Saturday, July 24, 2021

उपनिर्वाचनबाट राष्ट्रिय सभाका पुगेका यी दुई सांसद पहिलो पटक बोल्दै सरकार विरुद्ध खनिए

काठमाडौं–राष्ट्रिय सभाको सोमबारको बैठकमा नव निर्वाचित दुई सांसदले धारणा राखे । राष्ट्रिय सभाको उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको भोटबाट चुनाव जितेका स्वतन्त्र सांसद खिमलाल देवकोटा र कांग्रेस सांसद दृग नारायण पाण्डेय राष्ट्रिय सभामा पहिलो पटक बोले ।

केही महिना अघिसम्म एमाले मै रहेका यी सांसदले सरकारका गतिविधिको खुलेर विरोध गरे । सांसद देवकोटाले संविधान विघटन देखि चुच्चे नक्साको प्रयोग नभएको नालीबेली खोले ।

उनको भनाई थियो, ‘प्रतिनिधि सभाको दुई दुई पटक गरिएको विघटन संविधान प्रतिको इमान्दारिता हो कि बेइमानी ? सपथ ग्रहणको बेला ‘त्यो भन्न पर्दैन’ भन्ने राष्ट्रपतिले दोहोराएर सपथ खुवाउनु पर्नेका अर्को दिन सपथको लाई पनि परिमार्जन गरिएको अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिले कसरी संविधानको रक्षा गर्ने ?’

देवकोटाले सामान्य लाग्ने तर राष्ट्रिय महत्वको विषयमा सरकार चुक्दै गएको बताए । ‘कालापानी र लिपुलेक सहितको नक्सा संसदबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ तर भूमि फिर्ता त भएको छैन ।’ उनले भने, ‘पाठ्य पुस्तकमा चुच्चे नक्सा राखिएको छैन । राखिएकै किताव पनि बिक्री वितरणमा रोक लगाइएको कुरा गत वर्ष देखि नै सुनिँदै आएको हो ।’

उनले संसद, सर्वोच्च अदालत देखि विभिन्न मन्त्रालयका वेव पेजमा अहिले पनि पुरानै नक्सा रहेको र नामाकरण भएको तीन वर्ष पुग्दा समेत विभिन्न प्रदेशलाई अहिले पनि अंक मै लेखिएको बताए ।

अर्का सांसद पाण्डेय पनि सरकार विरुद्ध खनिए । सरकार र अहिलेको सरकारको नेृत्व गरेको पार्टी आफ्नै कारणले पछाडि परेको उनको भनाइ थियो । लिपुलेक र लिम्पियाधुरा जस्ता सार्वजनिक महत्वको विषयमा प्रतिपक्षले साथ दिएको उदाहरण भएको भन्दै यसले राष्ट्रिय एकताको सन्देश दिएको भएपनि त्यसलाई सकारात्मक भएर फाइदा उठाउनुपर्नेमा वेवास्ता गरेको उनको आरोप थियो ।

प्रतिपक्षले सालिन रुपमा सरकारको सहयोग गर्दै आएको भएपनि जनताका माग र आवश्यकता पुरा गर्न सरकार तयार नदेखिएको भन्दै सरकारले मनपरि संविधान विरोधी काम गर्दा त्यसलाई सर्वोच्च अदालतले मनपरी रोक्न अगाडि आएको बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं