आइसिएआइले रद्ध गर्यो नेपाल केन्द्र रहेका सबै परीक्षा, अन्यौलमा विद्यार्थी, अब कहिले हुन्छ परीक्षा ?

काठमाडौं– द इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्स् अफ इण्डिया (आइसिएआइ) ले काठमाडौं केन्द्र रहेर जुलाई ५ (आज) देखि संचालन ल्याउन लागेका आफ्ना सबै परीक्षा रद्ध गरको छ ।

आइसिएआइले परीक्षाको अघिल्लो दिन सूचना निकालेर निषेधाज्ञा लगायतका अवरोधलाई कारण देखाउँदै परीक्षा रोकेको हो । आइसिआइले काठमाडौं (नेपाल) परीक्षा केन्द्रका परीक्षा मात्र रद्ध गरेको जनाएको छ ।

सूचना अनुसार विद्यार्थीले अघिल्लो फर्मको आधारमा नोभेम्बरसम्ममा परीक्षा दिन पाउनेछन् ।

परीक्षा रोकिएसँग यस विषयमा मिश्रित प्रतिकृया आएका छन् । सीए सुरेन्द्र बहादुर केसी अन्तिम समयमा सूचना आउनु त्यसमा पनि अस्पष्ट सूचना आउनुले विद्यार्थीमा अन्यौलता सिर्जना भएको बताउँछन् । ‘पक्कै पनि नेपालले समन्वयको प्रयास गरेको थियो होला तर आइसिएआइले त्यसलाई कम चासो दियो जस्तो लाग्छ, परीक्षाको मुखमा विद्यार्थी निश्चिन्त हुने अवस्था रहेन’ जयदेशसँग कुरा गर्दै उनले भने, ‘नोभेम्बर मै गर्ने हो भने पनि स्पष्ट हुुनुपर्यो, विद्यार्थी हुन्छ, हुन्न मै अन्यौल भएर बस्ने अवस्था आयो’ ।

सामाजिक संजालमा राजेश खत्रीले लेखेका छन्, ‘हामी जो परीक्षा केन्द्रका आएर बसेका थियौं, तिनले अब नोभेम्बर कुर्नुपर्ने हो ? ३९ दिन अगाडि परीक्षाको मिति तोकिँदा परीक्षा केन्द्रमा आएर नबस्ने विद्यार्थीको गल्ती हो, हामी नोभेम्बर अगाडि नै परीक्षा दिने व्यवस्था होस् ।’

परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू अन्तिम समयमा परीक्षा रद्ध हुँदा लामो तयारी माथि धक्का पुगेको भन्दै गुनासो गरेका छन् । उनीहरूको माग छ, ‘हामी पूर्ण तयारीका साथ बसेका छौं, परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै छिट्टै संचालनमा आओस् ।’

नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ (एक्यान)का अध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले असहज परिस्थितिका कारण अगाडि देखि नै आग्रह गरिएको भएपनि अन्तिम समयमा आएर परीक्षा रोकिएको जानकारी दिए ।

‘काठमाडौं बाहिरका केही विद्यार्थीले परीक्षा रोक्न गर्न आग्रह गरेका थिए । धेरै दुर्गम जिल्लाका विद्यार्थी पनि छन्, यो असहज अवस्थामा काठमाडौं आउन सक्ने अवस्था थिएन, ‘ उनले भने, ‘परीक्षा चलाउन मिल्ने नमिल्ने नेपाल सरकारको अस्पष्ट नीतिका कारण आइसिएआइलाई निर्णय लिन पनि समय लागेको बुझिन्छ, हामी निरन्तर सम्पर्कमै छौं, केही सहज हुँदा साथ रोकिएको परीक्षा संचालन हुन्छ ।’

उनले सबै विद्यार्थीको मर्का बुझेर निर्णय लिनुपर्ने हुनाले यो निर्णयबाट असन्तुष्ट नहुन विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘केही तयारी गरेका र काठमाडौं आइपुगेका विद्यार्थीलाई पक्कै चित्त बुझेको छैन तर सबैको मर्का बुझौँ, स्थिति सहज बनेसँगै परीक्षा दिने वातावरण बनाउने गरि क्रियाशिल छौं’ ।

यस विषयका आइसिएआइको नेपाल स्थित कार्यालयकी परीक्षा संयोजक प्रियांका रौनियारलाई सम्पर्क गर्दा उनले आइसिएआइले अन्तिमसम्म पनि परीक्षा संचालन गर्ने कोशिश गरेको भएपनि सफल नभएको बताइन् ।

‘हामीले परीक्षा संचालन गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति माग्यौं, निषेधाज्ञाको कारण भौतिक रुपमा परीक्षा संचालन गर्न नपाउने अवस्था रह्यो । उहाँहरूले अनुमति दिन नसक्ने बताएपछि परीक्षा रद्ध भएका हो ।’ उनले भनिन् ।

उनले परीक्षा कहिले राख्ने भन्नेमा केही निर्णय नभएको बताइन् । ‘हामीले नोभेम्बर र मे महिनामा परीक्षा लिन्छौं, यो परीक्षा मे महिना देखि सर्दै आएको हो, विशेष परिस्थितिका कारण परीक्षा दिन छुटेका विद्यार्थीलाई अर्को सत्रमा परीक्षा दिने सुविधा हुन्छ, अहिले भएको त्यही हो’ उनले भनिन्, ‘अहिले नेपाल सेन्टर बाहेकका सबै तिर परीक्षा भइरहेको छ । नेपालकै सन्दर्भका के निर्णय लिन्छ भन्न सक्ने अवस्था छैन ।’

उनले निषेधाज्ञा लगायतका कुरालाई ध्यानमा राख्दै केही निर्णय लिन सक्ने बताइन् । उनले भनिन्, ‘नभए पनि नोभेम्बरमा त कुनै पनि शर्तमा परीक्षा त हुन्छ नै त्यस यताको लागि अहिले केही भन्न सकिन्न । सूचना आउँछ ।’

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं