बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु, ४४ जना घाइते तथा २४ जना बेपत्ता

काठमाडौं – अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएकोप्रहरी प्रधान कार्यालयले जनाएकाे छ। मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिका रहेका छन् ।  तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पामा ३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२ जना, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

यस्तै बाढीपहिरो र डुबानमा परी ४४ जना घाइते भएका छन् । तीमध्ये २४ जना पुरुष, ११ जना महिला, ६ जना बालक र ३ जना बालिका रहेका छन् । उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, म्याग्दी, सर्लाही, कास्की र डोटीमा ३/३ जना, जुम्ला र गोरखामा २/२ जना, पाँचथर, रौतहट, स्याङ्जा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

यसैगरी बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

त्यस्तै बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको जनाएकाे छ । साथै वर्षाको कारण ललितपुर, मोरङ, नवलपरासी (पूर्व), चितवन र बाजुरा लगायतका स्थानहरुमा बिहीबार र शुक्रबार बिहान पहिरो गई अवरोध भएको सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी रहेकाे प्रहरी जनाएकाे छ ।

यस्तै बाढीको कारण ३ सय ९७ वटा घर डुबानमा परेका छन् । ४ सय ९१ वटा घर, ८४ वटा गोठ, ३८ वटा पुल, ३ वटा विद्यालय र १० वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ हजार ४३ वटा घरका ४ हजार ९ सय ५५ जना मानिस विस्थापित भएका छन् भने ८ सय २ वटा पशु चौपायको मृत्यु भएको प्रधान कार्यालयले जनाएकाे छ। उक्त अवधिमा ३ सय ३० वटा विपद्‍का घटना भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका जनाइएकाे छ। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं