Sunday, August 1, 2021

राजनैतिक खिचातनीले संकटमा गान्धी आदर्श, विद्यालय र नगरपालिकाका आफ्नै तर्क

काठमाडौं–काठमाडौं उपत्यकाको नमुना विद्यालयको रूपमा चिनिएको कागेश्वरी मनोहरा नगरपालिका –९ स्थित गान्धी आदर्श माध्यामिक विद्यालय भित्रको विवाद झन् गहिराईमा फस्दै गएको छ ।

विद्यालय र नगरपालिकाबीचको आन्तरिक द्वन्द्वको कारण विद्यालय लामो समय देखि चर्किएको विवादले विद्यालयका नियमित गतिविधिका समेत असर पुगेको हो ।

अगाडि देखि नै ध्यानकर्षण गराउँदै आएका कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का सभापति अनिल थापाले नगरपालिकाका मेयर कृष्णहरि थापाको आफ्नो व्यक्तिगत स्वार्थको पुर्तिको लागि विद्यालयलाई संकटमा पारेको बताउँछन् ।

‘विद्यालयका प्रधानाध्यापक गणेश चन्दलाई हटाउने र आफ्ना निकटका व्यक्तिलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रयास सफल नभएपछि विद्यालयको खाता रोक्का गर्ने र विद्यालयका शिक्षकलाई सरुवा गर्ने लगायतका गतिविधि गर्दै आएकाछन्’ उनी भन्छन्, ‘यो सबै मेयर थापाको अमानवीय र अराजनीतिक चरित्रका कारण सबै भएको छ ।’

उनले लामो समय देखि शिक्षकले तलब नपाएको र विद्यार्थीलाई वितरण गरिने पुस्तक खरिदमा समेत गाह्रो परेको र नमुना विद्यालय योजनाका काममा समेत असर परेका बताउँछन् ।

सरकारी विद्यालयमा राजनीतिकरण हुँदा गुणस्तर विग्रने भन्दै आफूले त्यसलाई नियन्त्रण गर्ने प्रयास गरेको तर मेयरले जवरजस्ती आफ्ना कार्यकर्ता भर्ती केन्द्रको रुपमा विद्यालय चलाउन खोजेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम खड्काको गुनासो छ । ‘पार्टीको पहुँचको भरमा शिक्षक नपठाउनुस् भनेर मैले नगरपालिकालाई पटक पटक आग्रह गरें, तर नमाने पनि अहिले विद्यालयका सरुवा बढुवाका सबै प्रकृया रोकेको छु’ उनले भने ।

उनले मेयर लगायत जनप्रतिनिधिले विद्यालयको विकास निर्माणमा समेत असहयोग भएको गुनासो गरे ।

‘मेयर लगायतका जनप्रतिनिधि सबैले यही विद्यालयमा अध्ययन गरेका हुन्, यो विद्यालय काठमाडौं उपत्यकाको नमुना विद्यालयमा पर्छ तर विद्यालयमा पर्ने योजना समेत पर्न नदिने र परेको बजेट पनि फ्रिज गराउनमा उद्धत छन् ।’ उनले भने ।

उनले नगरपालिकाले राजनीतिक प्रतिशोध साँधेर प्रधानाध्यापकलाई हटाउने प्रयासमा लागेको आरोप लगाए । ‘हटाउनको लागि पनि प्रकृया हुन्छन्, बरबुझारत हुन्छ, अर्को व्यक्ति तयार हुनुपर्छ , विज्ञापन गर्नुपर्छ तर एकोहोरो हटाउ भनेर दवाव मात्र दिइएको छ, मैले त्यो नमानेको हो’ उनले भने, ‘हटाउने कुरामा विमति रहेन तर प्रकृया पुरा गर्नु त पर्यो नी भन्ने मेरो राय हो ।’ उनले भने, ‘अहिले उहाँहरूले नमुना स्कुल पनि भताभुंग बनाउनुभयो, शिक्षकले तलब पाएका छैनन्, विद्यालयको खाता समेत बन्द गरेर मेयरले घात गर्नुभएको छ ।’

खाता बन्द गर्दा नमुना विद्यालयको लागि आएको बजेटको कार्यान्वयनमा समेत असर पारेको बताए । उनले भने, ‘खाता बन्द हुँदा टेन्डर समेत गर्न पाइएको छैन, खाता नहुँदा टेन्डरको डिपोजिट गर्न सक्नेसम्म अवस्था भएन, सबैतिरको दवावमा अहिले एउटा खाता चलाउन दिएको छ, त्यही खातामा टेन्डर प्रकृया अगाडि बढाएका छौं ।’

अध्यक्ष खड्काले मेयर थापाले अनावश्यक रुपमा आफ्ना मान्छेलाई विद्यालयमा शिक्षकका रुपमा पठाउने र यहाँका राम्रो शिक्षकलाई अन्यत्र सरुवा गर्ने अभियानमा रहेको आरोप लगाए । ‘त्यही रोक्ने प्रयास गर्दा असहयोग भएको छ । नगरपालिकाको गल्ती भन्ने कुरा अभिभावक देखि सबैलाई थाहा छ । गत वर्ष ४० लाख रकम फर्कियो, अहिले मन्त्रीज्यूलाई आग्रह गरेर ८२ लाख रुपैयाँ रकमको काम अगाडि बढाएका छौं ’ उनले भने ।

समस्या समाधानको लागि आफू हदैसम्म लचक भएको उनले बताए । ‘उहाँले तोकिएकै मान्छे (भोजराज पोखरेल) लाई प्राचार्य बनाएर पठाउनु भन्नुभयो मैले सोही अनुसार पठाएँ, समस्या समाधान हुन्छ भने किन नगर्ने भनेर पठाएको हुँ’ उनले भने, ‘तर मेयरसाबले मान्नु भएन भन्ने खबर आयो, मलाई काम नगर्नै नदिने अवस्था आयो, मैले छाडे यो भर्ती केन्द्र बन्ने निश्चित छ, के गरौं को अवस्थामा छ ।’

उनले नगरपालिकाले अव्यावहारिक तरिकाले स्थानीय शिक्षकलाई बाहिर पठाउने र बाहिरका शिक्षक गान्धीमा ल्याउने काम भएको बताए ।

मेयर कृष्णहरि थापा प्रधानाध्यापकको पदावधि सिद्धिएको तीन वर्ष भइसकेको भएपनि विद्यालय व्यवस्थापन समितिले अटेर गरेको बताउँछन् । ‘विद्यालय व्यवस्थापन समितिलाई हामीले पदावधि सकिएको प्रधानाध्यापकबाट काम नहुने भनेर पत्र लेखेका थियौं । व्यवस्थापन समितिलाई हामीले तीन वर्ष देखी निरन्तर आग्रह गर्दा पनि व्यवस्थापन समितिले नयाँ प्रकृया सुरु गरेको छैन ।’ उनले भने, ‘प्रधानाध्यापक गणेश चन्द आफू पनि नहट्ने र आफू भन्दा सिनियरलाई पनि स्वीकार नगर्ने गरेकोले कार्य पालिकाको बैठकबाट उनलाई हटाएर भोजराज पोखरेललाई नियुक्त गर्यौ तर उनलाई पनि हाजिर गर्न दिइएन भनेर उनले काम गरेनन् ।’

मेयर थापाले आफूहरू प्रअ चन्दलाई स्वीकार गर्न नसक्ने तर उनी कायमै रहँदा समस्या उत्पन्न भएको बताए । उनले भने, ‘चन्दले आफूलाई हटाइएको भनेर सर्वोच्चमा रिट पनि हालेका थिए तर स्टे अर्डर आएन, उनी जवरजस्ती बसेकाछन्, हामीेले उनको हस्ताक्षर मानेका छैनौं भएको त्यत्ति हो ।’

अख्तियारको निर्देशन अनुसार एउटा खाता बाहेक अरू रोकिदिएको उजले स्वीकारे । ‘एउटा हैन १४ वटा खाता छन्, एउटा बाहेक अरू रोकिएको छ, तलब शिक्षकको व्यक्तिगत खातामा गएको छ’ उनले भने, ‘प्रअ लगायत चार जनाको तलब रोकिएका हों, बाँकीको तलब हामीले खातामा गएको छ ।’

उनले नेपाल सरकारको नियमानुसार गरिएका पद मिलानलाई स्वीकार नगरिदिने, पठाएका शिक्षक हाजिर नगराइदिने आफ्ना शिक्षक बाहिर नपठाउने भएको बताए । उनले भने, ‘हामीले सबै प्रकृया पुराएर सिनियरिटीका आधारमा विद्यालय रोज्न पाउने व्यवस्थाका आधारमा गान्धी स्कुल पठाएका हौं, हामीले केही स्वार्थ साँधेका छैनौं, दरबन्दी मिलान नगरेको अवस्थामा बजेट आउँदैन, मिलान गर्दा यस्ता दवाव आउँछन् ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं