Saturday, July 24, 2021

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं – काठमाडौं, तनहुँ, सप्तरी, नवलपरासी(पूर्व) र बैतडीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरी प्रधन कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा ना.६ क ४२७५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सिन्धुपालचोक लिसङखुपाखा गाउँपालिका–७ घर भएका ४४ वर्षीय काशीराज कार्कीको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा लु.८ प ८३५३ नम्बरको मोटरसाइक चालक सोही गाउँपालिका–२ मार्कीचोक बस्ने ३१ वर्षीय दुर्गा भुजेलको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

उक्त राजमार्गमा ना.६ ख ६११८ नम्बरको ट्रकमा लु.८ प ८३५३ नम्बरको मोटरसाइकल ठोकिएर अनियन्त्रित भई पुन ः ना.६ ख ४४४७ नम्बरको ट्रकमा ठक्कर खाई भएको दुर्घटनामा भुजेलको मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय साजन भुजेललाई उपचारका लागि हाडजोर्नी अस्पताल आबुखैरेनी पठाइएको छ । दुबै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ जनाएको छ ।

त्यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका–११ डेङग्रीस्थित सडकमा स.१ क २८० नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय कौशल्या चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्ररहीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–१ कोईलापानीस्थित भित्री सडकमा ना.२६ प ५९६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–१ जुकेपानी बस्ने २० वर्षीय केसर सुनारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको कालीगण्डकी अस्पताल कावासोती हुँदै नारायणी सामुदायिक अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बैतडीको मेलौली नगरपालिका–५ महारुद्रस्थित सडकमा मेलौलीबाट तितावैतर्फ जाँदै गरेको से.२ त २५८१ नम्बरको ट्याक्टर सडकबाट तल खसेर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरका सह–चालक पंचेश्वर गाउँपालिका–५ बस्ने ३० वर्षीय राज बहादुर चन्दको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय डम्बर बहादुर चन्दलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ लगिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं