सडक जनावरका ‘साथी’

रमेश बोहरा/पुजा मल्ल

कोरोना महामारीको कारण चोक, गल्ली, सडक सुनसन हुँदा एउटा स्वयमसेवी संस्थाका सदस्यहरूको व्यवस्तता झनै बढेको छ । शहरका होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, किराना पसल, घुमफिरका क्षेत्र बन्द हुँदा त्यसले व्यवसायीलाई कति असर गर्यो भन्ने कुरामा सबैको ध्यान छ तर प्रत्यक्ष अप्रत्यक्ष रुपमा तिनैबाट आफ्नो जीवन धानिरहेका सडकका जनावरहरूको चिन्ता लिने भने कमै छन् ।

सडक र गल्लीमा बस्ने कुकुरहरू भोकले भौतारिएर मान्छे नै खाउँला झै गर्दा उनीहरुको कल्याणको लागि स्थापना भएको ‘स्ट्रे वेलफेयर सोसाइटी (एसडब्लूएस)’ का स्वयमसेवी सदस्यहरू उनीहरूको भोक मेटाउने अभियानमा जुटेकाछन् । लकडाउनमा मात्र हैन, सामान्य समयमा पनि उत्तिकै सक्रिय रहने यो समूह कुकुरलाई खाना मात्रै हैन उनीहरू दुर्घटना र बिरामी पर्दा उपचारमा समेत संलग्न हुँदै आएको छ ।

लगातारको झरीले हल्का बिश्राम लिएको बेला गत बुधबार बिहान यो समूहले स्वयम्भूमा कुकुर र बाँदरलाई खाना खुवाइरहेको थियो । मंगलबार बिहान जयदेशसँग कुरा गर्न समय मिलाउन फोन गर्दा बौद्धमा कुकुरको उपचार सकाएर लगनखेलमा अर्को केश हेर्न पुगेको बताएका यस संस्थाका अध्यक्ष उमेश तिमिल्सिना ले गत बुधबार बिहानको लागि समय दिएका थिए ।

कुकुर र बाँदरलाई खाना खुवाउन व्यस्त उनलाई हामीले स्वम्भुमै भेटेर अभियानको नालीबेली खोतल्ने कोशिश गर्यौं :

यो क्षेत्रमा काम गर्ने संस्थाको आवश्यकता महसुस कसरी भयो ?

नेपालमा मुख्यगरी शहरका सडकमा कुकुर, बिराला, गाइ लगायतका जनावरहरू वेसाहारा अवस्थामा भेटिएका हुन्छन् । उनीहरुले खान नपाउने, घाइते हुँदा उपचार नपाउने र विभिन्न खालका रोगहरू लाग्दा उपचार नपाएको अवस्था छ । समस्या धेरै भयो तर यस क्षेत्रमा का मगर्ने संस्थाको संख्या एकदमै कम भयो । दैनिक ३० देखि ४० केश भेटिँदा त्यसको उद्धारमा का मगर्ने एउटै संस्थाले १० देखि १५ केश हेर्नुपर्ने भयो । तसर्थ जति धेरै संस्था पशु कल्याणको लागि स्थापना भयो । त्यतिनै यो अभियानमा सहयोग पुग्ने देखेर यो संस्थाको स्थापना भएको हो ।

नेपालमा अहिले पनि आम नागरिकलाई सडकका पशुको लागि खाना, उपचार, उद्धार, आवासको आवश्यकता छ भन्ने कुराको ज्ञानको अभाव छ । हामीले यो अवस्थालाई केही हदसम्म पनि सहयोग गर्न सक्छौं भनेर यो सस्थाको स्थापना गरेका हौं ।

यहाँहरुले यो अभियान कहिले देखि चलाउनु भएको हो ?

हामीले सानो सानो ग्रुपमा एक–डेढ वर्ष देखि सडकका जनावरलाई खाना खुवाउने र उद्धारका काम गर्दै आएका थियौं तर यो अभियानलाई थप प्रभावकारी बनाउनको लागि २ महिना अगाडि संस्था दर्ता गरेर व्यववस्थित तरिकाले काम गर्दै आएका छौं ।

सेल्टरको व्यवस्था पनि छ कि खाना खुवाउने र उद्धार कार्य मात्र हो ?

अहिलेसम्म हामसँग सेल्टरको व्यवस्था छैन । सेल्टर निर्माणको लागि हामीले प्रक्रिया अगाडि बढाएका छौं । यसको आवश्यक सहयोगको लागि अपिल पनि गरिरहेका छौं । यसको लागि वित्तिय देखि जनशक्ति समेतको आवश्यक पर्ने हुनाले लकडाउन पछि यसलाई संचालनमा ल्याउने गरि यसको व्यवस्थापनमा जुटेका छौं । सेल्टर बिना सडकका पशुहरूको उद्धारको काममा अफ्ठ्यारो पर्ने कुरा हामीले मशसुस गरेका छौं । अहिले हामीले सडकमै पुगेर उपचार गर्नुपर्ने बाध्यता छ । कुनै पनि पशुलाई सुरक्षित र स्वच्छ तरिकाले उपचार गर्नुपर्ने हुन्छ तर सेल्टर बिना त्यो संभव छैन । कतिपय अपरेशनजन्य उपचार सेल्टर बिना संभव छैन ।


कुन कुन क्षेत्रमा सेवा दिइरहनु भएको छ ?

हामीले यो ठाउँमा सेवा दिने भन्दैनौं । उपत्यकाका सबै ठाउँबाट दैनिक १० देखि १५ वटा केशको लागि सम्पर्क भइरहेको हुन्छ । हामी स्थापित संस्था नहुँदा पनि हाम्रो मै यति धेरै केश आउँदा हामीले अनुमान गर्न सक्छौं समस्या कति होला । हामी जहाँ संभव छ उपत्यका भित्र पुगेका छौं । हाम्रो उपत्यका भन्दा बाहिर जाने योजना छ । उपत्यका बाहिर पनि हामीले आवश्यक सुझाव दिँदै आएका छौं ।

निषेधाज्ञकाबीचमा काम गर्न कत्तिको चुनौती छ ?

लकडाउनकाबीचमा हामी उद्धारमा जाँदै थियौं, त्यस बेला हामीलाई बाटोमै रोक्ने काम भयो । यो आपतकालिन र अत्यावश्यक सेवा हो । तर यस तर्फ बुझेर पशु कल्याणका काममा सहज वातावरण बनाउने काम भएको छैन ।
लकडाउनमा भेटेनरी सेवालाई आपतकालिन र अत्यावश्यक सेवामा राखेको भनिएपनि हामीले त्यस्तो महसुस गर्न पाएनौं । हामी हाम्रो संस्थाको कार्ड र ज्याकेटको पहिचानका साथ हिँड्यौं तर हामलाई प्रशासनको सिफारिस नभएको भन्दै रोक्ने काम भयो । लकडाउनमा सोंचे भन्दा धेरै कुकुरहरू दुर्घटनामा परेको पाइएको छ । अहिले पनि सामान्य अवस्थामा जस्तै केशहरु आएकाछन्।

सडकमा रहेका पशुहरू किन समस्यामा परे जस्तो लाग्छ यहाँलाई ?

अहिले पनि धेरैलाई पशुलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता पनि देखिएन । ‘माया नगर तर घृणा पनि नगर’ भन्ने कुराको पनि ध्यान नदिएर सडकका पशु कुट्ने, पिट्ने गरेको पाइयो । दुर्घटनामा परेको कुकुरलाई कुकुर न हो भनेर वेवास्ता गरेको पाइन्छ । पशु प्रेम भनेर त्यसमै समर्पित भएर लाग्नु पर्दैन । म पशुलाई घृणा नगरौं, दुर्घटनामा परेको देखेको अवस्थामा आफूले उद्धार गर्न नसके पनि खबर गरौं । उनीहरूको पनि बाच्न पाउने अधिकार छ । मान्छे र जनावरबीचको सम्बन्ध सधै राम्र्रो राख्न घर वरपर भएका कुकुरहरूलाई घरमा बाँकी रहेको खानेकुरा खान दिउँ । कतिपयलाई सडकका जनावरको उद्धारमा काम गर्ने संघसंस्था छन् भन्ने कुराको जानकारी पनि छैन त्यसको कारण पनि घाइते अवस्थामा भेटिँदा वेवास्ता गरेको पाइएको छ ।

एरिया छनौट कसरी गर्नुहुन्छ ?


लकडाउनमा होटल, रेस्टुरेन्ट, पसल बन्द भएकाले सडकका कुकुरहरुले खाना नपाउने समस्या छ । त्यसैले भोकको कारण कुकुरहरु धेरै भुक्ने र टोक्न जानेसम्म गरेका हुन्छन् । उद्धार कार्य हामीले नियमित रुपमा गरेकै हुन्छौं । खाना खुवाउने कुरामा कुकुरले खाना नपाएको एरिया खोज्छौं । हामीले थाहा नपाएको अवस्थामा हामीलाई फेसबुक, इन्स्टाग्राममा फ्लो गर्नेहरुले सूचना दिनुहुन्छ त्यसको आधारमा पनि हामी खाना खुवाउन जान्छौं ।

सेवासँग जनचेतना विस्तारको अभियानमा पनि हुनुहुन्छ होला, कतिको परिवर्तन आएको पाउनु भएको छ ?
हामी जुन एरियामा जान्छौं, त्यहाँ गएर हामीले सेवा दिँदा स्थानीय स्वयममा पनि जागरुकता आएको पाएका छौं । कतिलाई हामी आफै बुझाउने गरेका छौं । कोही नकारात्मक बनेको अवस्थामा पशुलाई हर्ट गर्दा यस्तोसम्म सजाय हुन्छ है भनेर पनि सम्झाउने गरेका छौं । जनावरलाई कस्तो व्यवहार गर्ने भन्ने कुरा बच्चा देखि नै जान्ने कुरा हो । वरिपरिको जनावरलाई राम्रो व्यवहार गर्ने भन्ने कुरा विद्यालय स्तरमा पनि सिकाउनुपर्छ । हामी विद्यालयमा गएर पनि सिकाउने योजनामा छौं ।

तपाई आफै यो अभियानमा कसरी संलग्न हुुनुभयो ?


म एक दशक भन्दा बढी समय युरोपमा बसेर आएको हुँ । २०२० को फेब्रुअरी तिर म नेपाल आउने तयारीमा थिएँ । त्यही बेला कोभिडको कारण लकडाउन सुरु भयो । त्यो समयमा जनावर कल्याणको काममा स्वयमसेवा गर्छु भनेर सम्झौता गरेको थिएँ । मैले स्वयसेवक बनाउने, कहाँ कहाँ खाना खुवाउनुपर्छ भन्ने कुराको जानकारी देखि पशु अधिकारका बारेमा लेख लेख्ने काम बाहिरै बसेर गरेको थिएँ । नेपालमा मानव अधिकारको क्षेत्रमा काम गर्ने धेरै संस्था छन् तर पशु अधिकारको क्षेत्रमा काम गर्ने एकदमै कम संस्थाहरु छन् । मैले दशक भन्दा बढीको व्यवस्थापनको ज्ञान आर्जन गरें, त्यो नेपालमा ल्याएर व्यवहारमा लागु गर्नु थियो । मेरो सम्पर्कमा रहेको स्वयमसेवी साथीहरूसँग कुरा गरेर हामी अभियानमै संलग्न भयौं ।

यो अभियान कहिलेसम्म रहन्छ ?


हाम्रो दीर्घकालिन लक्ष्य छ । हामी यत्तिकै रोकिनेमा छैनौं । दैनिक ३ देखि ४ सय कुकुरलाई अहिले उपत्यकाका विभिन्न ठाउँमा खाना खुवाउँदै आएका छौं । हामी अझै यो सेवा विस्तार गर्ने क्रममा छौं । त्यसको लागि धेरै भन्दा धेरै स्वयमसेवकलाई जोड्नुपर्छ । हामी निरन्तर खटिरहेका छौं । खाना खुवाउने, उद्धार गर्ने, अन्य व्यवस्थापकीय कार्य पनि हेर्नुपर्ने हुन्छ । म सधै आफू फिल्डमा खटिन नसकेपनि स्वमसेवकहरुलाई खटाउँदै आएको छु ।

म नेपालमा फर्किएर सामाजिक क्षेत्रमा केही गर्ने गरि नेपाल फर्किएको हुँ । म यत्तिकै यसलाई छाड्ने भएको भए संस्था निर्माण गर्ने नै थिएन । हामीले कानुनी रुपमै संस्था दर्ता गरे पश्चातका दुई महिनामा पाएको सकारात्मक प्रतिक्रियाले यो अभियानलाई दीर्घकालसम्म संचालन गर्नुपर्छ भन्ने लागेको छु । मैले कालान्तरमा यो अभियानको पूर्ण जिम्मेवारी लिनसक्ने अरु नबन्दासम्म म यसमै लाग्छु । अहिले मेरो योजना यस संस्थालाई अन्तराष्ट्रिय स्तरसम्म पुराउने सोंच छ ।

यहाँको संस्थको अहिलेको मुख्य समस्या के हो ?


हामीलाई जनशक्तिको ठूलो खाँचो छ । एक ठाउँमा खाना खुवाउनको लागि कम्तीका ५ जना जनशक्ति चाहिन्छ । अहिले हामीसँग ३० जनाको टिम छ । त्यस्तै अन्य सहयोग गर्ने स्वयमसेवक पनि त्यतिकै संख्यामा हुनुहुन्छ । अहिलेको युवा पत्तिंले नै हामीलाई सहयोग गर्छौं भनेर आउनुभएको छ । कतिजना आफै स्वयमसेवकको रुपमा आउन चाहनु भएको छ । कतिजनाले डोनेसन दिन्छु भन्नुहुन्छ । कतिले अरुलाई रिफर गरिरहनुभएको छ । यसले हामीलाई उत्प्रेरणा मिलिरहेको छ । हामी दिनरात यही काममा खटिनुपर्दा पनि यस्ता कुराले धेरै उत्प्रेरित गरिरहेको छ ।

संस्था दर्ता नगर्दासम्म हामीले स्वयमसेवक आफैले पैसा उठाएर, परिवारको सहयोग लिएर अभियान संचालन गर्यौं । खाना खुवाउनको लागि त्यति समस्या थिएन । कतिपय मिटसपले समेत म सहयोग गर्छु नि त भनेर पनि आउनुभएको थियो । तर उद्धारको काम महंगो हुने । एउटा कुकुरकै ४–५ हजारसम्म खर्च उठ्ने हुन्थ्यो । दिनमै हामीले ९ वटासम्म उद्धार गरेका छौं । यसले खर्च धेरै माथि जानेभयो ।

यहाँको संस्थाको निरन्तरताको चुनौती के हो ?


हामीले फेस गरेको मुख्य चुनौती भनेको आर्थिक चुनौती नै हो । यसमा डोनेसन एकदमै कम हुन्छ । हामीले स्वयमसेवी तरिकाले काम गरिरहेका छौं । हामी चल्नको लागि छुट्टै जागिर पनि गर्नुपर्ने हुन्छ । हामी आर्थिक रुपमा बलियो नभएको कारण पुरा समय दिन सक्दैनौं । पुरा समय दिनको लागि तलब दिएरै राख्नुपर्ने हुन्छ । म आफू यो संस्थाको व्यवस्थापकीय काम बाँकी रहेकोले अहिलेसम्म अन्त जागिर गरेको छैन । केही समय गर्दैन पनि होला । मान्छेलाई सहयोग गर्ने कुरामा स्वयमसेवक देखि अन्य डोनेसनको कुराहरु धेरै हुन्छ तर जनावरको केशमा त्यस्तो छैन । यसमा मेम्बर सर्पोटको पनि उत्तिकै समस्या छ ।

यो अभियानमा राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?


यो काम सरकारी तवरबाट गरेको भए हाम्रो जस्तो संस्थाको आवश्यकता पर्ने थिएन । सरकारलाई सहयोग गर्नुपर्छ । हामीले सहयोग गर्छौं । तर सरकारले यस्तो कामका लागि आवश्यक बजेटको व्यवस्थापन गरे एकदमै राम्रो हुन्थ्यो ।

यहाँको संस्थासँग कसरी जोडिने ?

हामीले स्वयसेवक सदस्य विस्तारको लागि अपिल गरिरहेका छौं । एउटा साधारण सदस्य हुन्छ, जसले हामीलाई आएर सहयोग गर्न सक्नुहुन्छ । सदस्यताको केही शुल्क पनि लाग्छ । अर्को सदस्य हामी कहाँ आएर नियमित रुपमा सहयोग गर्न चाहनेहरुलाई सिल्भर, गोल्डेन र ब्रोन्ज मेम्बरसिप भनेर तीन चार तहका मेम्बरसिप हामीले दिन्छौं । जसको लागि क्रमश मासिक हजार, पाँच सय र तीन सय दिनुपर्ने हुन्छ । पैसाको कुरा मात्र हैन हामीलाई सकेको जुनसुकै सहयोग गर्न सक्नुहुन्छ । जस्तो फोटोग्राफी गर्नेले यहाँ आएर फोटो खिच्न सक्नुहुन्छ । लेख्न जान्नेले यससम्बन्धी लेख लेखेर सहयोग गर्नसक्नुहुन्छ । यहाँहरुको जुनसुकै सहयोग हाम्रो लागि महत्वपूर्ण छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Latest Posts

spot_img

अहिले