Wednesday, August 4, 2021

कोन्ज्योसोमका हरेक वडा नमुना वडा बनाएर सिंगो पालिकालाई सपनाको पालिका बनाउँछौं

आजको नगरकोट, आजको चन्द्रागिरी, आजको धुलिखेल जस्तो छ, त्यत्तिकै चर्चित एक पटक पुग्नै पर्ने कोन्ज्योसोम बन्नेछ । गाउँवासीले जे सपना बोकेकाछन्, त्यो पुरा हुन्छ भन्नेमा मलाई पुरा विश्वास छ ।-अध्यक्ष सिंतान

ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिका ललितपुरका तीन गाउँपालिका मध्य एक हो । साविकका चौघरे, शंखु, दलचोकी, नल्लु र भारदेउ गाविसलाई समेटी साविकको चौघरे गा.वि.स.को कार्यालय भवनलाई केन्द्र बनाई ५ ओटा वडा कायम गरी गाउँपालिका घोषणा गरिएको हो।

यस गाउँपालिकाको उत्तरमा गोदावरी नगरपालिका, पश्चिमतिर गोदावरी नगरपालिका र बाग्मती गाउँपालिका, दक्षिणमा बाग्मती र महाङ्काल गाउँपालिका र पूर्वमा महाङ्काल गाउँपालिका र काभ्रेपलाञ्चोक जिल्ला रहेका छन् । कोन्ज्योसोम गाउँपालिकाको क्षेत्रफल ४४.१६ वर्ग कि.मि. छ ।

ललितपुर जिल्लामा नयाँ गठन भएका नगरपालिका तथा गाउँपालिकाहरूमा सम्भावना बोकेको गाउँपालिकाको रुपमा कोन्ज्योसोम गाउँपालिका हो । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ९ छ । जसमा महिला ५ हजार १ सय १३ (५२.६६ प्रतिशत) र पुरुष ४ हजार ५ सय ९६ (४७.३४ प्रतिशत) छ ।

ललितपुर जिल्लाको धार्मिक तथा पर्यटकीय दृष्टिकोणका साथै यहाँ उपलब्ध प्रशस्त खानीको स्रोतले यस गाउँपालिकालाई महत्वपूर्ण क्षेत्रको रुपमा लिइन्छ । ग्रामीण क्षेत्रको रुपमा रहेको यस गाउँपालिकामा ब्यापार, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् ।

पालिकाको नेतृत्व गरिरहेका पालिका अध्यक्ष गोपीलाल सिंतान पालिकामा प्रचुर विकासको संभावना भएको र पालिकाले गरिरहेका गतिविधि त्यस तर्फ केन्द्रित रहेको बताउँछन् । उनको भनाई छ, ‘पालिकाका हरेक वडा कुनै न कुनै पहिचान सहित नमुना बन्छन् र समर्गमा कोन्ज्योसोम सपनाको पालिका बन्छ ।’

जयदेशकर्मी सुन कुमारी थिंङ्गले पालिकको विकास, योजना र संभावनाको सेरोफेरोमा रहेर कुराकानी गरेकी छिन् । यहाँ त्यसैको सम्पादित अंश समेटिएको छ ।

पालिकाले बजेट सार्वजनिक गरिसकेको छ, कस्ता कस्ता योजना तथा कार्यक्रम प्राथमिकतामा परे ?

शिक्षा, भौतिक पूर्वाधार, कृषि तथा पशुपंछीका क्षेत्रहरू नै बढी प्रथमिकतामा परेका क्षेत्र हुन् । पुल पुलेसा निर्माणका योजना पनि हाम्रो प्राथमिकताका क्षेत्र हुन् । यस क्षेत्रको पर्यटन विकासलाई पनि हामीले उत्तिकै महत्वका साथ हेरेका छौं ।

स्थानीय तह आफैमा स्वायत्त निकाय हो । स्थानीय तहमा बजेट निमार्ण र कार्यान्वयनमा एक खालको परिक्षण पनि हो, विगतका वर्षमा हेर्दा हाम्रो पालिका कति सफल देखियो ?

पक्कै पनि यो हाम्रो एक खालको परीक्षा पनि हो । यसलाई कसरी कार्यान्वयन गर्ने र कसरी अगाडि बढाउने भन्ने खालका अन्यौलता थिए । तर पनि हामीले यसबीचमा योजना गरेका हरेक योजना सन्तुलित नै छन् । सफल नै देखिएका छन् । हामीले विगतका वर्षमा पनि प्राथमिकतामा राख्ने भनेको अहिले कै प्राथमिकता जस्तै हो । परिणाम हेर्दा ती सफल नै देखिएका छन् ।

उद्यमशिलता, महिला, बालबालिका लगायतलाई लक्षित गरेर संचालन गरेका कार्यक्रम पनि हाम्रा सफल कार्यक्रममा पर्छन् ।

प्राथमिकता छनौटमा कस्ता अफ्ठ्यारा आए , योजना छनौट र कार्यान्वयनमा स्थानीय नागरिकको सहभागिता कस्तो रह्यो ?

हामीले नीति तथा कार्यक्रम बनाउनु भन्दा अगाडि योजना तर्जुमा, आवधिक योजना तथा नेपाल सरकारका राष्ट्रिय योजना तथा लक्ष्यमा रहेर कार्यक्रम तथा बजेट बनाइएको छ ।

कोभिड–१९ को महामारीको कारण हामीले आफ्नो योजना अनुरुप लक्षित समुदाय तथा वडा स्तरमा भेला भएर कार्यक्रम तथा योजनाका बारेमा छलफल चलाउन पाएनौं । तर अन्य माध्यमबाट जनताका आवश्यकता पहिचान गरेर र हाम्रा पञ्चवर्षीय योजना र आवधिक योजनाको आधारमा रहेर योजनाहरू बनाएका छौं ।

योजना छनौटमा अफ्ठ्यारो भन्ने नै त आउँदैन, यसलाई कुन हिसाबले लिने भन्ने पनि हो । हामीले योजना गर्ने भनेको पालिकाले परिकल्पना गरेका र गाउँ गौरवका आयोजना नै हुन् । योजना छनौट सहमतिमै भएका छन् । यसमा सबैको सहमति छ ।

पालिकाका आफ्नै नीति निमार्ण गर्ने कुरा पनि छन् । त्यो नीतिको कार्यान्वयनको कुरा पनि छ कसरी अगाडि बढिरहेको छ ?

गाउँ पालिकाले बनाउने नीति भनेको प्रदेश र संघीय सरकारको नीति निर्माण भित्र रहेर गर्ने कुरा हो । संविधानले हामीलाई तोकिदिएको व्यवस्था भित्र रहेर गर्ने हो । हामी नीति बनाएपछि त्यसको कार्यान्वयन गर्ने गराउने र त्यसको अनुगमन गर्ने निकाय पनि हामी नै हो ।

हामीले नीति नियमको पालनामा प्रतिवद्ध छौ त्यसैले पनि यसमा प्रभावकारिता छ कसैबाट कुरा उठ्न सकेको छैन । यसैबीचमा पनि केही कमजोरी भएको अवस्थामा कसैबाट सुझाव गुनासो आए त्यसलाई पारदर्शी र जवाफदेही ढंगले अगाडि बढाउने मुख्य भूमिका हामी जनप्रतिनिधीको हुन्छ । हामी त्यसको कार्यन्वयनमा दृढ संकल्पका साथ प्रतिवद्ध छौं । अनुगमन र नियमनका काम गर्दै सच्चाउँदै अगाडि आइरहेका छौं ।

पालिका स्वायत्त भए पनि प्रदेश र केन्द्रसँग समन्वय गरेरै काम गर्नु परेको छ । समन्वय गर्न कति सहज असहज छ ?

हामी स्थानीय तहलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरेर काम गर्न त्यति सहज छैन । यी तीन सरकारबीचको समन्वयको पाटोलाई बाहिरबाट हेर्दा जस्तो कार्यान्वयनमा त्यति सजिलो छैन । संविधानले हामीलाई स्वायत्तता दिएको छ । तर संघीय तथा प्रदेश सरकारका विभिन्न कार्यविधी, आदेश, परिपत्र, सचिवस्तरको निर्णय, मन्त्रीस्तरीय निर्णय लगायतका बहानाबाजीमा संविधानले निदृष्ट गरेको हाम्रो स्वायत्तताको अधिकार उपभोग गर्न पाइएको छैन ।

केन्द्र तथा प्रदेश स्थानीय तहलाई कति स्वतन्त्र रहन कस्तो पहल हुनुपर्ला ?

यसको लागि राज्य पुर्नसंरचनामा जाँदा संविधानले जे व्यवस्था गरेको छ , जे सुविधा दिएको छ । अधिकार दिएको छ । त्यसको पूर्ण कार्यान्वयन गर्न स्थानीय तहले पाएको अवस्थामा थप केही पनि आवश्यक पर्दैन ।

अहिले गाउँ गाउँमा सिंह दरवार भनिएको छ तर स्थानीय तह स्वतन्त्र रहन नसक्दा स्वायत्तता को उपभोग गर्न नसक्दा त्यसको खास अनुभव छैन । यति स्वायत्तता र स्वतन्त्रताको कुरा लागु भए गाउँ गाउँम सिंह दरबार नै हुने थियो ।

कोन्ज्योसोमको अगाडि जानको लागि कस्ता कस्ता संभावनाका क्षेत्रहरु छन् ?

कोन्ज्योसोम गाउँपालिका हाम्रो नाम, सिमाना, भूगोल, प्राकृतिक स्वरुप सबैमा नमुना नै छ । ललितपुरको कृषि, पयर्टन, पूर्वाधारमा प्रचुर संभावना छ । हामी जनप्रतिनिधि आउनु भन्दा अगाडि र आएपछिको फरक हेर्दा पनि धेरै परिवर्तन देख्न सक्छौं । यसबीचमा भएका विकास निर्माणका कामले पनि हामी हिँजो र आजमा धेरै फरक बनेका छौं ।

कोन्ज्योसोम विशेष गरि पर्यटनमा राम्रो संभावना बोकेको ठाउँ हो । यसमा पर्यटनबाट आर्थिक रुपमा माथि उठ्नको लागि बलियो माध्यम बन्नसक्छ । दलचोकीको भ्यु टावर, शान्तिपार्क , यहाँका कृषि पकेट क्षेत्र, पशुपालन लगायतका धेरै कुराको बलियो संभावना यस गाउँपालिकामा छ ।

ती संभावनालाई सफल बनाउनको लागि के के चुनौती छन् ?

त्यसको लागि हामीले धेरै चुनौतीको रुपमा लिनुपर्ने छैन । संघीयर प्रदेश सरकारले तीन ओटा राजमार्गमा ध्यान दियो भने अरुलाई चुनौतीको रुपमा हेर्नुपर्दैन । हामी दलचोकी लगन खेल १७ किलोमिटरको दुरीमा छौं । भारदेउ वडा नं पाँच २२ किलोमिटरको दुरीमा छ । चौविसेको लागि २५ किलोमिटर छ । यी मुख्य सडकलाई कालोपत्रे गरिदिएको अवस्थामा हाम्रो संभावनाहरू धेरै छन् । धेरै कुराको अपेक्षा गर्नुपर्दैन । विकासमा उथलपुथल हुनसक्छ । अरू कुराहरूलाई व्यवस्थापन गरेर अगाडि जान हाम्रो पालिका सक्षम छ ।

आउँदो १० वर्ष पछिको कोन्ज्योसोम कस्तो कोन्ज्योसोम बन्छ ? के छ यहाँको आफ्नो भिजन ?

अबको १० वर्ष पछिको कोन्ज्योसोम र आजभन्दा १० वर्ष अगाडिको कोन्ज्योसोमलाई हामीले अहिले परिकल्पना गर्दा सपनाको कोन्ज्येसोम बनाउन सक्छौं । हामीलाई यो सपना हो कि ? भन्न लायकको कोन्ज्योसोम बनाउन सक्छौं । त्यो मेरो परिकल्पनामा छ । आजको नगरकोट, आजको चन्द्रागिरी, आजको धुलिखेल जस्तो छ, त्यत्तिकै चर्चित एक पटक पुग्नै पर्ने कोन्ज्योसोम बन्नेछ । गाउँवासीले जे सपना बोकेकाछन्, त्यो पुरा हुन्छ भन्नेमा मलाई पुरा विश्वास छ ।

पाँच वटा वडा फरक फरक भूगोलमा छ, विकासको वितरण समान छ ? कतै उपेक्षा गरेको गुनासो छ छैन ?

हामीले त्यस्तो उपेक्षा गरेका छैनौं । हामीले जनतामा दिएका प्रतिवद्धता र आश्वासन पुरा गर्नुपर्छ भन्ने मान्यता राख्छौं । दीर्घकालिन योजना र हाम्रो बशमा नरहेका योजना पुरा नहोलान् तर हामीले सक्ने र क्षमताले भेट्ने काम पुरा गर्न कुनै कसर बाँकी राख्दैनौं । हरेक वडामा कुनै न कुनै नमुना काम गर्छौं । हरेक योजनालाई फरक र नमुना बनाउने हाम्रो स्पष्ट भिजन छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं