Wednesday, August 4, 2021

शुभारम्भ

हजारौंको भीडमा मिसिन हामीले हजार पटक सोच्यौं । अहिले पत्रकारिता मार्फत सूचना प्रवाहको जिम्मेवारी लिएर अगाडि बढेका नेपालमा मात्रै दुई हजार भन्दा बढी अनलाइन न्युज पोर्टल छन् । तिनै मध्ये अहिले हामी त्यतै कतै छौं ।

यो तथ्यांकबाट प्रष्ट हुन्छ, यो सानो भुगोलमा हामी मिडियाको अभाव भएर जन्मिएका होइनौं । सोंच यही धेरै मध्येमा पनि फरक गरौं भन्ने हो । दिने कुरा उनै हुन तर फरक तरिकाले दिन सकौं भन्ने हो । प्रयास सानै होस् तर हामीले दिएका कुरामा आम पाठक विश्वस्त हुन सकुन् र हामीले दिएका सूचनालाई ग्रहण गर्न सकुन् भन्ने कुरामा हामी विश्वास गर्छौं ।

यही भएरै हामीले ‘प्रामाणिक समाचार’ भन्ने मन्त्र अगाडि सारेका छौं । हामीलाई खड्किएको पनि त्यही हो, अहिले पाठकलाई कम्तिमा तथ्य सहितको सत्य खबरको प्रवाह मात्रैले पनि गुन लगाउन सकिन्छ । हामी ठूला कुरा भन्दा पनि यही विश्वास दिलाउन चाहान्छौं, हामीले दिएका कुरामा तपाईलाई शंका रहित ग्रहण योग्य बनौं ।

हामी भ्रम छरेर अगाडि पुग्ने कल्पना गर्दैनौं । न त टिक्नकै लागि सामाजिक जिम्मेवारी र दायित्वबाट पन्छन सक्छौं । समाज बदलिएको छ तर बदल्न धेरै बाँकी छ । अरूका कुरा सुनेर थाकेका तर आफ्ना कुरा दुनियाँलाई सुनाउन नसक्ने ठूलो तप्का अहिले पनि छ । तिनै भुँइमान्छेका आवाज बोकेर हिँड्दा सम्बन्धित ठाउँमा खबर पुराउने माध्यम बन्न नसकौँला ? हामीले गर्न खोजेको यत्ति हो ।

हामी पाइला चाल्दै तगारा देखेका छौं । ठेस लाग्ने कुराको ज्ञात छ । हामी माध्यम बन्ने प्रयत्न मात्र गरेका छौं तर सहयात्राका सहयात्री त हाम्रा प्रिय पाठक र शुभेच्छुक नै हुन् । हामी लड्दा उठाउने र बाटो बिराउँदा सचेत गराउने जिम्मेवारी तपाईंहरूको जिम्मामा दिएका छौं ।

औपचारिक रूपमा आज सुरू गरिएको यो यात्रा वर्षौं पर लैजान चाहान्छौं । शुभारम्भका सपनामा हरेक वर्ष प्रगतिका इट्टा थप्दै थप्दै हाम्रै अभियानका माझ स्थापित हुन चाहान्छौं । फेरि भन्छौं, हामी तपाईंका हौं र जयदेश तपाईंको हो । यो विश्वासमा टिकाइदिनुहोला ।


जयदेश ।

………………………..
दिलिप मगर
अध्यक्ष

Leave a Reply

ताजा खबर

यो पनि पढौं