Sunday, July 25, 2021

बाढी पहिरो पीडितहरुको उद्धारमा नेपाली सेना

काठमाडौं – केही दिनको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी / पहिरो गई जनजीवन प्रभावित भईरहँदा उक्त प्रभावित ईलाकाहरुमा नेपाली सेनाले जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज तथा उद्धार कार्य संचालन गरेको जनाएको छ ।

सेनाले चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ४ डेबौली चौधरी मिलन टोल र वडा नं. ८, रमाईलोडाँडा ईलाका तथा सोही जिल्लाको कालीका नगरपालिका स्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालीका बस्ती ईलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान भएकोले नेपाली सेनाको उद्धार टोलीद्वारा उद्धार कार्यमा सहयोग गरेको छ ।

साथै, कालीका बस्ती ईलाकामा पहिरोमा परि ५ जना हराईरहेका व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाको उद्धार टोली परिचालित भएका छन् ।

यस्तै सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका वडा नं.११ स्थित मेलम्ची खोलाले कटान गरेको स्थानमा सुरक्षा गुल्म मेलम्चीबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्यमा सहयोग गरेको तथा मेलम्ची नगरपालिका वडा नं.११ स्थित बजार ईलाकामा मेलम्ची खोलाले कटान गरेको स्थानमा उक्त सुरक्षा गुल्मबाट खटिएको नेपाली सेनाको उद्वार टोलीले १० वटा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको जनाएको छ ।

यस्तै चितवन जिल्ला, राप्ती नगरपालिका वडा नं.१२ स्थित पर्खालेको पहिरोमा पुरिएका ४ जनाको शव निकाल्ने कार्यको लागि नेपाली सेनाको उद्धार टोली परिचालित भएका सेनाले जनाएको छ ।

यसैगरी सिरहा जिल्ला, कर्जन्हा नगरपालिका वडा नं.३ स्थित कमला नदीले बगाएर ल्याएको दाउरा खोज्न जांदा बाढीको कारण भंगालोमा फसेको स्थानिय ३ जना महिलाहरुलाई नेपाली सेनाको उद्धार टोलीले उद्धार गरेको छ ।

साथै, धनुषा जिल्ला, रमौली गाउँपालिका वडा नं.२ निवासी बर्ष ६० को बाबु गिरी (बाबा) कमला नदीको बिच बगरको नर्सरीमा कुटी बनाई बसेकोले उक्त नदीमा आएको बाढिबाट हुने सम्भावित खतरालाई मध्यनजर गरी निज बाबालाई नेपाली सेनाको उद्धार टोलीले उद्धार गरी आफन्तको जिम्मा लगाईएको सेनाले जनाएको छ ।

रौतहट जिल्ला, राजदेवी नगरपालिका वडा नं.८ स्थित ब्रम्हपुरीमा बाग्मती नदीको बहाव बढ्न गई बस्ती ईलाकामा बाढी पस्न सक्ने सम्भावना भएकोले नेपाली सेनाको उद्धार टोलीद्वारा कटान गरेको स्थानमा तटबन्ध निर्माणको लागि सहयोग गरेका छन् ।

गोरखा जिल्ला, खारखोला र दरौंदी दोभान ईलाका तथा तनहुँ जिल्ला, भानु नगरपालिका स्थित चुदीखोला र छाप्दीखोलामा आएको बाढीका कारण स्थानीय बासिन्दाहरुको घर जोखिममा परेकोले नेपाली सेनाको उद्धार टोली परिचालित भएको सेनाले जनाएको छ ।

यस्तै मकवानपुर जिल्ला, बकैया गा.पा.–५ पावस र काठमाण्डौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं.–३ ईचंगुमा पहिरोको कारण जोखिममा परेको स्थानीयबासीको घरलाई सुरक्षित बनाउन नेपाली सेनाको उद्धार टोलीले पहिरो हटाउने कार्य गरेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं