिजाल र कोषाध्यक्ष हिमाल पौडेल सहभागी थिए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं