Sunday, August 1, 2021

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण

काठमाडौं – नेपाली सेनाले नेपाल प्रहरीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको छ । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो हतियार नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षामा उपयोगी हुने सेनाले विश्वास लिएको छ । यसबारे मन्त्रिपरिषद्को गत जेष्ठ १७ गते बसेको बैठकले नेपाली सेनाले कुनै पनि मूल्य नलिइ विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा उपलव्ध गराउने निर्णय गरेको थियो ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

उपलव्ध गराइएका हतियारको मर्मत तथा सञ्चालन तालिम समेत सेनाले नेपाल प्रहरीलाई प्रदान गर्ने जनाइएको छ ।

यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त कार्यक्रममा बलाधिकृत रथी श्री प्रभुराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिती रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं