Sunday, August 1, 2021

इजरायलमा सिकेको सीप र प्रविधि नेपालमा, एकिकृत कृषि फार्मको यात्रामा आराभा

‘हाम्रोमा त्यस्तो असहज अवस्था केही छैन, कृषि गरेर खानको लगि विश्वमै नेपाललाई प्रकृतिले दिएको छ । यो अनुकुलताको फाइदा किन नउठाउने भनेर यो अभियान चलाएका हौं’ –बजगाईं

काठमाडौं– सामान्य अवस्थामा दैनिक १५ सयको हाराहारीमा कामका लागि बिदेसिन्छन् । त्यसमा पनि अधिकांश युवाको गन्तव्य खाडी मुलुक र त्यहाँ पुगेर जोखिम सहितका कामहरू नै हुन् ।

विदेशमा पुगेर सिकेको सीप र देखेको प्रविधिलाई आफ्नो माटोमा प्रयोग गर्नेको समेत कमी छैन । यस्तै मध्येका हुन– कृष्ण प्रसाद बजगाईं र उनको टिम । इजरायलमा बस्दा त्यहाँ रहेका नेपाली युवाले संस्था जन्माए–आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड । त्यसलाई नेपालमा आएर दर्ता गरेर औपचारिक रुपमा आफ्नै मुलुकमा इजरायलमा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्दै आएकाछन् ।

यसको नेतृत्व गरिरहेका ३० वर्षे युवा बजगाई ‘कम्पनी एग्रिकल्चर , एग्रो टुरिज्म र फार्मस एजुकेशन सहितको एकिकृत योजनाका साथ अगाडि बढिरहेको बताउँछन् । उनी सन् २०१६ को अगस्ट महिनामा एउटा हुटहुटी बोकेर इजरायलबाट नेपाल फर्किएर व्यवसाय दर्ता गरी काम सुरू गरेका हुन्।

विशेष गरि एकिकृत कृषि, कृषि शिक्षा र कृषि पर्यटनमा कार्य गर्ने उद्धेश्यले स्थापित कम्पनीले गण्डकी प्रदेश अन्तरगतको लमजुङ जिल्ला सुन्दरवजार नगरपालिका वडा नं ३ र ४ मा एकिकृत कृषि फार्मसँगै गण्डकी प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँगको सहकार्यमा संचालित व्यवसायिक इक्युभेसन सेन्टर मार्फत ‘लर्न एण्ड डु’ तालिम समेत संचालन गरिँदै आएको छ ।

कम्पनीमा अहिले ४२ जिल्लाका एक सय ४० युवा १८ करोडको लगानी सहित लगानीकर्ता एकिकृत छन् । अहिले तीन सय रोपनी क्षेत्रफलमा व्यवसाय संचालन गर्दै आएको आराभले अहिले आफ्नै लगानीमा जग्गा खरिद गरेर व्यवसाय संचालन गरिरहेको र सरकारका विभिन्न निकायसँग समन्वय गरेर सरकारले लिजमा जग्गा दिएको अवस्थामा बिस्तार उनीहरूको सोंच छ ।

आराभको टिममा क्यानडा भिसा लगाएर बसेका युवाहरू समेत विदेश नगएर व्यवसायमा संलग्न भएर बसेकाछन् । जसमा संस्थामा विभिन्न पेशामा संलग्न भएका कलाकार देखि अन्य व्यवसाय गरिरहेका युवाले समेत लगानी गरेकाछन् ।

‘हामीले विदेशमा गएर त्यहाँको प्रविधि, भुगोल हेरेर बुझ्यौं । जहाँ सबैतिर मरुभूमि छ । माटो अर्को देशबाट ल्याउनुपर्छ, पानी अर्को देशबाट ल्याउनुपर्छ, श्रम बाहिरबाट ल्याउनुपर्छ, उच्च तापक्रमको हावापानी छ, प्रकृतिले साथ दिएको छैन, त्यस्तो ठाउँमा पनि सबै कुरामा लगानी गरेर व्यवसाय गरेर बसेकाछन्’ बजगार्इंले भने, ‘इजरायल ८० प्रतिशत भुभाग मरुभूमिले ढाकिएको छ । इजरायलमा प्रयोग हुने खालको उच्च स्तरीय प्रविधिको प्रयोग गर्न संभव पनि छैन र आवश्यक पनि छैन । इजरायलको प्रविधि हामीलाई जुन प्रभावकारी हुन्छ, त्यसलाई प्रयोगमा ल्याउँछौं, आवश्यक नभएको अवस्थामा त्यसलाई प्रयोगमा ल्याउन्नौं ।’

उनी सबै कुराको अनुकुलताको फाइदा उठाउने कुरामा नेपाली पछाडी परेको उनको ठम्याईं छ । ‘हाम्रोमा त्यस्तो असहज अवस्था केही छंैन, कृषि गरेर खानको लगि विश्वमै नेपाललाई प्रकृतिले दिएको छ । यो अनुकुलताको फाइदा किन नउठाउने भनेर यो अभियान चलाएका हौं।’ उनले भने ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको समन्वयमा किसानको लागि तालिम संचालन गर्दै आएकाछन् । कृषिमा तरकारी खेती, गाइपालन, मत्स्यपालन, कुखुरापालन, बंगुरपालन, केराखेती लगायतलाई प्राथमिकता दिएको बजगाईंको भनाइ छ ।

परियोजनाको नाम आराभा नेपाल राख्नुको मुख्य कारण आराभा भनेको इजरायली हिब्रु भाषामा मरुभूमी अर्थात आराभा भन्न अर्थ लग्दछ । सोही क्षेत्रमा रहेको ‘डेड सि’ अर्थात विश्वकै होचो स्थान ‘डेड सि’ पनि विश्वकै अग्लो शिखर सगरमाथा र सि लेभलबाट माइनस ४२२ मा पर्ने डेड सिको सम्वन्ध प्रगाढ हुनुपर्ने बजगाइले बताए । यस्तै सम्वन्धका कारण नेपालले इजरायलसँग जति फाइदा लिनुपर्ने हो सोहि अनुरुप लिन नसकेकोमा समेत गुनासो पोखे ।

‘इजरायलको कुल जनसंख्यको ३ प्रतिशतले खेती गर्दा ९० प्रतिशत उत्पादन विश्वका अन्य देशहरुलाइ निर्यात गर्ने गर्दछ र नेपालले पनि इजरायली प्रविधि प्रयोग गरि हामीले केही बर्षमै नेपाललाई आवश्य धेरै कृषि उत्पादनमा अत्मनिभरसँगै निर्यातको चरणमा लग्न सक्नेमा विश्वस्त छन् । हाम्रो जाँगर र राज्यको इच्छाशक्तिलाई मिलाउने हो भने परिवर्तन हाम्रै पालामा सम्भव रहेको बजगाईं बताउँछन्’ उनले भने ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं