Sunday, July 25, 2021

आइक्यान निर्वाचन : सर्वसम्मत गराउन ‘दाईहरू’ को सक्रियता

निर्वाचन प्रक्रिया सर्वसम्मत भन्दा अगाडि पुगेको भएपनि निर्वाचन कार्यविधि परिवर्तन गरेरै सर्वसम्मत गराउनेमा पूर्व अध्यक्षहरूले दवाव दिएका हुन् ।

काठमाडौं– गत बैशाख २४ मा अनिश्चित कालका लागि स्थगित गरिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं परिषद्को निर्वाचन सर्वसम्मत गराउने प्रक्रियामा जाने भएको छ ।

गएको जेठ २८ को लागि तय गरिएको परिषद् निर्वाचन कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि गरिएको निषेधाज्ञाका कारण स्थगित गरिएकोमा आइक्यानका पूर्व अध्यक्षहरूको सक्रियतामामा निर्वाचन प्रक्रिया सर्वसम्मत परिषद् सदस्य चयनको बाटोमा जान लागेको हो ।

यसको लागि आठ जना पूर्व अध्यक्षहरूले १६ जना उम्मेदवारहरूलाई हातमा लिएर आफ्नै मापदण्डमा १० जना परिषद् सदस्य छानेका हुन् । उनीहरूले निर्वाचन प्रक्रिया सर्वसम्मत भन्दा अगाडि पुगेको भएपनि समयमै निर्वाचन हुन नसक्ने र निर्वाचन नहुँदा कानुनी जटिलता आउने भन्दै सर्वसम्मत गर्ने वहाना बनाएका हुन् ।

प्रक्रिया माथि ‘दाईवाद’ लगाएर उम्मेदवार माथि प्रभावमा पारेको भन्दै केही उम्मेदवारहरूले असन्तुष्टि देखिएकाछन् । ‘दाई भनेर सम्मान गर्छौं मिलेर जाउँ भन्दा केही भन्न सकिएन, सहमतिमा हस्ताक्षर गरेका छौं’ एकजना असन्तुष्ट उम्मेदवारले भने, ‘तर दाईहरूको नियतमा खोट देखिएको छ, १० जना छान्दा न्यायिक छनौट नदेखिने निश्चित छ ।’

सर्वसम्मतको लागि ऐन, कानुन, कार्यविधी, प्रकृया मिलाए सहयोग गर्छौं : निर्वाचन अधिकृत

निर्वाचन अधिकृत महेश्वर काफ्ले आइक्यान भित्रको खेलको कुरामा खासै चासो नभएको बताउँछन् । ‘निर्वाचन अधिकृतको कार्यालयले अहिले काम गरेको छैन । स्थिति सहज नभएकोले स्थगित गरिएको छ । सर्वसम्मत गराउने कुरामा अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालयसँग छलफल भएको छैन’ उनले भने, ‘सर्वसम्मतको लागि ऐन, कानुन, कार्यविधी, प्रकृया मिल्नुपर्छ । असंबन्धित कसैले हामी मिल्यौं भन्ने कुराले अर्थ राख्दैन ।’

उनले कार्य प्रकृया नै संसोधन भएको अवस्थामा सहमति हुन सके पनि अहिलेकै व्यवस्थामा त्यो सभव नभएको उनले बताए । उनले भने, ‘तर अहिलेको कार्य विधिमा त्यो व्यवस्था छैन, यही अवस्थामा सर्वसम्मत संभव छैन ।’

उनले निर्वाचन अधिकृतले कार्यविधि बनाउने नभइ कार्यान्वयन गर्ने जिम्मेवारी भएको बताए । उनले भने, ‘कार्यविधि बनाउने र पास गर्ने परिषद्ले हो । परिषद्ले अहिले दिएको कार्यविधिमा त्यस्तो व्यवस्था छैन । परिषदले साविकको कार्यविधिका केही बुँदाहरू निलम्बन गरेर केही व्यवस्था थप्न सक्छ ।’

तर उनले सर्वसम्मत गर्ने कुरा अहिलेको परिस्थितिमा जायज भएको बताए । ‘काठमाडौंमा बाकस राखेर चुनाव गराउनको लागि सुरक्षाको मापदण्ड अपनाएर गराउन गाह्रो थिएन । सीएहरू विश्वभरी छरिएर रहेका र पोस्टल व्यालेटको व्यवस्था भएको कारण सानो कमजोरीका कारण राज्यलाई ठूलो नोक्सानी हुुनुभन्दा सर्वसम्मती हुनु राम्रो हो’ उनले भने, ‘आइक्यानको पहिलो परिषद् पनि निर्विरोध भएको र आठौं परिषद्को आरए तर्फ निर्विरोध भएको रहेछ , यसले निर्विरोध गराउन सकिने रहेछ भन्ने पनि देखाउँछ ।’

उनले कार्यविधि परिवर्तन भए त्यसको कार्यान्वयनमा सहयोग गर्ने बताए । ‘उम्मेदवार सहमत भएर हामीले उम्मेदवारी फिर्ता गर्छौं भन्ने भएको अवस्थामा परिषद्ले कार्यविधिका केही दफा निलम्बन गर्नुपर्छ र कार्यविधिका विशेष परिस्थितिलाई कारण देखाएर उम्मेदवारले उम्मेदवारी फिर्ता लिने समय थप्नको लागि कार्यविधिका व्यवस्था थप गरेको अवस्थामा निर्वाचन अधिकृतले सूचना निकाल्छ र उम्मेदवारले उम्मेदवारी फिर्ता लिन्छ ।’ उनले भने ।

उनले निषेधाज्ञाको अवधिलाई शुन्य समय मानिने हुनाले पनि कानुनी जटिलता नआउने बताए । उनले भने, ‘जे गर्दा पनि निर्वाचन प्रकृयामै फर्किनुपर्छ, बैसाख १५ देखि यता प्रकृया स्थगित छ , निषेधाज्ञा अवधिलाई शुन्य मानिने हुनाले परिषद्ले गाँठो फुकाउने गरि निर्णय गरे निर्णयको कार्यान्वयनको लागि सघाउँछौं ।’

काउन्सिलले सर्वसम्मत गराउनका लागि बाटो खोल्छ : पूर्व अध्यक्ष पनेरु

आइक्यानका पूर्व अध्यक्ष टंक पनेरु भने निर्वाचन अधिकृतको सुझावको आधारमै सर्वसम्मत सहितको विकल्पमा जाने योजना बनाएको बताउँछन् ।

‘निर्वाचन अधिकृतसँगकै समन्वयमा भएको हो । सर्वसम्मतको लागि आवश्यक पर्ने सम्पुर्ण प्रकृयाको लागि परिषद् पनि तयार देखिएको छ । कानुनी व्यवस्था मिलाउनुपर्छ ।’ उनले भने, ‘निर्वाचन कार्यविधि परिवर्तन गरेर उम्मेदवारी फिर्ता लिने समय लम्याउने लगायतका केही व्यवस्था गर्ला । सुझाव त निर्वाचन अधिकृत कै हो तर प्रकृया त सबै पुरा गर्नु पर्यो नि ।’

उनले काउन्सिलका पदाधिकारी र अधिकांश सदस्यको उपस्थितिमा भएको निर्णय भएकोले काउन्सिलले पनि बाटो खोल्ने कुरामा विश्वस्त रहेको बताए ।

उनले आइक्यानका पदाधिकारी, पूर्व अध्यक्ष र उम्मेदवार सहितको भेला भएको र अहिलेको असहज अवस्थामा चुनाव गराउन नसक्ने देखिएकोले विकल्पमा छलफल गर्दा सर्वसम्मतिले टुंग्याउन उपयुक्त हुने निष्कर्षमा पुगेको बताए ।

‘त्यो अनुसार ८ जना पूर्व अध्यक्षको टिम बनाएर सहजिकरण गर्ने भन्ने कुरा भयो । उम्मेदवारहरूको पनि त्यसमा सहमति भयो र त्यसकै आधारमा मापदण्ड बनाइयो । मापदण्ड बनाउँदा सिनियर र अनुभवलाई आधार बनाइएको छ ।’ उनले भने, ‘यसले सबै समस्या समाधान हुन्छ भन्ने छैन । सीएको कुरा मिलेर मा भएन आरएको मिल्न बाँकी नै छ । यो एउटा चरण हो अहिले यहाँ राखिराखेको छ । आरएको सहमति भए यो खुल्छ नत्र यत्तिकै सेलाउँछ ।’

उनले सीएका तर्फबाट परिषद् सदस्यमा जाने नाममा सहमति जुटेको बताए । ‘हाम्रो पार्टबाट टुंगाएका छौं । मापदण्ड टुंगाए पछि व्यक्ति पनि फाइनल भएकाछन् । त्यसलाई टेवुलेसन गरेर सही गर्न मात्र बाँकी हो’ उनले भने ।

सर्वसम्मतको लागि गरिएको प्रक्रियामा एक्यानको बिमति

पूर्व अध्यक्ष सहित, वर्तमान परिषद् र उम्मेदवार समेत लगभग सर्वसम्मतमा जाने निर्णयमा एक देखिए पनि नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) ले भने सर्वसम्मतको लागि चालिएको प्रक्रियामा आफ्नो बिमति रहेको जनाएको छ ।

एक्यान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले यस अघि चुनाव गर्ने भनेर सबै प्रक्रिया पुरा गरेर अहिले चुनावबाट भाग्नु नै उपयुक्त नभएको बताउँछन् । उनी भन्छन्, ‘चुनावलाई प्राथमिकता नदिएर विभिन्न बहानामा सर्वसम्मत गर्ने भनिएको छ । अनलाइन माध्यमबाट पनि चुनाव गर्न सकिने थियो तर विकल्पमा छलफल गरिएन ।’

उनले यस विषयमा धारणा राख्न एक्यान जिम्मेवार संस्था रहेको भएपनि राय नमागिएकोमा असन्तुष्टि जनाए ।

‘एक्यानलाई यस विषयमा छलफल गर्न बोलाइएको छैन । सीएको एकमात्र संघको रुपमा रहेको एक्यानलाई छलफलमा बोलाइएन, म एकजना सदस्यको प्रस्तावक बसेको कारण मेरो उपस्थिति नहुनसक्थ्यो तर संघका अरु पदाधिकारी जान त सक्नुहुन्थ्यो नी’ उनले भने, ‘यो मिलेमतोमा १५ वर्षीय योजना लगायतका हामीले विरोध गर्दै आएका निर्णय पास गराउने षडयन्त्र पनि हुनसक्छ ।’

उनले एक्यान सर्वसम्मतको कुरामा सकारात्मक रहेको बताए । तर सर्वसम्मतको लागि तोकिएका मापदण्ड स्पष्ट नरहेको उनको भनाइ छ ।

‘सहमति गराउन पहिलो भूमिका संघले नै गथ्र्यो तर संघसँग छलफल गर्न आवश्यक ठानिएन । पूर्व अध्यक्षहरूले सहजिकरण गरिरहनु भएको छ, त्यसमा मेरो पनि सम्मान छ ।’ उनले भने, ‘सर्वसम्मत गर्दा दाबी छाड्ने ६ जनाले केका लागि छाड्ने ? उनीहरूको एजेण्डालाई परिषद्ले प्राथमिकता दिने भन्ने कुराको प्रतिवद्धता जनाउनुपर्छ कि पर्दैन ?’

उनले एजेण्डामा छलफल नगरेर सिनियर र अनुभवलाई आधार मानेर मापदण्ड बनाइएको भन्दै पेशागत संस्थामा कुरा सिनियर, जुनियर भन्ने हुँदैन क्षमताले जाने कुरा भएको बताए ।

उनले सर्वसम्मत रूपमै टुंगाउने भएपछि अध्यक्षहरूको नाममा पनि पहिलै सहमति गर्नुपर्ने तर्क राखे । ‘अर्को महत्वपूर्ण कुरा आइक्यानमा अध्यक्षको लागि जहिल्यै हानथाप हुन्छ । अहिले लैजाने तयारीका रहेका पाषर्द सदस्यमा पनि ५–६ जना अध्यक्षका प्रत्यासी छन् ।’ उनले भने, ‘सर्वसम्मत गर्दा अध्यक्ष पनि टुंगाएको भए राम्रो हुने थियो । भोली यही अध्यक्ष बन्ने कुरामा बार्गेनिङ गर्ने काम हुन्छ । कम्तिमा अध्यक्ष छान्ने प्रकृया पनि टुंगाउँदा अहिले उम्मेदवारीबाट हात झिक्नेहरूको योगदान देखिने थियो ।’

वाग्लेले सर्वसम्मतको कुराले एउटा प्रकृयामा गइसकेको काममा पछि हटेर विकल्प खोज्दै जाँदा आइक्यानलाई नैतिक संकट समेत सिर्जना हुनसक्ने तर्फ सचेत गराए । उनले भने, ‘यसले चुनाव गराउनै नचाहेको हो कि भन्ने पनि बुझिन्छ । निर्वाचन अधिकृत पनि चुनाव गराउन सकिन्छ भन्ने तर्फ जानुपर्ने थियो । निर्वाचन नै गर्नुहुन्न भन्ने मनसाय त पक्कै पनि होइन होला ।’

उनले यस अघि प्रक्रियाबाट उम्मेदवारी फिर्ता लिएकाहरूले सर्वसम्मत प्रक्रियामा किन दावी नगर्ने भनेर प्रश्न गरे । ‘उहाँहरूले फिर्ता लिएको मतदानबाट छनौट गर्ने प्रक्रियाको लागि हो तर अहिले प्रक्रिया सर्वसम्मतमा जाँदा उहाँहरूले दावी किन नगर्ने ?’

Leave a Reply

ताजा खबर

यो पनि पढौं