Sunday, July 25, 2021

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ५२ जना पक्राउ

काठमाडौं । काठमाडौं, झापा र स्याङजाका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधना कार्यालयले जनाएकाे छ ।

प्रहरीले काठमाडौंकाे महानगरपालिका-६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका-६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिक लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

यस्तै झापाकाे दमक नगरपालिका-८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र  ६ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

यसैगरी स्याङजाकाे भिरकोट नगरपालिका-२ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको बिवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं