Sunday, August 1, 2021

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं – विभिन्न स्थानमा गरी सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भयको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्ध ह्यात गेट नजिक सडकमा बा.६४ प ८२६३ नम्बरको मोटरसाइकल र  बा.६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने नुवाकोट घर भएकी १८ वर्षीया बिजा तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीकाे बलरा नगरपालिका-७ डुमरिया चोकस्थित सडकमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बिआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने कल्याण मण्डलको छोरा ८ वर्षीय राजा मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनकाे भरतपुर महानगरपालिका-१ आँपटारीस्थित सडकमा ग.१ ख ९७५६ नम्बरको ट्रकले बागमती प्रदेश ३-००३ प ३५४३ नम्बरको स्कुटर र प्रदेश २-०३-००७ प ७१९६ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिंदा बागमती प्रदेश ३-००३ प ३५४३  नम्बरको स्कुटरमा सवार तनहुँ देवघाट गाउँपालिका-१ बस्ने ४२ वर्षीया चिनीमांया पौडेलको घटनास्थलमै मृत्यु भएको छ । दुवै स्कुटरमा सवार चालक सहित घाइते भएका ३ जनामध्ये १ जनालाई पुरानो मेडिकल कलेज भरतपुर र २ जनालाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नवलपरासी(पश्चिम) काे प्रतापपुर गाउँपालिका-९ अठलहियास्थित सडकमा युपि ५३ सिए ३८१५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका-९ बेलाटारी बस्ने ६० वर्षीय प्रेम प्रकाश मिश्रको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं